कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको छ।

सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले प्रतिनिधि सभा अवरोध गर्दै आएको छ।

मंगलबार बिहान सिंहदरबारमा बसेको कांग्रेस संसदीय दल कार्यसमिति बैठकले राष्ट्रपतिलाई सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको एक सांसदले फुलमुन खबरलाई जानकारी दिए।

संसदीय दल कार्यसमिति बैठकलगत्तै अहिले संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ। दल बैठकमा सांसदहरूले धारणा राखेका छन्। दल बैठकको औपचारिक निर्णय आइसकेको छैन।

संघीय संसदको संयुक्त बैठकमा मंगलबार अपराह्न ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची छ।

कांग्रेसले नीति तथा कार्यक्रम बाचन गर्न दिएर त्यसपछिका छलफल भने संसदीय छानबिन समिति गठन नभएसम्म रोक्ने रणनीति लिएको छ। ती सांसदका अनुसार ‘संसदीय छानबिन समिति नबनेसम्म नीति तथा कार्यक्रममाथि सदनमा छलफल गर्न दिइँदैन।’

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।

मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकसँग कुराकानी गर्दै नीति तथा कार्यक्रम प्रस्तुत हुने बैठक अवरोध नगर्न आग्रह गरेका थिए।

प्रधानमन्त्री दाहालले कांग्रेसका मागमा आफू सकारात्मक भएको बताएका थिए।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार