अब काठमाडौंलाई नमुना नगरी नै बनाउने हो

Fullmoonkhabar.com (Trusted portal for news and views from Nepal)

 

शुक्रबार, जेठ १३, २०८९ / Fri. May 27, 2022

 

काठमाडौंः काठमाडौं महानगरपालिकाको नवनिर्वाचित मेयर बालेन तथा उपमेयर सुनिताले काठमाडौंलाई साच्चिकै अब कान्तिपुरी नगरी नै बनाउने बताएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दैगर्दा उनिहरु दुवैको एउटै लक्ष्य काठमाडौंलाई विश्वको एउटा नमुना सहर बनाउने रहेको बताएका हुन्।

मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ६१ हजार ७६७ मत प्राप्त गर्दै विजयी भएका थिए भने सुनिता डङ्गोलले ६८ हजार ६१२ मत प्राप्त गर्दै एमालेबाट काठमाडौंको उपमेयरमा निर्वाचित भएकी छिन् ।

 

नवनिर्वाचित मेयर बालेनले मुख्य निर्वाचन अधिकृतद्वारा आयोजित बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा काठमाडौं महानगरलाई विश्वकै  सुन्दर र उत्कृष्ट शहर बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । यश कार्यमा अब सबै नगरबासी एउटै घरको एउटै परिवार भएकोल नमुना शहर बनाउन एकजुट हुनुपर्ने उनको धारणा रहेको थियो ।

 

उता उपमेयर डंगोलले पनि काठमाडौंलाई अरू कुनै शहर जस्तो बनाउनु नपर्ने र देशकै अरू शहरसँग पनि तुलना गर्नुनपर्ने बताइन्। काठमाडौंको मर्म अरूभन्दा विशिष्ट रहेकाले यसलाई सांस्कृतिक नगरी बनाउने अभियानमा हातेमाले गर्नुपर्ने डंगोलको भनाइ रहेको थियोे ।

राजधानी शहर र सांस्कृतिक नगर भएको कुरालाई आत्मसात गर्दै विकास निर्माणका कामहरू अघि बढाउनुपर्ने उनले बताइन्।

उनले भनिन्, ‘काठमाडौंलाई अब कुनै पनि शहर जस्तो बनाउन आवश्यक छैन। काठमाडौंलाई नमुना कान्तिपुरी नगरी नै बनाउने हो।’

काठमाडौंलाई स्वच्छ, सफा, जीवन्त, व्यवस्थित र सांस्कृतिक नगरी बनाउने अभियान आजबाट औपचारिकरूपमा सुरु भएको पनि उनले बताइन् ।

डंगोलले काठमाडौंको विकासको लागि ‘थ्री सी’को अवधारणा समेत अघि सारेको बताइन्। ‘कोअपरेसन (सहयोग), कोल्याबरेसन (सहकार्य) र कोएग्जिस्टेन्स (सहअस्तित्व) यो सिद्धान्तलाई अपनाएर अघि बढ्न जरुरी रहेको धारणा व्यक्त गरिन् । मत दिनेहरू र मत नदिनेहरूलाई पनि धन्यवाद छ । अब अझ धेरै नगरबासिले विश्वास गर्ने बाटो कोर्नेछु’, उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *