कवि हरिभक्त कटुवालको सालिक जयगाउँमा

काठमाडाै‌ । भारत–भुटान सीमावर्ती पश्चिम बंगालको जयगाउँमा नेपालीभाषी कवि हरिभक्त कटुवालको पूर्णकदको सालिक स्थापना गरिएको छ । नेपालीभाषीको बाक्लो बस्ती रहेको तोर्सा चिया बगानस्थित प्राथमिक विद्यालयमा स्थापना भएको सालिकको बुधबार अनावरण गरिएको हाे ।

नेपाली साहित्य प्रतिष्ठान डुवर्सले आयोजना गरेको सालिक अनावरण समारोहमा कवि नरबहादुर दाहाल, डा. सञ्जय वान्तवा, मोहन ठकुरी, कालुसिंह रनपहेंली, सित्तम मोक्तान, पुरु लम्साल, डा.नवराज लम्सालसहित सहभागी थिए । सालिक अनावरण गर्न कटुवालका दुई छोरी जेठी कविता र कान्छी कल्पना क्षेत्री कटुवाल आसामबाट जयगाउँ आइपुगेका थिए ।

१९९२ सालमा भारतको आसाम राज्यको लखिमपुरमा जन्मे–हुर्केका कवि कटुवालको निधन २०३७ सालमा आसामको डिब्रुगढ मेडिकल कलेजमा भएको थियो । २०२० सालदेखि जीवनको अन्तिम घडीसम्मै काठमाडौंमा रहेर साहित्यिक संगत र सिर्जनशीलतामा सक्रिय थिए उनी । काठमाडौंमा २०३६ सालमा चलेको सशक्त अभियान ‘सडक कविता आन्दोलन’ मा पनि उनी सक्रिय थिए ।

रोमान्टिक धाराका सशक्त कविका रूपमा चिनिने कटुवालका कवितासंग्रह ‘यो जिन्दगी खै के जिन्दगी,’ ‘बदनाम मेरा आँखाहरू,’ ‘म मरेको छैन’ (नाटक), ‘स्पष्टीकरण’ (कथासंग्रह), ‘सुधा’ (खण्डकाव्य) लगायतका कृति प्रकाशित छन् । कटुवालका ‘मलाई नसोध कहाँ दुख्छ घाउ,’ ‘पोखिएर घामको झुल्का भरि संघारमा’ जस्ता विम्बात्मक गीतमा स्वरसम्राट नारायण गोपालले स्वर भरेका छन् ।

‘नेपालीभाषीका निम्ति एक सशक्त र साझा बिम्बका स्रष्टा भएकाले हामीले आफैं खर्चको जोहो गरेर कटुवालको सालिक निर्माण गरेका हौं,’ जयगाउँ समाज कल्याण संघका सभापति एवं पत्रकार तिलक कटुवालले भने, ‘यो कार्यले कवि कटुवालको स्मृति गर्ने र नेपाली भाषा–साहित्यको प्रवर्द्धन गर्ने हाम्रो ध्येयमा मद्दत पुर्‍याउने आशा छ ।’ भारतलाई जोड्ने प्रमुख भुटानी नाका फुन्चोलिङको सीमावर्ती बिन्दुमा रहेको जयगाउँमा आदिकवि भानुभक्त आचार्यसमेतको सालिक राखिएको छ । जयगाउँमै अर्का गोर्खाली सहिद दुर्गा मल्लको सालिक पनि छ । भारतीय सेनाका मेजर मल्ल भारतीय स्वतन्त्रता आन्दोलनमा ज्यान गुमाउने पहिलो गोर्खा सैनिक थिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार