खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजनाको स्थानीयबासीद्धारा विरोध

१८ पुस, काठमाडौं । खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजनाको विरोधमा स्थानीयबासी र संरक्षण अभियान्ताहरु आन्दोलित भएका छन् । टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गर्दै दबावमुलक अभियान चलाइरहेका स्थानीयले आज काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

सोमबार खुलामञ्चमा भूमिगत पार्किङ नबनाउन र त्यसलाई खुला पहुँचमा राख्न माग गर्दै स्थानीयहरु महानगरपालिको गेटमा धर्ना दिन पुगेका हुन् ।

 

सम्पदाप्रेमीहरुले नागरिकस्तरबाट ‘अकुपाई टुँडिखेल’ अभियान चलाउँदै आएका छन् ।

सोही अभियान अन्तर्गत आज बिहान महानगरपालिका कार्यालय अगाडि मानव सांग्लो बनाएर प्रदर्शन गरिएको हो ।

 

स्थानीयहरूले काठमाडौं महानगरपालिका मेयर बालन्द्र साह बालेन र उपमेयर सुनिता डंगोललाई भेटेर ज्ञापनपत्र पनि दिंदैछन् । यसअघि उनीहरुले सार्वजनिक रुपमा नै योजनामा अघि नबढ्न महानगरपालिकालाई चेतावनी दिंदै आएका थिए । तर, महानगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन बनाइछाड्ने जनाएपछि आन्दोलन सुरु भएको हो ।

काठमाडौं महानगरपालिका काठमाडौंकै ‘फोक्सो’ भनिने टुँडिखेलको खुलामञ्चभित्र तीनतले भूमिगत पार्किङ बनाउने योजनामा अगाडि बढेको छ । नगरविकास कोषलाई अध्ययनको जिम्मेवारी दिएको महानगरपालिकाले यो योजनाबारे स्थानीयस्तरमा कुनै छलफल चलाएको छैन ।

महानगरपालिकाको यो योजनाले भित्री शहरका जनताले सास फेर्न, कुलपूजा र भोज तथा आम जनताले राजनीतिक कार्यक्रम गर्न जनताले नै जोगाएको खुलामञ्चको अस्तित्वलाई नै जोखिममा पारेको छ ।
महानगरले गुपचुप रूपमा योजना अगाडि बढाएपछि शहरी यातायात विज्ञहरूले यसबारे स्पष्टीकरण मागेका छन् । तर, मेयर साहले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार