महोत्तरीमा सर्पको बिगबिगी

साउनको मध्यभित्रै सर्पदंशका ५३ घटना आएको सर्पदंश उपचार केन्द्र बर्दिवास–३ गौरीडाँडाले जनाएको छ । तीमध्ये विषालु सर्पले टोकेका १५ घटनाको उपचार गरिएको केन्द्रका इन्द्रबहादुर केसीले बताए । केन्द्रमा अहिले चार जना उपचाररत छन् । गत वर्ष पूरै साउनमा ४० सर्पदंशका घटना भएका थिए ।

यसै साउनको पहिलो सातामा गौरीडाँडामै एक १५ वर्षीय किशोरको सर्पदंशले मृत्यु भएको छ ।

असार मध्ययता र साउन पहिलो सातासम्म पटक-पटकको मुसलधारे वर्षाले सर्प बस्ने दुला पानीले भरिएपछि यस भेगमा सर्पको बिगबिगी बढेको हो । सर्पदंशका बिरामी उपचार गर्न आएमध्ये अत्यन्त विषालु गोमन र करेतले डसेका १५ जनाको सफल उपचार भएको केन्द्रका अध्यक्ष कृष्ण देवकोटा बताउँछन् । अन्य भने भाइबर (विष नलाग्ने सर्पको एक प्रजाति), बिच्छी र खजुराले टोकेको पुष्टि भएको उनको भनाइ छ ।

सर्पदंशका घटनामा ६० प्रतिशत महिला पर्ने गरेका छन् । घाँसपातको काम गर्दा र घरघरै शौचालय नहुँदा अँध्यारोमा दिसापिसाब गर्न बाहिर निस्कँदा मधेशमा सर्पदंशका घटनामा महिला बढी पर्ने गरेको देवकोटा बताउँछन् ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार