मालढुङ्गा–बेनी सडक स्तरोन्नति

म्याग्दी। म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति गरेर दुई लेनको बनाइने भएको छ ।
पर्वतको कुश्मा नगरपालिका–१ मा पर्ने मालढुङ्गादेखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दी सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक विस्तार, सुधार गरी दुई लेनको बनाउन लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । मालढुङ्गा–बेनी सडक चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक काली गण्डकी कोरिडोरअन्तर्गत पर्छ । विसं २०७७ चैतमा रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको एपेक्स–खड्का–कृष्ण जेभीको सहायक ठेकेदार ओमकारेश्वर कन्ट्रक्सनले प्रारम्भिक चरणको काम सुरु गरेको सञ्चालक अमृत दाहालले बताए ।

“हाल पिचसहित करिब छ मिटरको हाराहारीमा रहेको सडकलाई नौ मिटर चाक्लो बनाएर एक मिटरको नाली र दुई लेनमा आठ मिटर चौडाइका दरले अमेरिकी आक्सपाल्ट प्रविधिको कालोपत्रे गर्न लागिएको हो”, उन भने, “सडकको डिल र कुनातर्फ पर्खाल निर्माण गर्ने योजना छ ।”

मुस्ताङको कोरला नाकादेखि दक्षिणको सुनौलीसम्म जोड्ने काली गण्डकी कोरिडोरअन्तर्गत बेनीदेखि कोरल्ला, मालढुङ्गादेखि बागलुङ र पर्वत दुवैतर्फबाट समानान्तर रुपमा काम भइरहेको छ । बागलुङ र पर्वत मध्य कुन जिल्लाको सडकलाई कोरिडोरमा समावेश गर्ने भन्ने लामो समयदेखिको अन्यौलता गत वर्ष हटेपछि पर्वतबाट निर्माण हुन लागेको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले बताए।

विसं २०४८ ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत सुरु गरेर २०५२ मा मार्ग खुलेको र २०६८ मा कालोपत्रे भएको मालढुङ्गा–बेनी सडक पछिल्लो समय जीर्ण अवस्थामा थियो । सहायक सडक र पाखोबाट खस्ने पहिरो तथा खोलामा आउने बाढीले सवारी साधन आवतजावत प्रभावित हुने गरेका छन् ।

बर्खामा पहिरोले दैनिक जसो अवरुद्ध हुने सडकमा यात्रा गर्दा धेरै समय लाग्ने, गाडी परिवर्तन गर्दा झञ्जट हुने, दुर्घटनाको जोखिम र सास्ती भएको धाइरीङका हरि आचार्यले बताए। सिङ्गो म्याग्दी र मुस्ताङ जिल्लाको साथै पर्वतको जलजला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने मालढुङ्गा–बेनी सडक पर्यटकीय, व्यापारिक र धार्मिक हिसाबले सम्भावनायुक्त छ ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार