मुग्लिन–पोखरा सडक विस्तार : साढे ६ हजार रूख काटिने

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडक विस्तारका क्रममा तनहुँ खण्डमा पर्ने साढे ६ हजारभन्दा बढी रूखबिरुवा काटिने भएका छन् । राष्ट्रिय राजमार्गको स्तरोन्नति र विस्तार गर्ने कार्यक्रमअन्तर्गत साविक २ लेनमा रहेको सडकलाई चार लेनमा विस्तार गर्ने क्रममा बोटबिरुवा काट्न लागिएको हो ।

गण्डकी प्रदेशको ‘लाइफलाईन’ रहेको यस सडक चार लेनको बनाउने क्रममा आँबुखैरेनीदेखि कोत्रेसम्मका सानाठूला गरी ६ हजार ७ सय ५० रूखबिरुवा काटिने डिभिजन वन कार्यालयका सहायक डिभिजन अधिकृत अरुण पराजुलीले बताए । राइट अफ वेमा पर्ने सबै रूख काट्न अनुमति लिइसकेको कार्यालयले जनाएको छ ।

खयर, सिसौ, कटुस, कटहर, कपूर, चिलाउने, सिफललगायत प्रजातिका विभिन्न रूखबिरुवा कटान हुने उनले बताए । पराजुलीले भने, ‘आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकस्थित सयौं वर्ष पुरानो बरपिपलको रूख पनि काटिदै छ ।’ उनका अनुसार सडकको काम गर्ने आयोजनाले रूख काटेर डिभिजन वन कार्यालयलाई बुझाउनुपर्ने हुन्छ । सडक बिस्तारका क्रममा कास्की खण्डमा एक हजार २ सय ५० रूख काटिनेछ । सडक विभाग आयोजना निर्देशनालय (एडीबी) ले पहिलो चरणमा मुग्लिन–पोखरा सडक खण्डअन्तर्गतको आँबुखैरेनी–पोखरा खण्ड निर्माण प्रक्रिया अघि बढाउने तयारी गरेको छ । मुग्लिन–पोखराको दूरी ९३ किमि छ । जसमा आँबुखैरेनी–पोखराको लम्बाइ ८६.६ किमि छ । निर्देशनालयले आँबुखैरेनी–जामुने (४१.४५ किमि) पूर्वी खण्ड र जामुने–पोखरा (४५ किमि) पश्चिम गरी दुई खण्डमा छुट्याएको छ ।

चिनियाँ कम्पनी यनहुइ काइयुन हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले ७ अर्ब ४० करोड रुपैयाँमा पश्चिम खण्ड जामुने–पोखरा सडक निर्माणको जिम्मा पाएको मुग्लिङ–पोखरा सडक सुधार योजना पश्चिम खण्डका योजना प्रमुख प्रेमप्रकाश खत्रीले बताए । उनले भने, ‘चार लेनको सडक निर्माणका लागि अझै ३/४ महिना लाग्छ तर सडक मर्मत सुधारको कार्य भने दसैंअघि नै गर्ने योजना बनाएका छौं ।’

यस्तै ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँको लागतमा अर्को चिनियाँ कम्पनी चाइना कम्युनिकेशन कन्स्ट्रक्सनलेनै आँबुखैरनी–जामुने पूर्वी खण्डको सडक निर्माणको जिम्मा पाएको आयोजना प्रमुख नगेन्द्र सुवेदीले बताए । उनले भने, ‘गत भदौं १३ गते नै सडक डिभिजन कार्यालय तनहुँले राजमार्ग निर्माणको सम्पूर्ण जिम्मेवारी हामीलाई दिइसकेको छ ।’ आयोजनाले यसअघि म्याग्दे गाउँपालिकाको गुणादीबाट जामुने क्षेत्रमा दुवैतर्फ गरी ८ किलोमिटर विद्युत् लाइन स्थानान्तरण गरेको छ । ‘अब विद्युत् लाइन सार्ने कामसँगै राजमार्गमा परेका रूख कटानलाई प्राथमिकता दिइएको छ,’ सुवेदीले भने, ‘केही समयमा रूख काटिनेछ ।’

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार