‘लाहुरे’को समाजसेवा

म्याग्दी । १५ वर्ष बेलायती गोर्खा सैनिकमा सेवा गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ का चामबहादुर पुनलाई नपुग्दो केही छैन । विश्वकै सुविधासम्पन्न मानिने लण्डन शहरमा परिवारसँगको बसाइ छाडेर ६६ वर्षका चामबहादुरले पछिल्लो एक दशक आफ्नै जन्मथलोको विकासमा खर्चेका छन् ।

उनको अगुवाइमा गाउँपालिकाको काफलडाँडामा समुदायस्तरबाट २ करोड ५० लाख सहयोग जुटाएर पुनः समुदायको कुल देवता ‘करबाकेली’को थान, पूजास्थल, सामुदायिक लज, पदमार्ग र सङ्ग्रहालय निर्माण गरिएको छ ।

‘लाहुरे बनेर आफ्नो आर्थिक अवस्था सुधारे पनि गाउँमा गरिबी घटाउने र विकासको भोक मेटाउने चिन्ताले सताइरहन्थ्यो’, चामबहादुरले भने, ‘मैले समय मिलाए, परिवार र समाजको साथले करबाकेलीको कायापलट गर्न सम्भव भएको हो ।’

दशकअघिसम्म बाँझिएको डाँडाको पाखामा पूर्वाधार बनाएर त्यसैलाई केन्द्रित गरी ‘करबाकेली इको ट्रेक’ सञ्चालन गरेपछि करबाकेली यहाँको प्रमुख धार्मिक पर्यटकीय गन्तव्यस्थल बनेको छ । बेलायती गोर्खा सैनिकका सेवानिवृत्त मेजर ७८ वर्षीय चन्द्रबहादुरको परिचय यतिमै सीमित छैन । सेवानिवृत्त समय र पेन्सनबापत पाउने सुविधाले जन्मथलोको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा सघाएका चन्द्रबहादुरलाई अन्नपूर्ण – ७, टिकोटका बासिन्दाहरूले समाजसेवीको रूपमा चिन्दछन् ।

‘उहाँ (चन्द्रबहादुर)ले टिकोटको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका लागि आर्थिक मात्र नभएर श्रम र समय दिएर हामीलाई प्रोत्साहन गरिरहनुभएको छ,’ टिकोट माविका प्रअ ठगराज पुनले भने, ‘उहाँको योगदान टिकोटवासीका लागि अविस्मरणीय छ ।’

१५ वर्षको उमेरमा बेलायतको गोर्खा सैनिकमा भर्ती भएका उनले टिकोटको विकास र पोखरामा रहेका विभिन्न सङ्घसंस्थालाई करिब ७५ लाख नगद सहयोग गरेका छन् । विसं २०५३ मा माध्यमिक तहको कक्षा सञ्चालन गर्न टिकोट माविलाई २ लाख आर्थिक सहयोग गरेका चन्द्रबहादुरले नयाँ भवन निर्माणका लागि थप १८ लाख रुपैयाँ उपलब्ध गराएका छन् ।

महभीर–टिकोट सडक निर्माणका लागि तीन लाख उपलब्ध गराएर पोखरामा आर्थिक सङ्कलन सुरु गरेका उनले अरुलाई प्रोत्साहनका साथै आर्थिक स्रोत जुटाउने अभियानको अगुवाइसमेत गरे । टिकोटमा बास्केटबलको पक्की खेलमैदान निर्माण गर्न ५५ हजार आर्थिक सहयोग गरेका उनले करिब एक महिना श्रमदान गरेका थिए ।

उनका दाजुभाइ र परिवारले २१ लाख रुपैयाँको अक्षयकोष बनाएर टिकोटमा सामुदायिक स्वास्थ्य क्लिनिक सञ्चालन गर्न दुई जना कर्मचारीको तलब र औषधि खरिदमा सघाएका छन् । वार्षिक १५ लाख रुपैयाँ पेन्सन पाउने चन्द्रबहादुर आफ्नो जन्मगाउँ टिकोटका साथै पोखराका सामाजिक सङ्घसंस्थालाई सामाजिक कामका लागि ७५ लाख सहयोग गरिसकेको बताउँछन् ।

अन्नपूर्ण – ५, स्वाँतका ७२ वर्षीय बागवीर पाइजा १७ वर्ष गोर्खा सैनिक र नौ वर्ष ब्रुनाईमा काम गरेर विसं २०५८ मा जन्मथलो फर्कंदा नेपालमा सशस्त्र द्वन्द्व उत्कर्षमा थियो । तत्कालीन स्थानीय निकायका जनप्रतिनिधिको पदावधि सकिएको थियो । धन, पैसा हुने शहरमा बसाइसराइ गर्ने क्रम बढेको थियो । ‘सङ्कटकालमा गाउँमा बसेर ज्यान जोगाउनै मुस्किल भएको अवस्थामा मलाई गाउँलेले एकपछि अर्को गर्दै जिम्मेवारी दिँदै गए’, पाइजाले भने, ‘सबै सहयात्री शहरबजार र यूकेतिर बसे तर म गाउँको काम गर्न छाडिनँ ।’

जनप्रतिनिधि नभएको अवस्थामा उनले गाउँलेलाई अभिभावकत्व प्रदान गरेर शिखमा धेरै विकासे गतिविधि भए । बागवीर अघि सरेपछि स्थानीय, पोखरा, काठमाडौँ, चितवनलगायत शहर, बेलायत, हङकङ, अमेरिकादेखि खाडी मुलुकमा रहेका शिखवासीले साथ दिन थाले । पोखरामा महायज्ञ आयोजना गरेर शिख माविमा कक्षा १२ को पठनपाठन सञ्चालन सुरु गरियो ।

पोखरेबगरदेखि घार शिख, चित्रे पुगेको कच्ची सडक निर्माणमा शिखका तर्फबाट बागवीरले नेतृत्व गरे । बाह्र वर्षसम्म शिख माविको व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरेका पाइजाले विभिन्न दाताबाट सहयोग जुटाएर कम्प्युटर कक्षा सञ्चालन, इन्टरनेट जडान, छात्रावास सञ्चालन गराए ।

विद्यालय चलाउन बयली र डाडखर्कमा सामुदायिक लज सञ्चालन भयो । ती स्थानलाई पर्यटकीय पदमार्गमा समावेश गरिएको छ । सामाजिक अभियानकर्मी महावीर पुनसँग सहकार्य गरेर भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा रहेका सामुदायिक लजमा विद्युत् सुविधा पुर्‍याउन २ करोड ५० लाख जुटाएर ५० किलोवाट क्षमताको घोस्केखोर लघु जलविद्युत् परियोजना निर्माण गरियो ।

पाँच वर्ष शिख स्वास्थ्य चौकीको व्यवस्थापन समितिको अध्यक्ष र स्थानीय तहको चुनाव नहुँदासम्म तत्कालीन शिख गाविसको राजनीतिक संयन्त्रमा माओवादीका तर्फबाट प्रतिनिधित्व गरेका पाइजा एक वर्षयता बेलायतमा छन् ।

अन्नपूर्ण– ५, पाउद्वारका ७० वर्षीय राजु पुन बेलायती गोर्खा सैनिकबाट सेवा निवृत्त भएपछिको एक दशकयताको समय त्यहाँको धार्मिक पर्यटकीय स्थल खयरभारानीको पूर्वाधार विकास, प्रचार र तीर्थालुको सेवामा सर्मपित हुँदै आएका छन् । २२ वर्ष सेवा गरेपछि बेलायती गोर्खा सैनिकबाट सेवा निवृत्त भएका ७० वर्षीय लेफ्टिनेन्ट उनी विसं २०६८ देखि भौगोलिक रूपमा दुर्गम क्षेत्रमा पर्ने ओझेलमा परेको खयर भारानी क्षेत्रको विकासमा सर्मपित भएका हुन् ।

राजुको नेतृत्वमा ‘खयर भारानी थान तथा क्षेत्र संरक्षण कोष’मार्फत दाताबाट करोडौँ सहयोग जुटाएर पदमार्ग निर्माण र सुधार, थान (मन्दिर) र धर्मशाला निर्माण गरिएको छ । म्याग्दीकै पर्यटकीय स्थल पुनहिलमा मेजर टेकबहादुर पुनको स्मृतिमा ‘भ्यु टावर’ बनाउने कामको नेतृत्व गरेका राजुको अगुवाइमा खयरक्षेत्रमा निर्माण गरिएका पूर्वाधारले पर्यटक र तीर्थयात्रीलाई सहज भएको छ ।

स्थानीयवासीले आफन्तको नाममा पाउद्वारदेखि खोपारा हुँदै चार हजार ७०० मिटर उचाइमा रहेको खयर भारानी ताल जाने दश किलोमिटरभन्दा बढी दूरीको पदमार्ग र चौतारी बनाएका छन् । कोषले स्वदेश तथा विदेशमा सहयोग जुटाएर खोपारा र खयर क्षेत्रको पूर्वाधार विकासमा १ करोड ५० लाखको हाराहारीमा लगानी गरेको छ ।

गाउँ धानेका भूपू युवा पलायनले रित्तिएका गाउँको नेतृत्व जीवनको उर्वरकाल विदेशी भूमिमा रगत र पसिना बगाएर फर्केका भारतीय तथा बेलायती गोर्खा सैनिकका भूपूहरूले सम्हालेका छन् । राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक क्षेत्रमा भूपु सैनिकको नेतृत्व छ । बुढ्यौली लाग्दासम्म सामाजिक सेवामा क्रियाशील भूपू सैनिकहरूले गाउँको आर्थिक/सामाजिक व्यवस्थालाई चलायमान बनाएका छन् ।

गाउँमा भूपूहरूको सक्रियता आशालाग्दो भएको सो गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । ‘मगर बाहुल्य बसोबास रहेको म्याग्दीमा भारतीय, बेलायती सैनिक र सिङ्गापुर प्रहरीका धेरै परिवार छन्,’ भारतीय सेनाका सेवानिवृत्त क्याप्टेनसमेत रहेका उनले भने, ‘बसाइसराइ, विदेश पलायन, सुख/ऐश्वर्यको खोजीजस्ता कारणले सुनसान बन्दै गएको गाउँलाई भूपूहरूले प्राण भरेका छन् ।’

पहिलेजस्तो गाउँमै आएर गल्लाले खोजीखोजी भर्ना नगरे पनि म्याग्दीका सबैजसो गाउँका युवा भारतीय तथा बेलायती सेनामा कार्यरत छन् । प्रत्येकजसो बस्तीमा सेवानिवृत्त भएका भूपू सैनिक छन् । हवल्दार, सुवेदार, क्याप्टेनसम्मको पद हासिल गरेर फर्केका भूपू सैनिकले अहिले गाउँका सामाजिक सङ्घसंस्था हाँकेका छन्, राजनीतिक दलको नेतृत्व गरेका छन् भने कसैले उपभोक्ता समितिमा रहेर काम गरेका छन् ।

समाज सेवामा रुचि राख्ने, इमानदार, सहयोगी, साक्षर, अनुशासित र नीति नियमबारे जानकार भएकाले गाउँमा धेरैले भूपूहरूलाई विश्वास गर्ने शिख माविका प्रअ केदार कार्कीले बताए । सामाजिक काममा बढी समय दिनुपर्दा कहिलेकाहीँ परिवारसँग तिक्तता बढ्ने गरेको अनुभव भूपूहरू सुनाउँछन् ।

परिवारको व्यवस्थापन गरेर सामाजिक सेवामा समय दिने गरेको अन्नपूर्ण– ३, दानाका भारतीय सेनाका सेवानिवृत्त लेफ्टिनेन्ट बेलबहादुर पुर्जाले बताए ।

‘कतिपय ठाउँका भूपूहरू शहरीक्षेत्रमा बसाइसराइ गरी आरामको जीवन बिताइरहे पनि गाउँमा सक्रिय भूपूहरू पनि उत्तिकै छौँ’, उनले भने, ‘गाउँमा नेतृत्व गर्ने, आर्थिक/सामाजिक विकासमा अग्रसरता लिने युवा र शिक्षित पुस्ता पलायन हुँदा हामीले बाध्य भएर नेतृत्व लिनुपरेको हो ।’

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार