थप दुई नगरसँग भगिनी सम्बन्ध

काठमाडौँ । महानगरपालिकाले थप दुई नगरपालिकासँग भगिनी सम्बन्ध स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ । कामपाले मङ्गलबार प्रदेश नं १ को पाख्रीबास नगरपालिका र सुदूरपश्चिम प्रदेशको अमरगढी नगरपालिकासँग सम्बन्ध स्थापनामा हस्ताक्षर गरेको हो ।

समझदारीपत्रमा कामपाका प्रमुख विद्यासुन्दर शाक्य तथा अमरगढी नगरपालिकाका तर्फबाट विश्वेश्वरप्रसाद ओझा र पाख्रीबास नगरपालिकाको तर्फबाट बृषबहादुर राईले हस्ताक्षर गरेका हुन् । सात प्रदेशका सात स्थानीय तहसँग भगिनी सम्बन्ध स्थापना गर्ने योजनाअनुसार यसअघि कामपाले कर्णालीको चन्दननाथ, वाग्मतीको मेलम्ची र लुम्बिनीको रामग्राम नगरपालिकासँग सम्बन्ध स्थापना गरिसकेको छ ।

मैत्रीपूर्ण सम्बन्धमार्फत संस्थागत प्रणालीलाई अझ सुदृढ र सबल बनाउने, आपसी हित र सहकार्यलाई बढावा दिने, असल अभ्यास र अनुभवको आदान प्रदान गरी स्थानीय स्वायत्त शासन, स्वशासन र समृद्ध नगर निर्माणको अभियानमा आपसी समन्वय, साझा प्रयत्न र सहकार्य गर्ने उद्देश्यले दुई नगरबीच भगिनी सम्बन्ध स्थापनाको गरिएको कामपा प्रमुख शाक्यको भनाइ छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २६ को खण्ड (ट) को कानूनी व्यवस्थाबमोजिम सङ्घीय राजधानी काठमाडौँमा रहेको ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वका विषयमा कामपाले भगिनी सम्बन्ध स्थापनाको कार्यलाई अघि बढाएको हो । कामपाले भगिनी सम्बन्ध स्थापनासँगै नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गत पाख्रीबास नगरपालिकाको सुन्तले डाँडाको धार्मिक तथा पर्यटकीय क्षेत्र विकासका लागि त्यहाँ उद्यान निर्माण गर्न रु एक करोड ५० लाख सहयोग गर्ने भएको छ ।

त्यसैगरी अमरगढी नगरपालिकाको वडा नं २ र ५ मा अवस्थित अमरगढी उद्यान निर्माणका लागि रु एक करोड ५० लाख सहयोग गरेको छ । त्यसैगरी कामपाले अन्तर्राष्ट्रियतर्फ चीन, जापान, अमेरिका, बेलायतलगायत पाँच देशका १६ शहरसँग भगिनी सम्बन्ध कायम गरिसकेको छ ।

– रासस

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार