काबुल बिस्फोटपछि रासिद खानले भने- अफगानको हत्या गर्न बन्द गर

अफगानिस्तान क्रिकेट टिमका लेगस्पिनर रासिद खान पछिल्लो समय आफ्नो देशको अवस्थाप्रति चिन्तित छन्। तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि त्यहाँका जनता अन्योलग्रस्त छन्। हजारौं मानिसहरूले देश छाडेका छन्। बिहीबार साँझ काबुलस्थित हमिद कारजाई विमानस्थलको गेटमा  बिस्फोट भएको थियो।  सो बिस्फोटपछि रासिदले ट्विटरमा लेखेका छन् -काबुलमा फेरि रगत बगिरहेको छ।  कृपया अफगानको हत्या गर्न बन्द गर।

हाल क्रिकेट खेल्न इंग्ल्यान्डमा रहेका रासिदले यसअघि पनि शान्तिको कामना गर्दै ट्विट गरेका थिए।  बिहीबार भएका बिस्फोटमा आफ्ना २८ लडाकु मारिएको तालिबानले बताएको छ। यता अमेरिकी रक्षा मन्त्रालयले बिहीबारको बिस्फोटमा १३ जना अमेरिकी सैनिक मारिएको र १८ जना घाइते भएको जनाएको छ। अमेरिकी र नाटो सैनिकले अफगानिस्तान छोड्नु पाँच दिनअघि काबुल विमानस्थलमा भएको यो बिस्फोटले संसारको ध्यान तानेको छ।

केही समयअघिसम्म अमेरिकी र अफगान सैनिकसँग लडिरहेका तालिबानहरू काबुलमा सत्ता चलाउन तम्तयार भएका बेला यति ठूलो आक्रमण कसले गर्‍यो भन्ने स्वभाविक जिज्ञासा छ। बिहीबार साँझको भएका बिस्फोटको जिम्मा मुस्लिम अतिवादी संगठन आइएसआइएसकेले लिएको छ। इस्लामिक स्टेट भनिने अतिवादी समूह आइएसआइस इराक र सिरियामा सक्रिय छ। आइएसआइएसके त्यसैको एउटा शाखा हो। यसको पूरा नाम इस्लामिक स्टेट खोरासान प्रोभिन्स हो। यसले अफगानिस्तान र पाकिस्तानमा आफ्ना गतिविधि गर्छ।
– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार