ग्रान्ड प्रिएरीमा हजारौं समर्थकको साथ, तर चलेन नेपालको ब्याट

आइसिसी टी-२० विश्वकपअन्तर्गत मंगलबार अमेरिकाको टेक्सास राज्यस्थित डालासको ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा विहानैदेखि दर्शकको घुँइचो थियो।

विहान सबेरैदेखि भएको वर्षा कुनै वास्ता नगरी नेपाली दर्शक नेदरल्यान्ड्सविरूद्धको खेल हेर्न उपस्थित भएका थिए। नेपाली राष्ट्रिय टोलीको जर्सीसहित नेपालको राष्ट्रिय झण्डा बोकेका उनीहरू रातो र चन्द्र सूर्य गीत गाइरहेका थिए।

सेतोपाटीसँगको कुराकानीमा अधिकांस दर्शकले नेपालको खेलका लागि निकै उत्साहित भएको बताएका थिए। वर्षाले आधा घन्टा टस ढिलाइ हुनुअघि मुख्य गेटमा नेपाली पञ्चे बाजामा दर्शकहरू छमछमी नाचिरहेका थिए।

स्थानीय समयअनुसार विहान दश बजे रंगशालामा प्रवेश गर्दा नेपालको जर्सी लगाएका दर्शकले भरिसकेको थियो। आइसिसीले उपलब्ध गराएको आधिकारिक तथ्यांकअनुसार ६ हजार ८ सय ४२ दर्शक टिकट काटेर उपस्थित भएका थिए। जसमा अधिकांस दर्शक नेपाली भएकोमा कुनै शंका थिएन। टिकटबाहेक केही सय भिआइपी पास समेत नेपालीका लागि उपलब्ध थियो।

नेपाली राष्ट्रिय टोली १० वर्षपछि विश्वकपमा फर्किएको खुसीको उत्सव मनाउन ग्रान्ड प्रिएरी रंगशालामा उपस्थित भएका दर्शकका लागि खेलको सुरूवातदेखि झड्का लाग्यो।

नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले दोस्रो ओभरदेखि नै विकेट गुमाउन थाल्यो। बीच-बीचमा नेपाली ब्याटरले चौका-छक्का हान्दा रंगशालाको माहोल एकाएक खुसीमा परिणत हुन्थ्यो। तर जब विकेट जान्थ्यो कीर्तिपुरस्थित त्रिवि मैदानको झल्को दिने गरी ग्रान्ड प्रिएरी मौन हुन्थ्यो।

त्यसो त खेलअघि नेपालका कप्तान रोहितकुमार पौडेलेले ग्रान्ड प्रिएरीलाई ‘अमेरिकाको त्रिवि मैदान’ भनेका थिए। रोहितकै अपेक्षा झैं ग्रान्ड प्रिएरीले त्रिविकै झल्को दिन सफल भयो।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३७ बलमा जोडेको ३५ रननै सर्वाधिक बन्यो। त्यो बाहेक करण केसीले अन्त्यतिर दुई छक्का प्रहार गर्दै नेपाली समर्थकलाई खुसी दिएका थिए। अन्तिम चार बल खेल्न बाँकी छदा अलआउट भएको नेपालले १०६ रन मात्र जोड्न सक्यो।

नेपाली ब्याटर सुरूदेखि नै हतार गरिरहेका देखिन्थे। डच बलरका अघि केही फिक्का देखिन्थे।

१०७ को लक्ष्य भए पनि नेपालले सुरूवातदेखि नै आफ्नो पक्षमा खेल ल्याउने कोशिस गर्‍यो।

दोस्रो ओभरमै सोमपाल कामीले नेदरल्यान्ड्सका आक्रामक ब्याटर माइकल लेभिटलाई १ रनमै क्याच गराएका थिए। तर म्याक्स ओ’डाउड र विक्रमजित सिंहले ४० रनको साझेदारी गर्दा नेदरल्यान्ड्स बिस्तारै लय समात्यो।

खेलमा विक्रमजित २० रनमा खेलिरहदा अभिनास बोहराको बलिङमा सोमपाल कामीले क्याच मिस गरेका थिए। त्यस्तै १८औं ओभरमा पनि  ओ’डाउडको क्याच रोहित पौडेलले छाडेका थिए।

नेपालको पक्षमा खेल नभए पनि ग्रान्ड प्रिएरीमा उपस्थित समर्थकहरू अन्तिमसम्म मैदानमा हुटिङ गरिरहेका थिए। जब नेदरल्यान्ड्सले अन्तिम ८ बल बाँकी छदा लक्ष्य पूरा गर्‍यो, नेपाली खेलाडीहरूले प्यारापिट नजिक आएर नेपाली समर्थकलाई धन्यवाद दिए।

खेलपछि नेपाली टोलीबाट दोस्रो पटक टी-२० विश्वकप खेल्ने इतिहास कोरेका सोमपाल कामीले नेपाली समर्थकलाई धन्यवाद दिए।

‘हाम्रा समर्थकहरू हामीले जितेको हेर्न चाहानुहुन्छ। हामी पनि जित्न प्रयास गर्छौं। हजारौं दर्शक यहाँ आउनु भएकोमा धेरै-धेरै धन्यवाद दिन चाहान्छु। हामीले खुसी दिन त सकेनौं। तर हामीले शतप्रतिशत दिएका थियौं। हामी बाँकी खेलमा ठूला टोलीलाई हराएर खुसी पनि दिनेछौं,’ उनले भने, ‘नेपाल बाहिर यति धेरै दर्शक आउदा धेरै उत्साव हुन्छ। समर्थकको विश्वासले यहाँसम्म आइपुगेका हौं। अब बाँकी खेलमा राम्रो खेलेर जितेर नेपालीलाई गर्व गराउनेछौं।’

अर्का बलर करण केसीले पनि नेपाली दर्शकको मायाप्रति आभार व्यक्त गरे। उनले भने, ‘हामी जहाँ गए पनि समर्थक आएर समर्थन गर्छन्, यसमा धेरै खुसी लाग्छ। अस्ति वेस्ट इन्डिजमा दर्शक हुनुहुन्न होला जस्तो लागेको थियो। त्यहाँ पनि चार-पाँच जना आउनुभयो।’

सोमपालले नेदरल्यान्ड्सविरूद्ध ब्याटिङ चल्न नसक्दा पराजित हुन परेको बताए। उनले टसको पनि खेलमा भूमिका खेलेको स्विकार गरे।

‘यस्तो कन्डिसनमा टसले धेरै नै भूमिका खेल्छ। तर पनि हाम्रो नियन्त्रणमा टस थिएन। हामीलाई पहिला ब्याटिङको निम्तो भएपछि यो विकेटमा जति सक्दो धेरै रन बनाउने जित्मेवारी थियो। तर राम्रो लक्ष्य दिन सकेनौं। ब्याटिङ सजिलो भने पक्का थिएन। यो विकेटमा ब्याटिङ गर्न कहि न कहि गाह्रो थियो। २०-३० रन कम भएको लाग्छ मलाई। त्यो रन बनाउन सकेको भए हाम्रो पक्षमा लय आउथ्यो,’ सोमपालले भने।

उनले नेपाली ब्याटरले हतार नगरेको पनि बताउँदै कन्डिसनअनुसार खेल्न खोजेको प्रतिक्रिया दिए।

‘हामीले टी-२० मा गर्न पर्ने ब्याटिङ जस्तै गरी गरेका हौं। पावरप्लेमा राम्रो ब्याटिङ गर्न सकेनौं। उनीहरूले राम्रो बलिङ गरेकाले ब्याटरले राम्रो गर्न नसकेको जस्तो लाग्छ,’ उनले भने।

‘क्याच मिस’ भएको विषयमा प्रतिक्रिया दिँदै सोमपालले अर्को खेलदेखि गल्ती नदोहर्‍याउने बताए।

‘सबै कुरा हाम्रो नियन्त्रणमा हुँदैन। जो फिल्डर पनि क्याच समात्न नै जान्छ। तर पनि मिस्टेक हुन्छ। मिस्टेकबाट सिक्नपर्छ। हामीले म्याचमा एक क्याच समात्न अभ्यासमा हजार क्याच गरेका हुन्छौ,’ उनले भने, ‘वान बल ब्याटल हार्न पुगेका हौं। अर्को खेलमा यस्ता मिस्टेक दोहोर्‍याउँदैनौं। क्याच मिसलाई टर्निङ प्वाइन्ट भन्न मिल्दैन। तर क्याच समातेको भए उनीहरुलाई केही दबाब भने हुन्थ्यो।’

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार