तीन वर्षमा पनि बनेन सडक

महोत्तरी  । महोत्तरीको जलेश्वर–बर्दिवास सडक खण्डको निर्माण सुरु भएको ३ वर्ष बित्नै लाग्दा पनि काम अधुरै छ । सिवालय दिवा जेवीले निर्माणको जिम्मा पाएको सडकको सम्झौता सकिन तीन महिना बाँकी छँदा २२ प्रतिशत मात्रै काम सकिएको हो । सिम्याट सिल्ट भिडिए कन्सल्टेन्टले ठेक्का लिएको सडकको काम ३ वर्षमा सक्ने सम्झौतासहित दिवा जेवीले निर्माणको जिम्मा लिएको थियो । जलेश्वरदेखि बर्दिवास पुग्ने सवभन्दा छोटो र सीधा सडक ३ वर्षदेखि अलपत्र रहदा स्थानीय सास्ती खेप्न बाध्य छन् ।

वर्षौदेखि जिर्ण सडक भत्काएर काम थालेपछि निर्माण सामग्री र अधुरो कामले सडक कुरुप देखिएको छ । सडकका खाल्डाखुल्डीले हिडडुलमा निकै समस्या भएको जलेश्वर घर भई बर्दिवासमा व्यवसाय गर्दै आएका शंकर श्रेष्ठले बताए । सिधा सडक जिर्ण भएकाले बर्दिबासबाट जलेश्वर जान जनकपुर हुँदै ६० किलोमिटर घुम्नुपर्ने बाध्यता रहेको उनको भनाई छ । वर्षायाममा हिलो र गर्मीयाममा धुलोले सडकछेउ व्यापार गरेर बस्न सक्ने अवस्था नरहेको श्रेष्ठले बताए ।

बर्दिवासबाट जिर्ण सडकको करिब २ किलोमिटरसम्म बजार क्षेत्र छ । सडकको दुराअवस्थाका कारण व्यापार घाटा सहदै आएको व्यापारीहरूको गुनासो छ । बिग्रिएको सडक संचालन भइरहेका सवारी चालक सडकले आफ्नो सवारीसमेत बिग्रिरहने समस्या भएको गुनासो गर्छन् । सडकमै ठुल्ठुला खाल्डा भएकाले सवारी साधन बिग्रिरहने र इञ्जिनसमेत मर्मत गरिराख्नुपरेको सवारी चालक प्रदिप सहनीले बताए ।

कुरुप सडकमा हिड्न हिलो र धुलोले समस्या भएको भन्दै बर्दिवासमा स्थानीय र यात्रुले पटकपटक विरोधसहित चक्काजाम समेत गरेका छन् । सडक सुधार तथा विस्तार आयोजना (आरआइडिपी) ले सन् २०१८ को डिसेम्वर अन्तिममा जलेश्वर–बर्दिवास खण्डको ३९.६ किलोमिटर, जलेश्वर नगरभित्रको १५ किलोमिटर, सिरहा र सप्तरीको समेत १५/१५ किलोमिटर सडक निर्माणको काम शिवालय दिवा जेभी नामक कम्पनीलाई ठेक्का दिएको थियो ।

कम्पनीले सडक निर्माण गर्नुपर्ने अवधिको ३६ महिना मध्ये ३३ बितिसकेको छ । तोकिएको समयमा काम नसकिएपछि निर्माण कम्पनीलाई सडक विस्तार आयोजनाले १४ महिना समय थप गरिदिएको छ ।

कोभिड महामारी र अन्य विविध कारण देखाउँदै निर्माण कम्पनीले काममा ढिलाई हुन गएको बताइरहेको छ । सडक ठेक्का लिने कम्पनी सिम्याट सिल्ट भिडिए कन्सल्टेन्टका रेजिडेन्ट इन्जिनियर नारायण ढकालले कोभिड र निर्माण समाग्रीको अभावमा समयमै काम पुरा हुन नसकेको बताए ।

दिवा जेवीलाई काम समयमै सम्पन्न गर्न आफ्नो कन्सल्टेन्टले पटकपटक दबाब दिँदै आएका ढकालले बताए । काम ढिला भए वा राम्रो नभए दिवाको भुक्तानी नै रोकेर भएपनि काम राम्रो र छिटो गर्न आफुले दबाब दिएको उनले बताए ।

शिवालय दिवा जेभीलाई जलेश्वर बर्दिवास सडक खण्डमात्र नभई जलेश्वर नगरक्षेत्र भित्रको १५.६१ किलोमिटर, सिरहाको १५ किलोमिटर र राजविराजको १५ किलोमिटर गरि कुल ८७.६१ किलोमिटर सडक २ अर्ब ८ करोड भ्याटबाहेकको रकममा निर्माणको जिम्मा दिइएको छ । एउटै प्याकेजमा निर्माणको जिम्मा पाएको जेभीले हालसम्म पुरै प्याकेजको करिब ३२ प्रतिशत काम सकेर २९ प्रतिशत बराबरको रकम अर्थात् करिब ५८

करोड भुक्तानी समेत पाईसकेको छ । कन्सलटेन्ट कम्पनीले आफुहरूले बारम्बार निर्माण कम्पनीलाई पत्राचार गरिरहेको दाबी गरेको छ ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार