‘भाषा र संस्कृति बिर्सिनु वा हराउनु भनेको आफ्नो पहिचान गुमाउनु हो’

बद्री थिङ (३५) ललितपुरको महालक्ष्मी नगरपालिका, लामाटारमा बस्छन् । उनको रुचि नृत्य प्रशिक्षण क्षेत्रमा रहेको छ । उनी भाषा संस्कृतिको उत्थानमा टेवा पु-याउने हेतुले काम गरिरहेका हुन्छन् । तामाङ भाषाको चलचित्र निर्माणमा जुटिरहेका उनलाई पनि कोभिडको महामारीले रोकेको छ । उनी गाउँघरमै व्यवसायिक कर्ममा सक्रिय छन् । यसै समयमा उनको नयाँ योजना छ, आफ्नै गाउँमा कृषि फर्म दर्ता गर्ने ।

यसै सिलसिलामा उनीसँग पवित्रा भट्टराईले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छः

हाल तपाइँ के काममा व्यस्त हुनुहुन्छ ?
गाउँघरमै व्यवसायमा व्यस्त छु । खेती किसानी पनि गर्छु । तामाङ भाषामा चलचित्र निर्माण, तामाङ सेलोमा आधारित गीतको म्यूजिक भिडियोमा अभिनय जस्ता काममा व्यस्त हुन्थेँ । अहिले सबै ठप्प छ ।

तपाइँ तामाङ चलचित्र निर्माण क्षेत्रमा लाग्नु भएको कति भयो ?
ठ्याक्कै १६ वर्ष जति । तामाङ चलचित्र क्षेत्रमा २०६३ सालतिर ‘माया ला छो’ (मायाको डोरी)मा ‘लिड डान्सर’बाट प्रवेश गरेको हुँ । यसभन्दा अगाडि नेपाली लोकगीतका भिडियोहरुमा काम गर्दै चलचित्रको दुनियाँमा प्रवेश गरेको थिएँ ।

हालसम्म कति वटा चलचित्र निर्माण गर्नुभयो ?
चलचित्र निर्माण त एउटा मात्रै गरेको छु । म्युजिक भिडियोहरुमा चाहिँ टन्नै काम गरेको छु ।

पहिले तपाइँ नृत्य प्रशिक्षण क्षेत्रमा हुनुहुन्थ्यो, किन उक्त क्षेत्र छाड्नुभयो ?
चलचित्र क्षेत्रमा लागेपछि समय व्यवस्थापन गर्न पनि कठिन भयो । नृत्य प्रशिक्षण केन्द्र खोल्न पनि नभ्याउने र सुटिङमा टाढा जानुपर्ने कारणले नृत्य प्रशिक्षण क्षेत्र छाडेर आफ्नै इच्छाको क्षेत्रमा नै निरन्तर लागिरहेँ । चलचित्र क्षेत्रको नशाले नृत्य प्रशिक्षणको काम छाडेँ ।

आफ्नो भाषा संस्कृतिलाई जगेर्ना गर्न के गर्नुपर्छ ?
हामी सबैको साझा दायित्व हो भाषा र संस्कृतिको जगेर्ना गर्नु । तामाङ चलचित्र जगतलाई धेरै नजिकबाट चिन्दछु । आफ्नो भाषा, कला रीतिरिवाजको जगेर्ना गर्न, बचाइराख्न अनवरत रुपमा संघर्षरत छु । पछिल्लो चरणमा २०७५/०७६ को तेस्रो तामाङ चलचित्र महोत्सवमा आफैँ मूख्य भूमिकामा रहेको चलचित्र ‘आप्लेङ ला नाम्सा’ (मित बुबाको गाउँ) उत्कृष्ट भै अवार्ड र नगदबाट पनि सम्मानित हुने अवसर जुरेको थियो ।

आफ्नो भाषा, संस्कार र संस्कृति भनेको आफ्नो पहिचान हो । भाषा र संस्कृति बिर्सिनु वा हराउनु भनेको आफ्नो पहिचान गुमाउनु हो त्यसैले सबै समुदायका मानिसले आफ्नो भाषा, जाति, धर्म, संस्कृति र परम्परा सधैँ जोगाएर राख्न एकजुट भएर निरन्तर मातृभाषा बोल्नुपर्छ । र, आफ्नो संस्कृति भुल्न हुँदैन । आफ्नो भाषा संस्कृति नै त पहिचान हो ।

समयलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
आफ्नो इच्छाको विषय भयो भने जसरी पनि समय व्यवस्थापन गर्न सकिन्छ । आफ्नो क्षमता र प्रतिभा अनुरुप जुन विषयमा पोख्त छौँ वा लगनशील छौँ त्यही अनुरुप कर्मप्रति समर्पित भई लागेमा पैसा वा नाम मिल्ला–नमिल्ला तर आत्मसन्तुष्टि भने पक्कै मिल्छ ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार