कमलराज केसीका तीन कविता

१. इतिहास

हजुरबुवा
कथा हाल्नु हुन्छ
उहिले-उहिले
एकादेशमा
महान पुष्पलालहरू थिए
कम्युनिष्टहरु थिए

उनीहरू
मार्क्सलाई गुरु मान्थे
माओको खुब चर्चा गर्थे
लेनिन लेनिन नै भैहाले

उनीहरू
वर्गसंघर्षको चर्को बहस गर्थे
क्रान्तिको भाषा बोल्थे
जनताको गीत गाउँथे
मानवता नै धर्म हो भन्थे

उनीहरू
सामन्तको छाला काढेर
जुत्ता सिलाउछौँ भन्थे
जातपातको कट्टर बिरोधी थिए
उनीहरुले पढ्ने हरेक रातो किताबको
सिरानमा लेखिएको हुन्थ्यो
‘संसारभरका मजदुरहरू एक हौँ’

उनीहरू
झोलामा कम्युनिष्ट घोषणापत्र बोकिहिंड्थे
साम्यवाद हाम्रो एक मात्र परम लक्ष्य हो भन्थे

हो र हजुरबुवा ?
हो बाबु !

उहिले-उहिले
एकादेशमा
महान पुष्पलालहरू थिए
कम्युनिष्टहरू थिए
तर उहिले उहिले…!

 

२. डायनासोर

आधुनिक
डायनासोरको
दाँतमा अल्झेको
मान्छेको शरीरबाट
झरिरहेछन्
रगतका थोपाहरू

ओ मानवताका
हत्याराहरू हो
मेरी छोरीको चित्कारसँगै
मरेको छ तिम्रो ईश्वर

लाग्छ,
यो पृथ्वी फेरि मान्छेकोे
लायक रहेन अब

ओ महाशय भन्नुहोस् न
यो छोरीलाई अब म
कुन ग्रहमा लिएर राखौं ?

 

३. सरकार

सरकार,
खुंखार गँजडीहरूको
एक बैधानिक अखडा

गँजडीहरू,
अखडामा आउँछन्-जान्छन्
जान्छन् फेरि आउँछन्
अदल बदल भइरहन्छन्

पात्रहरू उनै
प्रवृत्ति उही

विकास
हात्ती आयो
हात्ती आयो फुस्सा !

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार