बागमती प्रदेश सरकारको नेतृत्वमा नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाको दाबि

१८ पुस, हेटौंडा । बागमती प्रदेशमा दोस्रो कार्यकालको पहिलो अधिवेशन सोमबारदेखि सुरु भएको छ । पहिलो बैठकले सभामुख र उपसभामुखको निर्वाचन मिति तय गरेको छ । २८ पुसमा सभामुख र २९ पुसमा उपसभामुखको निर्वाचन २९ पुसमा तोकिएको छ ।

तर सत्तारुढ दलहरुबीच मुख्यमन्त्री, सभामुख लगायतका पदको बाँडफाँट भइसकेको छैन ।

प्रदेश सरकारको नेतृत्वमा नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाले दाबी गरेका छन् ।

११० प्रदेशसभा सदस्य रहेको बागमती प्रदेशमा सरकार गठनका लागि ५६ को समर्थन चाहिन्छ । एमालेसँग २७, माओवादी केन्द्रसँग २१ र राप्रपा १३ प्रदेशसभा सदस्य छन् र तीन वटै दलले संसदीय दलको नेता चयन गरिसकेका छन् ।

एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, माओवादीका शालिकराम जमकट्टेल र राप्रपाका उद्धव थापा मुख्यमन्त्रीको दौडमा छन् ।

३७ सिटसहित नेपाली कांग्रेस पहिलो दल हो । तर सत्ता समिकरणका कारण कांग्रेस प्रतिपक्षमा पुगेको छ ।

२७ प्रदेशसभा सदस्य भएको एमाले दोस्रो ठूलो दल हो । त्यसैले मुख्यमन्त्रीमा आफ्नो दाबी स्वभाविक भएको एमाले संसदीय दलका नेता थपलिया बताउँछन् । उनले अघि भने, ‘सरकार गठनका लागि यहाँबाट गर्नुपर्ने प्रयास गरिरहेका छौं । सहमतिमै बागमती प्रदेशमा एमालेकै नेतृत्वमा सरकार बन्छ ।’

माओवादी केन्द्रका संसदीय दलका नेता जमकट्टेल भने सरकार निर्माणमा आफ्नो पार्टीको महत्वपूर्ण भूमिका हुने भएकाले आफ्नै नेतृत्वमा सरकार गठन बन्ने दाबी गर्छन् ।

उनले भने, ‘आन्तरिक मामिला र आर्र्थिक मामिलामन्त्री भएर काम गरिसकेको छु । सरकार सञ्चालनको अनुभव र केही नयाँ राम्रो काम गरौं भन्नका निमित्त म यसपटक मुख्यमन्त्री बन्न चाहन्छु ।’

विगतमा प्रदेश सरकारको नेतृत्वमा एमालेलाई सघाएकाले पनि यो पटक आफूहरुलाई छाड्नुपर्ने उनको तर्क छ ।

एमाले र माओवादी मिलेर मात्र बागमतीमा सरकार बन्दैन, बहुमतका लागि राप्रपाको समर्थन अनिवार्य जस्तै भएको छ । त्यसैले राप्रपाले अरु प्रदेशमा समर्थन गर्ने गरी बागमतीमा सरकारको नेतृत्व आफ्नो दलले पाउनुपर्ने दाबी गरेको छ ।

‘सातवटा प्रदेशमध्ये चार वटामा हामीले समर्थन नगर्ने हो भने सरकार बन्दैन । त्यसमध्ये हाम्रो दाबी बागमतीमा मात्र हो,’ राप्रपा बागमती प्रदेशका संसदीय दलका नेता उद्धव थापा भन्छन्, ‘केन्द्रीय सरकार कसरी बन्यो बिर्सने र हामी मात्र हौं भन्न थाल्नुभयो भने त कुरा मिल्ला र ?’

दलहरुको आ–आफ्नो दाबी भए पनि मुख्यमन्त्री को भन्ने चाहिँ केन्द्रमा बन्ने सहमतिमा निर्भर हुने तीनै आकांक्षी बताउँछन् । ‘समीकरण निर्माण केन्द्रबाट भएकाले केन्द्रको निर्णयलाई कुरेका छौं,’ एमाले संसदीय दलका नेता थपलियाले अनलाइनखबरसँग भने्, ‘पुस महिनाभित्र बागमती प्रदेशले नयाँ सरकार पाउनेछ ।’

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार