अपांगता भएकालाई सरकारी कार्यालयमा सास्ती

धनकुटा । शारीरिक अपांगता भएका प्रेम तुम्बाहाङलाई सरकारी कार्यालय जाँदा निकै कष्ट हुने गर्छ । अधिकांश कार्यालयमा सहज रूपमा बैसाखी तथा ह्वीलचियर जान नसक्ने र कार्यालय प्रमुख माथिल्लो तलामा बस्ने गर्दा असहज हुने बताउँछन् ।खोटाङ बुइपाका दीपक श्रेष्ठले लोकसेवा आयोगमा रहेको सिँढी उक्लन र ओर्लन सास्ती खेप्नुपर्‍यो । दुवै खुट्टा नहुँदा हातको सहारामा हिँड्नुपर्ने अवस्थाका श्रेष्ठले अपांगमैत्री बाटो नहुँदा कार्यालय जान–आउन कष्टकर भएको बताए ।

आयोगले समावेशी आरक्षणअन्तर्गत अपांगका लागि छुट्टै प्रतिस्पर्धा गराउने नीति ल्याएको वर्षौं बितिसक्यो । यस अवधिमा फाराम भर्न तथा परीक्षा दिन पुग्ने अधिकांश अपांग परीक्षार्थीलाई समस्या हुने उनको भनाइ छ ।

जिल्लास्थित अधिकांश सरकारी कार्यालय अपांगमैत्री छैनन् । चार दर्जन सरकारी कार्यालय, सातवटा पालिका तथा शिक्षण संस्थालगायत सेवा प्रदायक संस्था अपांगमैत्री छैनन् । अपांगताको सवालमा निर्देशिका २०६२ मा जारी भए पनि कार्यान्वयन फितलो रहेको अपांग सेवा संघ केन्द्रीय सदस्य यमबहादुर बस्नेत बताउँछन् । अधिकांश कार्यालयमा अप्ठ्यारो सिँढी भएकाले शारीरिक अपांगता भएकाहरूले सहज सेवा लिन नपाएको अपांग सेवा संघ सचिव सुमन बसेलले बताए । बैंक तथा वित्तीय संस्थाको अवस्था पनि उस्तै छ । जिल्ला समन्वय समितिले भने ह्वीलचियर गुड्न सक्ने नयाँ बाटो बनाएको छ । धनकुटा नगरपालिका, जिल्ला अस्पतालमा आंशिक रूपमा अपांगमैत्री बाटो छन् । दृष्टिविहीनले त सडकमा सहज रूपमा हिँडडुल गर्नसमेत कठिन हुने गरेको बताए । सुन्दर लिम्बूले सेतो छडीको माध्यमले क्याम्पस पुग्न सकस परेको बताए ।

जिल्ला प्रशासन कार्यालयले नागरिकतालगायत सेवाका लागि अपांगता भएका व्यक्तिको घर तथा पहुँच पुग्ने स्थानमा सेवा उपलब्ध गराउने सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले बताए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार