‘हैदरावाद हाउसबाट रिजल्ट आयो’

दिल्लीमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

नयाँदिल्लीमा नेपाली पत्रकारहरुसँग प्रधानमन्त्री प्रचण्ड । फोटो : प्रधानमन्त्रीको सचिवालय ।

१९ जेठ, नयाँ दिल्ली । शुक्रबार बिहान नयाँ दिल्लीमा नेपाली सञ्चारकर्मीसँग कुराकानी गर्नेबेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड खुशी देखिन्थे जबकि नयाँ दिल्लीस्थित नेपाली दूतावासमा मंगलबार साँझ प्रचण्ड अलि दबाबमा देखिन्थे । ‘मलाई त एकचोटि त बिग्रन्छ क्यारे, बिगार्छन् क्यारे भन्ने चिन्ता भएकै थियो’ उनले नेपाली पत्रकारसँग गफिनेक्रममा भने, ‘एम्बेसीमा मेरो अनुहारमा कुनै चमक थिएन, कुनै दबाब भएजस्तो थियो । यसमा मोदीजीले नै इनिसियटिभ लिएजस्तो देख्छु वातावरण बनाउन ।’

प्रधानमन्त्री प्रचण्डले मोदीसँग भएको धेरै कुरा नेपालमै गएर सुनाउने बताए । ‘फेरि खुलेर कुरा गरियो । अब यहाँ अहिले चाहिँ नभनौं । बरु उता गएर तपाईंहरूसँग पछि कुरा गरौंला’ उनले भने, ‘तीनचोटी मेरो वान टु वान भयो उहाँसँग हिजो । छोटो पिरियडमा, पहिले झण्डै २०–२५ मिनेट, पछि पाँच–सात मिनेट गरेर वान टु वान मिटिङ जसरी भयो । त्यसले परिस्थितिलाई धेरै नै सहज बनाइदियो ।’

नयाँ दिल्लीमा नेपाली पत्रकारसँग प्रधानमन्त्री प्रचण्डले गरेको कुराकानीको सम्पादित अंशः

भारत भ्रमण कस्तो रह्यो ?

जे होस् राम्रो भयो । कूल मिलाएर राम्रो भयो । चौथो पटक प्रधानमन्त्रीको रूपमा आएको हुँ म । गएका तीनवटा भिजिट, यद्यपि दोस्रो भिजिट स्टेट भिजिट थियो । राष्ट्रपति भवनमै बसेको थिएँ म । तर त्यतिबेला पनि अहिले जति मिडिया कभर छ इण्डियाका मेजर मिडिया टाइम्स अफ इण्डिया, हिन्दुस्तान टाइम्सदेखि सबैले जुन महत्वका साथ कभर गरेका छन्, त्यस्तो कहिल्यै हुँदैनथ्यो । कुनै प्रधानमन्त्रीको सन्दर्भमा हुँदैनथ्यो । यिनीहरूले अहिले अलि बढी नै महत्व दिएको प्रष्टै देखियो ।

अब आउटकम के भयो भन्दा हामीले हेर्दा पहिलेदेखि सबभन्दा बढी जोड दिएको भनेको बिजुलीको व्यापार । लङटर्म पावर ट्रेड हुन्छ कि हुँदैन भन्ने थियो । नेपालको साँच्चै भन्ने हो भने आर्थिक क्षेत्रमा समृद्धिको एउटा दिशामा जाने भनेको हामीसँग भएको जे पोटेन्सियल छ, त्यसको सही मार्केटिङ गर्न सक्दाखेरि नै हुने कुरा हो । त्यो भनेको वास्तवमा पावर ट्रेड नै हो । समस्या पनि त्यहीँ थियो । अहिले ब्रेक थ्रु भयो भनेको त्यसमा नै हो ।

अर्को बंगलादेश, भारत र नेपालको बीचमा अलग-अलग त समझदारी भइनैसक्यो । बंगलादेश र नेपालको बीचमा, बंगलादेश र भारतको बीचमा, भारत र नेपालको बीचमा । जुन स्तरमा अब सहमति भएको छ र त्यो पनि ठूलो कुरो भन्ने कुरा प्रष्टै महसुस गर्न सकिने कुरा हो ।

एयर रुटको कुरा हाम्रो लागि अलि बढी महत्वको थियो । एयर रुटमा लो अल्टिच्युडको नेपालगञ्जमा दिने त सहमति भयो नै । तर हामीलाई हाई अल्टिच्युड नै चाहिन्छ । मैले महेन्द्रनगरतिरबाट हुँदाखेरी सबैभन्दा राम्रो हुन्छ भन्ने कुरा राखेको छु । उनीहरूले त्यसमा हामी पोजेटिभ छौं भनेको हुनाले त्यतापट्टी पनि यो एउटा सानो भए पनि ब्रेक थ्रु नै भयो ।

सिमानाको समस्या हाम्रो लागि अर्को चर्को कुरा थियो । हिजो प्रधानमन्त्री मोदी र मेरो बीचमा छलफल भइसकेपछि अब सधैंको लागि यो सिमानाको समस्या हल गर्नुपर्छ, गम्भीर रूपले लागौं भन्नुभाथ्यो मलाई । उहाँले प्रेसमा पनि बोल्नुभयो- सीमाको समस्या हल गरिन्छ भनेर । मलाई त कुरा गर्दाखेरी विश्वासै दिलाउनु भएको थियो । मोदीजीले अहिलेसम्म सीमाको समस्या हल गर्ने भनेर आफ्नो मुखबाट भन्नु भएको थिएन । यो पनि यो पटकको भिजिटको एउटा ब्रेक थ्रु नै मान्न सकिन्छ जस्तो लागेको छ मलाई ।

त्यसको साथै चेकप्वाइन्टहरू, रेल, पाइपलाइन यी सबै पनि पोजेटिभ नै छन् । यसले नेपालको आर्थिक गतिविधिलाई अगाडि बढाउन ठूलो मद्दत गर्छ भन्ने नै लागेको छ ।

भ्रमणमा सबैको आँखा त परेकै थियो । फेरि हाम्रो नेपालमा अलि बढी नेगेटिभतिर जाने भइयो के । कस्तो एटिच्युड बनेको मान्छे, पाठक सबै त्यस्तै भएकोले हामी सबै त्यस्तै भइया हो कि, स्रोता त्यस्तै भएको हुनाले नेता त्यस्तै भएको हो कि, नेता त्यस्तो भाकोले स्रोता त्यस्तो भा हो कि । यो बढी विचित्र लाग्छ ।

तै पनि अस्ति बेलुकाको स्थिति र हिजो बिहानबाट विस्तारै वातावरण सकारात्मक बन्दै गयो । र हैदरावाद हाउसको रिजल्ट आयो । एमओयू भयो, एग्रिमेन्ट भयो । त्यो सबैले मेरो बुझाइमा यो भिजिट धेरै नै महत्वपूर्ण भयो । धेरै राम्रो सुरुवात भयो । ब्रेक थ्रु त्यसअर्थमा भयो । अहिले नै सबैचिज भइहाल्यो भनेर त होइन । तर धेरै ठूलो कुराको सुरुवात चाहिँ यो भिजिटबाट भयो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार