कविता : सङ्क्रमण र छिमेक

महेन्द्र मान बलामी

चैत महिनाबाट सुरु भयो महामारी
गरिएको थिएन त कुनै केही तयारी
वुहानबाट फैलिएको कोरोनाले गर्दा
सुरु भयो बन्दाबन्दी मुखमा पनि पर्दा ।

अड्डादेखि अदालत हुन थाले बन्द
भेटघाट पनि हुन थाल्यो मन्दमन्द
श्रव्यदृष्य दुवैतिर बज्यो शङ्ख घण्ट
विश्वभरी फैलिएर रोग मुण्ड चण्ड ।

घर घरमा चल्न थाल्यो महामारी चर्चा
सावधानी अपनाउन छर्न थाले पर्चा
संसार नै रित्तो हुने चल्न थाल्यो डर
अस्पताल ओखतिको हुन छोड्यो भर ।

सहर बस्तीतिरबाट मान्छे लागे घर
रातदिन लाम लागी नारी सहित नर
सुक्खा अन्न पानी बोकी हिँडे कोसौँकोस
दुख कष्ट प-यो बाबै थाहा छैन दोष ।

दुख कष्ट गरिकन पुगे आवासमा
यस्तै दुख कष्ट थियो उता प्रवासमा
नेपाल गई बाँच्छु भन्ने लिई दृढ आसा
नफ्याँकेको पनि होइन सञ्जालमा पासा ।

यस्तै देसानमा फेरि छिमेकीले मिच्यो
शुभ्र शान्त नेपालको मानचित्र थिच्यो
वीर सुत शान्तिप्रेमी थाले फेरि जाग्न
सिमानाको रक्षा गर्न सिमानामै लाग्न ।

सञ्जाल र खबरमा चल्यो मारामारी
आफ्नो भूमि फिर्ता गरी गर्न रखवारी
जनताको चाहनामा सरकारी बल
सिमा फिर्ता गरिकन गर मलजल ।

लड्नुपर्छ भित्री बाहिरी दुवै शत्रुसित
बडाकडा छिमेकीलाई बनाएर मीत
हटी होइन डटीकन पर्छ अब लड्न
महामारी रोगसँगै समृद्ध भई अड्न ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार