कांग्रेसका सांसदहरूले बोल्न समय मागिरहे, दिएनन् सभामुखले

सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई बोल्न समय नदिएपछि प्रतिनिधि सभा बैठक स्थगित हुन पुगेको छ।

सभामुख घिमिरेले बैठक सुरू गर्नेबित्तिकै कांग्रेस सांसदहरू बसेको ठाउँबाट उठेर अवरोध गरेका थिए।

कांग्रेस सांसदहरूले अवरोध जारी राखिरहेकै बेला सभामुख घिमिरेले शून्य, विषय र आकस्मिक समय केही पनि नराख्ने निर्णय भएको सुनाए।

उनले नियमित कामकारबाहीमा जाने कोसिस जारी रहेको बताए। सभामुख घिमिरेले आफूले थाहा पाएसम्म प्रतिपक्षी कांग्रेसले सहकारीसम्बन्धी विषय उठान गर्दै आएको र कार्यदलमा त्यसबारे छलफल जारी रहेकोले सदन बैठक पनि सँगसँगै अघि बढाउन आग्रह गरे।

कार्यदल बैठकबाट निकास निस्कनेमा आशावादी रहँदै सदन पनि सञ्चालन गरिनुपर्ने सभामुख घिमिरेको भनाइ थियो।

सभामुखले यति भनुञ्जेलसम्म कांग्रेस सांसदहरू उभिइरहेका थिए। सदनमा सांसद उभिए अवरोध भएको मानिने अभ्यास छ।

यसपछि कांग्रेस सांसदहरूले हात उठाए, बोल्न समय पाउनुपर्छ भनेर माग गरे। सभामुख घिमिरेले पहिले भनिसकेकै वाक्य दोहोर्‍याए- शून्य, विशेष र आकस्मिक समय नरहेको जानकारी गराउँछु।’

कांग्रेस सांसदसमेत रहेका महामन्त्री विश्वप्रकाश शर्माले बोल्न समय पाउनुपर्छ भने। ‘प्रतिपक्षीलाई बोल्न समय उपलब्ध गराउनु सभामुखको कर्तव्य हो,’ हात उठाउँदै उनले भने।

सभामुख घिमिरेले नियमावलीअनुसार नै बैठक अगाडि बढ्न लागेको जानकारी गराएका थिए। साथै सभामुख घिमिरेले प्रतिनिधि सभा बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको कुरा निकाले। ‘कार्यव्यवस्था परामर्श समितिमा छलफलबाटै अघि बढ्ने भन्ने कुरा भएको छ,’ उनले भने।

यसपछि प्रमुख सचेतक रमेश लेखकले हात उठाए। लेखक कार्यव्यवस्था परामर्श समिति सदस्य छन्। सभामुखले कार्यव्यवस्था परामर्शमा भएको कुरा निकालेपछि लेखकले भने, ‘छलफल गर्दै जाने त भनिएको हो। तर सदनमा प्रतिपक्षीले बोल्न पाउनुपर्छ।’

लेखकलाई समर्थन गर्दै महामन्त्री शर्माले थपे, ‘सभामुख महोदय, प्रतिपक्षी बोल्नु भनेको परिस्थितिलाई असहज बनाउने भन्ने कोणबाट बुझिनु हुन्न।’

बोल्न समय नदिँदा पनि उभिइरहेका कांग्रेसका एकपछि अर्का सांसदले बोलिराखेपछि सभामुख घिमिरेले भने, ‘आसनग्रहण गरौं, नियमित काम अघि लैजाने गरी सहयोग गरौं।’

यसो भनेका सभामुखलाई लेखकले जबाफ फर्काए- सदनमा प्रतिपक्षले बोल्न नपाउने हो भने कहाँ गएर बोल्ने हो? कांग्रेसका सांसदहरूले लेखकका कुरालाई समर्थन गर्दै टेबल ठटाए।

फेरि महामन्त्री शर्माले सभामुखको ध्यानाकर्षण गराउँदै भने, ‘प्रतिपक्षीले जनताको कुरा राख्न चाहँदा बोल्न नदिएर कस्तो नजिर बसाल्दै हुनुहुन्छ सभामुख महोदय?’

सभामुख घिमिरेले कार्यसूचीअनुसार सदनलाई अघि लैजान सहयोग गरिदिन प्रमुख प्रतिपक्षी कांग्रेसका सांसदहरूलाई फेरि आग्रह गरे। प्रमुख सचेतक लेखकले बोल्न समय पाउनुपर्ने अडान राखे। ‘प्रतिपक्षीले सदनमा बोल्न नपाए कहाँ बोल्ने? अनि संसदीय अभ्यास कुन ढंगले अघि बढ्छ?,’ उनले थपे।

महामन्त्री शर्मा र लेखकले तलबाट बोल्न समय माग गरिरहेपछि सभामुख घिमिरे बोले। बैठक नियमअनुसार नै चलाउने आफ्नो कर्तव्य रहेको सभामुख घिमिरेको भनाइ रह्यो।

‘बोल्न पाउनुपर्छ भन्ने माननीयका मागलाई सभामुखले बोल्न दिएन भनेर प्रचार गर्ने कुरा होइन,’ सभामुख घिमिरेले भने, ‘बोल्ने वातावरण कसरी बनाउने र कसरी अघि लाने भन्ने कुरामा सत्तापक्ष र प्रतिपक्ष पनि त्यत्तिकै जबाफदेही र जिम्मेवार छ। आसनग्रहण गरेर वातावरण बनाइदिनुस्।’

यो सुनेपछि प्रमुख सचेतक लेखकले जबाफ दिए, ‘बोल्न नपाएपछि बोल्न दिएन भन्नैपर्ला नि सभामुख महोदय। बोल्न समय नपाएपछि त पाइएन भन्छ त!’

सभामुखले संसदको यो अधिवेशन सुरू भएदेखि प्रतिपक्षीलाई पटक-पटक बोल्न समय दिइएको र तलबाट बोलेर नपुग्दा माथि (रोस्टम) बाट पनि बोल्न दिएको स्मरण गराएका थिए।

उनले नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची रहेको र छलफलमा भाग लिन सांसदका नाम टिपाउन भनिएकोलगायत कुरा राखेका थिए। साथै कार्यसूचीमा प्रवेश गर्न उठिरहेका सांसदलाई बसेर सहयोग गरिदिन उनले आग्रह गरेका थिए।

प्रमुख सचेतक लेखकले भने बोल्न समय पाउनैपर्ने कुरा सुनाए। सभामुख घिमिरेले लेखकलाई लक्षित गर्दै विधिसम्मत ढंगले बोल्ने व्यवस्था गर्दै आएको र त्यसका लागि सबैले वातावरण बनाउनुपर्ने बताए। सभा सञ्चालन गर्न सहयोग गरिदिन उनको आग्रह थियो।

तर सभामुखका आग्रह प्रमुख प्रतिपक्षी कांग्रेसले सुन्न चाहेन। कांग्रेस सांसदहरू बोल्न समय पाउनुपर्ने भन्दै बसेका ठाउँबाट उभिएर सदन अवरोधलाई जारी राखिरहे।

संसदीय अभ्यासमा प्रतिपक्षी दल आफ्नो स्थानबाट उभिएपछि किन उभिएको हो भनेर सभामुखले सोध्ने र बोल्न समय दिने प्रचलन रहिआएको छ। तर सभामुख घिमिरेले प्रमुख प्रतिपक्षी कांग्रेस सांसदहरूले हात उठाएर पटक-पटक बोल्न समय दिन माग गर्दासमेत ‘माइक अन’ गरेनन्। बरू उल्टै जुहारी खेलेर बसे।

सभामुख घिमिरेले ‘सभा सञ्चालनमा प्रमुख प्रतिपक्षीको सहयोग नरहेपछि’ भन्दै दैनिक कार्यसूचीमा रहेका विषय सूचीबाट हटाएको जानकारी गराए। ‘अब अर्को बैठक जेठ १३ गते बिहान ११ बजे बस्ने गरी स्थगित हुन्छ।’

केही समयअघि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सदनमा बोल्न नपाएको गुनासो गरेका थिए।

गृहमन्त्री लामिछानेले सदनमा बोल्न पाउँ भन्दै सभामुख घिमिरेलाई पत्र नै पठाएका थिए।

त्यसअघि कांग्रेसले गृहमन्त्री लामिछानेलाई रोस्टम प्रयोगमा अवरोध गर्ने गरेको थियो। राजनीतिक दलसम्बन्धी संशोधन विधेयक पेस गर्नबाट लामिछानेलाई कांग्रेसले रोकेको थियो।

पछि सभामुखले बोल्न समय दिन चाहेमा गृहमन्त्रीका जबाफ सदनमा सुन्ने कांग्रेसको भनाइ थियो र गृहमन्त्री लामिछानेले सदनमा बोलिसकेका छन् भने राजनीतिक दलसम्बन्धी संशोधन विधेयक पनि कांग्रेसको नाराबाजीबीच सरकारले फिर्ता लिइसकेको छ।

प्रतिनिधि सभाको शुक्रबारको बैठक स्थगित भएपछि संघीय संसद भवन परिसरमा महामन्त्री शर्माले सत्तारूढ एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि ‘कांग्रेसलाई अब बोल्न दिइँदैन’ भन्ने अभिव्यक्ति दिएको बताए।

‘केही दिनअघि उहाँ (केपी शर्मा ओली) ले कांग्रेसलाई अब बोल्न दिइने छैन भन्नुभएको थियो,’ शर्माले भने, ‘यो सहकारीबन्धु गठबन्धनको शैली ठिक देखिएन। प्रतिपक्षले संसदमा बोल्दा संवाद र संसदीय प्रक्रियालाई सहज बनाउँदैन भन्ने खालको आभास आज सभामुखबाट व्यक्त भयो। पूर्वनिर्धारित कार्यक्रमअनुसार प्रतिपक्षीका तर्फबाट आज म बोल्ने कार्यक्रम थियो।’

कांग्रेसले सदन बैठकअघि राप्रपा, जसपा नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चासँग छलफल पनि गरेको थियो। शर्माले सहकारीको बचत ठगी भएका विषयमा केन्द्रित रहेर आफूले सदनमा बोल्ने तयारी गरे पनि समय नपाएको बताए।

‘यहाँ के देखियो भने सहकारी प्रकरणमा एमालेले साथ दिने र गिरीबन्धुमा रास्वपाले साथ दिनेजस्तो देखियो, सहकारीबन्धु गठबन्धनका रूपमा उहाँहरू देखिनुभएको छ,’ उनले भने।

उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर मात्रै संसदीय छानबिन समिति गठन हुने अडानमा कांग्रेस रहेको बताए।

सत्तारूढ एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी कांग्रेसले सदन अवरोधको शैली बदल्नुपर्ने बताए।

‘हामी सबै सांसद बोल्न पाउने अधिकारलाई प्रमुख प्रतिपक्षीबाट अवरोध नगरियोस्,’ उनले भने, ‘सत्ता पक्षले पनि जनताका मुद्दा उठाउने भनेको संसदमै हो।’

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार