संसदमा बजेटमाथि छलफल, सांसदका कुर्सी रित्तै

प्रतिनिधि सभाको सोमबारको बैठक बिहान ११ बजेदेखि जारी छ।

सभामुख देवराज घिमिरेले बैठक सुरू गर्नेबित्तिकै शून्य समयमा सांसदहरूलाई बोल्न समय दिए।

सांसदहरूले आफ्ना निर्वाचन क्षेत्र, समसामयिक घटनाक्रमलगायत विषयमाथि केन्द्रित रहेर धारणा राखे, सरकारको ध्यानाकर्षण गराए।

बैठकमा प्रधानमन्त्रीका तर्फबाट सञ्चार मन्त्री रेखा शर्माले नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गरेकी थिइन्।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले समितिले पारित गरेको संवैधानिक परिषदसम्बन्धी विधेयक सदनमा पेस गरेका थिए।

यसपछि सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि जेठ १५ गते ल्याएको बजेटमाथिको छलफल सुरू भयो। सांसदहरूले बजेटमाथि धारणा राखेका छन्। अधिकांश सांसदहरू आफ्ना कुरा राख्दै हिँड्दै गरेपछि संसद भवनमा कुर्सी खाली खाली छ।

यसप्रति लक्षित गर्दै राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले संसद दिक्क लाग्दो र रमाइलो नभएको बताए। रोष्टमबाटै केसीले बजेटमाथिको छलफल पनि औचित्यहीन बन्दै गएकोजस्तो लागेको बताएका छन्।

बजेटमाथिको छलफलमा भाग लिँदै केसीले अर्थमन्त्रीले पेस गरेको बजेट जति छलफल गरे पनि तलमाथि नहुने भएकोले छलफल औचित्यहीनजस्तो देखिएको बताए।

‘यहाँ जति उफ्रे पनि सत्तापक्षले पेस गरेको बजेट एक सुका, एक आना तलमाथि गर्न नपाइने, यहाँ जे आएको छ त्यसलाई स्वीकार गर्नुपर्ने भएपछि छलफलको पनि औचित्य लाग्न छाड्यो,’ केसीले भने, ‘आज यही छलफलको कुरा सुन्दा वाक्क लागेर निदाएछु एकछिन। यस्तो पो हुन गयो। रमाइलो छैन संसद, दिक्क लाग्दो छ।’

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार