नमूना आवासीय विद्यालय बनाउने योजना अलपत्र

म्याग्दी । नमूना आवासीय विद्यालय बनाउने योजना अलपत्र परेका छन्  । गण्डकी प्रदेश सरकारले धवलागिरि गाउँपालिका–७ सिवाङमा रहेको हेम माध्यमिक विद्यालय र अन्नपूर्ण गाउँपालिका–५ शिखमा रहेको शिख माविलाई नमूना आवासीय विद्यालयका लागि छनोट गरी पूर्वाधार निर्माण सुरुआत गरेको थियो ।

छनोटमा परेदेखि नै विद्यालयमा अस्थायी पूर्वाधारमा आवासीय सुविधासहितको पठनपाठन सुरु गरिएको भए पनि भवन निर्माण योजनाले पूर्णता नपाएपछि आवासीय विद्यालय कार्यक्रम नै प्रभावित बनेको छ । भवन निर्माणको आधा कामसमेत नभएको र यस वर्ष आवश्यक पर्ने बजेटमा समेत भारी कटौती भएको शिख माविका प्रधानाध्यापक केदार कार्कीले जानकारी दिए ।

“गत वर्ष बजेट र ठेक्का प्रक्रियामा भएको ढिलाइले समयमै काम हुन सकेन, योजनाको म्याद थप नहुँदा विनियोजित बजेटको ठूलो हिस्सा फिर्ता भयो, यो वर्ष बजेटमा भारी कटौती भएपछि भवन निर्माण योजना अलपत्र पर्ने देखिएको छ, यसबारेमा गाउँपालिका र प्रदेश सरकारको समेत ध्यानाकर्षण गराइसकेका छौँ”, उनले बताए ।गत वर्ष रु दुई करोड बजेटबाट काम सुरु भए पनि २० प्रतिशत मात्रै काम भएको छ । पहिलो तला ढलान भएको छ । भवनको अन्य केही काम भएको छैन । निर्माणाधीन भवनको माथितर्फ संरक्षण नभएकाले पहिरो खस्ने जोखिमसमेत बढेको छ । पहिलो वर्ष प्रदेशको रु ६० लाख र गाउँपालिकाको रु ५० लाख बजेटबाट एउटा भवन निर्माण भएको छ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार