‘विपद् घटाउन अल्पकालीन र दीर्घकालीन योजना चाहिन्छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले प्राकृतिक विपद्को व्यवस्थापन तथा न्यूनीकरणका लागि सरकारले अल्पकालीन तथा दीर्घकालीन योजना बनाई कार्यान्वयन गर्न माग गरेको छ ।

पार्टी उपमहासचिव जगन्नाथ खतिवडाले आज एक प्रेस विज्ञप्ति जारी गरी विगत केही दिनदेखिको अविरल वर्षाका कारण देशका विभिन्न भागमा जनधनको क्षति भएकामा पार्टीको ध्यानाकर्षण भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । “धानबालीसहित विभिन्न कृषि कार्यमा भएको क्षतिको यथोचित मूल्याङ्कन गरी पीडित कृषकलाई राहत र क्षतिपूर्ति दिनका निम्ति हाम्रो पार्टी वर्तमान सरकारसमक्ष जोड्दार माग गर्दछ,” प्रेस विज्ञप्तिमा भनिएको छ, “कृषक र जनताको यो पीडामा नेकपा (एकीकृत समाजवादी) साथमा रहेको पनि हामी स्पष्ट पार्दछौँ ।”

वर्षाकै कारण नेपालीको प्रमुख खाद्यान्न बाली धान भित्र्याउने कार्य प्रभावित भएको छ । काट्न ठिक्क पारिएको र काटेर थन्क्याउने अवस्थाका धानमा क्षति हुँदा नेपाली कृषक समुदाय पीडामा छन् ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालले डुबान समस्या र सडक दुर्घटनामा परी घाइते तथा विभिन्न समस्यामा परेका उपचार, राहत र उद्धारका निम्ति देशभरका पार्टी कमिटी एवं जनसङ्गठनलाई सम्पूर्ण रुपमा परिचालित हुन निर्देशन दिइसकेका छन् । सरकारका विभिन्न तह, निकाय एवं विभिन्न सामाजिक, गैरसरकारी सङ्घसंस्थासँग समन्वय गरी सिङ्गो पार्टी पङ्क्ति त्यसअनुसार क्रियाशील रहेको जनाइएको छ । देशका विभिन्न भागमा बाढी, पहिरो र सडक दुर्घटनाका कारण ज्यान गुमाउनेप्रति पार्टीले श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार