सुनसरीबाट अपहरणमा परेका बालकको १० घण्टापछि भारतबाट उद्धार

सुनसरी । कोसी गाउँपालिका–७ स्थित हरिपुरबाट अपहरणमा परेका बालकको १० घण्टापछि भारतबाट उद्धार भएको छ । भारतीय नागरिकबाट अपहरित १३ वर्षीय बालकलाई उद्धार गरी प्रहरीले नेपाल ल्याउन सफल भएको छ ।हरिपुरका दिपेन सदालाई बिहबार दिउँसो बिहारको सुपौल जिल्ला, बदबदैपुर ग्राम पञ्चायत–६ बैरयाकमालका मुकुम मियाँको संलग्नतामा अपरहण गरिएको थियो ।

सुनसरी जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी संजयसिंह थापाका अनुसार बालक अपहरणमा परेको सूचना पाएपछि नेपाल प्रहरीको टोलीले भारतीय प्रहरीसँग समन्वय गरेर राति १ बजेर ५० मिनेटमा बैरयाकमलस्थित मुकुम मियाँको घरबाट उद्धार गरिएको थियो । उक्त स्थान भारत नेपालको सीमाबाट ३५ किलोमिटरको दूरीमा पर्छ ।

सदा बिहीबार अपरान्ह ३ बज अपहरणमा परेका थिए । उनलाई मियाँसहित आएका दुई जनाले मोटरसाइकलमा राखेर भारत लगेका थिए । नेपालबाट ज्याला मजदुरी गर्नेहरुलाई भारत लैजाने ठेकेदार समेत रहेका मुकुम मियाँले मजदुर ल्याइदिनू भनेर कोसी गाउपालिका– ७ हरिपुर बस्ने भुटन सदालगायत ५ जनालाई अग्रिम २ लाख रुपैयाँ भुक्तानी दिए पनि कामदार नपठाएपछि पैसा असुल्लन उनैको गाउँका बालक अपहरण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

एसपी थापाले भने, ‘भुल्टन सदालगायत पाँच जनाको समूहले मुकुम मियाँलाई मजदुर उपलब्ध गराउने भनेर रकम लिए पनि सम्पर्कविहीन भएपछि मियाँको समूहले पैसा असुल्न भुल्टन सदाकै गाउँको बालक दिपेन सदालाई अपहरण गरेको देखिएको छ ।’ उद्धार गरिएका बालकलाई मियाँले कुटपिटसमेत गरेका थिए । दिपेनलाई प्रहरीले अभिभावकको जिम्मा लगाएको छ ।

एसपी थापाले अपहरणकारीहरुलाई पक्राउ गर्न भने नसकिएको बताए । उनका अनुसार अपहरित बालकको खोजी गर्दै भारतीय प्रहरीसहित नेपाल प्रहरी गाउँमा आइपुगेको सूचना पाएपछि तिनीहरु भागेकाले पक्राउ गर्न नसकिएको हो । उनले भने, ‘तिनीहरुलाई पक्राउ गर्न नसके पनि हाम्रो पहिलो उद्धेश्य बालकको उद्धार गर्नु थियो । त्यो सफलताका साथ गर्‍यौं । अब अपहरित बालकका अभिभावकले दिएको उजुरीका आधारमा नेपालमै मुद्दा दर्ता गरेर कुनै पनि बेला मियाँको समूह नेपाल छिरेको बेला पक्राउ गरी अपहरण तथा शरीर बन्धक शीर्षकअन्तर्गत आवश्यक कारबाही गर्न सक्छौं ।’

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार