जापानबाट पाँच लाख मात्रा खोप आइपुग्यो

काठमाडौँ । जापान सरकारले अनुदानमा उपलब्ध गराएको एस्ट्राजेनिका खोप नेपाल आइपुगेको छ। जापान सरकारले कोभ्याक्स सुविधामार्फत अनुदानमा उपलब्ध गराएको पाँच लाख ५९ हजार मात्रा खोप आज नेपाल आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलका अनुसार आज आएकोसँगै जापानबाट अनुदानमा उपलब्ध गराउने भनिएको १६ लाख १४ हजार ७४० मात्रा खोप आइसकेको छ।

यसअघि साउन २३ र २४ गते नौ लाख मात्रा र यही भदौ ५ गते दुई लाख आठ हजार ७०० मात्रा खोप नेपाल आएको थियो। जापानबाट उपलब्ध भएको खोप प्रदेश नं. १ र २ का ज्येष्ठ नागरिकलाई लगाइने उनले जानकारी दिए । गत फागुनमा कोभिसिल्ड लगाएका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई मन्त्रालयले एस्ट्राजेनिका खोप लगाइरहेको छ।

भारतबाट खरिद गरिएको कोभिसिल्ड खोप नआएपछि सरकारले जापानबाट अनुदानमा एस्ट्राजेनिका खोप ल्याएको हो । यसैगरी मन्त्रालयका प्रवक्ता डा पौडेलले चीनबाट अनुदानमा थप १६ लाख मात्रा भेरोसेल खोप समेत चाँडै नै आउने बताए। उनले नियमित आउने खोप ५० वर्ष मुनिका र प्राथमिकतामा परेकालाई लगाइने जानकारी दिए।

नेपालमा अहिलेसम्म करिव एक करोड ४० लाख मात्रा खोप आइसकेको छ । अहिलेसम्म ४९ लाख ४२ लाख २५० जनाले पहिलो मात्रा र ३८ लाख ४६ हजार ७३६ जनाले पूर्ण मात्रामा खोप लगाइसकेको छन्।

–रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार