कास्कीमा प्रभावकारी बन्दै साझेदारी कार्यक्रम

गण्डकी । कास्की जिल्ला समन्वय समितिको आर्थिक सहयोगमा सञ्चालित योजना प्रभावकारी बनेका छन् । जिसस र पालिकाको साझेदारीमा सञ्चालित योजनाको निर्माण प्रभावकारीरूपमा अघि बढेका छन् भने सम्पन्न योजना पनि उपयोगी देखिएका छन् ।

कास्की जिल्लाका पोखरा महानगरपालिकासहित कूल पाँचवटा स्थानीय तहमा सञ्चालित ४६ योजनामा कूल ३१ करोड ३३ लाख ५३ हजार ९ सय ६७ लगानी भएको हो । तीमध्ये समन्वयको ६० प्रतिशत र स्थानीय तहको ४० प्रतिशत लगानी रहेको छ।

प्रत्यक्ष जनतालाई सुविधा पुग्ने खालका योजना छनोट गरी जिससको मौज्दात कोषको १९ करोड पाँच लाख ७८ हजार ३ सय ७८ र पाँचवटै स्थानीय तहको १२ करोड २७ लाख ७५ हजार ५ सय ८९ बराबरको विकास निर्माणमा लगानी भएको जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार पालिकागत योजनाअनुसार प्रशासकीय भवन र विभिन्न वडा कार्यालयका भवन निर्माणतर्फ १२ करोड ८१ लाख २६ हजार ३ सय ८६, खानेपानी पूर्वाधारतर्फ दुई करोड ५७ लाख ९६ हजार ९ सय ९५, विद्यालय निर्माण तथा भवन मर्मततर्फ तीन करोड ४१ लाख ५४ हजार ९ सय ९६ र अस्पताल भवन मर्मत तथा निर्माणका लागि २५ लाख बराबरको बजेट विनियोजन गरिएको हो ।

“विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको संक्रमण बढ्न नदिन सरकारले लगाएको निषेधाज्ञाको अवधिमा समेत स्वास्थ्य मापदण्ड अपनाएर निर्माण कार्यलाई तीव्रता दिइएको हो”, उनले भने, “विकास निर्माणमा तोकिएको समय र गुणस्तरमा कुनै पनि सम्झौता हुँदैन ।” संवैधानिक व्यवस्थानुसार जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्ने, विकास तथा निर्माणसम्बन्धी कार्यमा सन्तुलन कायम गर्ने र विकास निर्माण तथा प्राकृतिक स्रोत उपयोगलगायत अनुगमन गर्ने व्यवस्थानुसार जिससले जिल्लामा तीनवटै तहबाट सञ्चालित योजनाको सरोकारवाला पक्षको समेत सहकार्यमा अनुगमनलाई निरन्तरता दिँदै आएको उनको भनाइ छ ।

निर्माण कम्पनी तथा उपभोक्ता समितिबीचको समस्या समाधानका लागि आवश्यक पहल र समन्वय गर्ने तथा जग्गा विवाद समाधान एवं समयमा बजेट निकासाका लागि आवश्यक पहल गर्दै आएको बताउँदै प्रमुख क्षेत्रीले भने, “विकास निर्माणमा कमीकमजोरी तथा ढिलासुस्ती गर्ने सम्वद्ध पक्षलाई कारबाही गर्न भने कानुनी अभाव छ ।”

गण्डकी प्रदेशको राजधानी एवं प्रदेशकै एकमात्र महानगरपालिका र जिल्ला समन्वय समिति कास्कीको सहकार्यमा नौ करोड ७३ लाख बराबरका विभिन्न छवटा विकास योजना छनोट गरी निर्माण भइरहेको छ ।

महानगरपालिकाका–७, ८ र ३१ मा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माणका लागि प्रत्येक वडालाई दुई करोड १८ लाख ५८ हजार ९ सय ३२ दरले कूल छ करोड ५५ लाख ७६ हजार ७ सय ९६, मातृशिशु मितेरी अस्पतालमा कोभिड उपचारका लागि २४ लाख ९५ हजार र तालबाराही माविको पर्खाल निर्माणका लागि १३ लाख ७७ हजार ३ सय ९०, पोखरा–२८ स्थित खानेपानी योजनाका लागि रु दुई करोड ७८ लाख ५७ हजार १ सय ४३ बजेट विनियोजन गरी निर्माण भइरहेको छ ।

जिससको मौज्दात कोष सञ्चालन निर्देशिका–२०७५ अनुसार सञ्चालित उक्त योजना सम्पन्न गर्न जिससले छ करोड १० लाख ९६ हजार र महानगरपालिकाले रु तीन करोड ६५ लाख ८२ हजार ८ सय ६४ विनियोजन गरेको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए । उनका अनुसार यस कार्यक्रममा उपभोक्ताले देखाएको उत्साहले तोकिएको समयमा निर्माण सम्पन्न हुने विश्वास लिएको छ । कोरोना भाइरस महामारीका बीच पनि निर्माणले तीव्रता पाएको छ ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार