‘उडान’काे सफल अवतरण 

बालबालिका, अभिभावक, शिक्षकलगायतले पढ्नैपर्ने किताब

साहित्यमा सबैभन्दा धेरै पाठकलाई आकर्षित गर्ने विधा हो आख्यान । नेपाली साहित्यको मूलधार कविता भए पनि पुस्तक बिक्रीका हिसाबले हेर्ने हो भने कथा र उपन्यासलाई लिन सकिन्छ । स्तरीय कथा वा उपन्यास प्रकाशित हुँदा पाठकले खोजीखोजी पढ्ने गरेको यथार्थ छ । यद्यपि सिर्जनागत दृष्टिले उपन्यास विधा जति उर्वर हुनुपर्ने हो त्यति हुन सकेको छैन । कम्तिमा हातका औँलाले गन्न मिल्ने गरी स्तरीय उपन्यास प्रकाशित हुन सकेका छैनन् पछिल्लो समयमा । च्याउ उम्रेसरी पुस्तक प्रकाशन भए पनि खासै स्वादिला खालका भेटिएका छैनन् । कताकता कोक्याउने पिँडालुजस्ता पनि छन् कुनै कुनै त ।

उपन्यास उडान फक्रँदो कोपिलाहरुको समष्टि रुप हो, माथि माथि उड्न चाहने बचेराहरुको अनुभूति हो । चाहना हो । अभिव्यक्ति हो । मनोविज्ञान हो । समाजको प्रतिबिम्बित छाया हो ।

भर्खर पखेटा पलाउन लागेका स्कुले केटाकेटीहरुको कथा हो उडान । यस कथामा आकर्षणको उच्चतम बिन्दु प्रेमलाई, समाजलाई, गरिबीलाई, बाध्यतालाई, रमाइलोलाई, आफ्नो मनको कुटिल चाहनालाई देखाउन खोजिएको छ । प्रेमको बिन्दु जबसम्म स्थिर रहन्छ, भावनात्मक सम्बन्ध अर्थात प्रेमको टुसा पलाउन खोज्छ भन्ने हिसाबमा यो कृतिको उदय भएको होकि भन्ने लाग्छ मलाई ।

बाल र किशोरसाहित्य लेखनमा कलम चलाउन औधी मन पराउने विजय सापकोटा एक कथाकार, कवि, लेखक, निबन्धकार तथा उपन्यासकार हुन् । सापकोटाले केही समय शिक्षण र पत्रकारितालाई पनि अङ्गालेका थिए । हाल उनी बाल उदय मासिक पत्रिकामा आवद्ध छन् । उनका गाउँ खोज्दै जाँदा, काभ्रेली नेपाली साहित्यको रुपरेखा, अनावरण र आमाको माया गरी चार पुस्तक प्रकाशित भएका छन् भने यो उनको पाँचौं पुस्तक उडान उपन्यास हो ।

उपन्यासकार विजय सापकोटा

उनले यस उपन्यासमा बालबालिकाको उमेरमा हुने मनोवैज्ञानिक समस्या, भावना, सामाजिक यथार्थ, सांस्कृतिक अवस्था तथा शैक्षिक अवस्थालाई निकै सूक्ष्म तरिकाले केलाउने प्रयास गरेका छन् ।

उपन्यासकार विजय सापकोटाले यो उपन्यासमा केही पात्रलाई उठाएका छन्, जो आधुनिक प्रेम जीवनको, सामाजिक अवस्थाको, शिक्षकको अवस्थाको प्रतिनिधि पात्र हुन् । मीठा सपना बोक्छन्, दिउँसै सपना बुन्न सिपालु हुन्छन्, कति पूरा गर्छन् त कति पूरा गर्न सक्दैनन् । कतिले धोका खान्छन् त कतिले पुरस्कार पनि पाउँछन् भन्ने कुरालाई उजागर गर्न खोजेका छन् उपन्यासकारले ।

“हामी यो स्कुलमा प्रायः चारपाँच कक्षादेखि नै पढिरहेका छौँ । आजसम्म कुनै वर्ष ९÷१० कक्षामा पढाउन कुनै मिस आउनुभएको छ ?” सुशान्तजस्ता विद्यालयका केही प्रतिनिधि पात्रहरुको यस्ता कुराले केको सङ्केत गराउन खोज्छ भने नारी शिक्षकहरुले मावि तहमा पढाउनै सक्दैनन् भन्ने कुरालाई औल्याएको देखिन्छ तर त्यही शिक्षकले पछि आमूल परिवर्तन ल्याएको छर्लङ्गै देखिन्छ उपन्यासको पहिलो कथा नयाँ शिक्षकबाट । अझ नयाँ शिक्षक आउँदा हेर्ने नकारात्मक तथा सकारात्मक दृष्टिकोणलाई पनि उपन्यासकारले पहिलो कथाबाटै बालबालिकाको मष्तिस्कमा उठेका प्रश्नहरुको उडान गराएका छन् ।

“तिमीलाई थाहै छ, मेरो त घर पुग्नै एक घण्टा लाग्छ । घरमा काम पनि सघाउनु पर्छ । फेरि आजकाल बुबा विरामी हुनुहुन्छ । अलिअलि त पढ्नु पनि प¥यो ।” यो दोस्रो कथाले हाम्रो समाजमा अझै गाउँ गाउँमा शिक्षाको पहुँच पुग्न धेरै कठिन भएको कुरालाई देखाउँदै घरको आर्थिक अवस्थाको विकराल स्थिति हुँदाहुँदै पनि विद्यालय जान मन गर्नु सकारात्मक पाटो देखाइएको छ । टाढा पढ्न जानु पर्ने बाध्यता, घरमा काम गर्ने मान्छे नहुँदा खान समस्या जस्ता जटिल सामाजिक कुराहरुलाई पनि उपन्यासकारले बडो कुशलतापूर्वक प्रस्तुत गरेका छन् ।

“हैन आजकालका केटाकेटीलाई कति चाँडै बैंस आउँदोरहेछ । बाटोघाटोमा मतलबै गर्न छाडे । अब त स्कुलकै बेन्चीमा फुतुफुतु बच्चा झार्न बेर नलगाऊन् भन्न सकिन्न आजकालका केटाकेटीले ।”
विद्यार्थीहरु विद्यालयबाट घर फर्कँदा केही पँधेरो गफ गर्ने महिला पात्रहरुको जमात पनि अझ जीवित नै छ भन्ने कुरा समेटेर पनि उपन्यासकारले शिल्प थपेका छन् ।

फाेटाे: अमृत कुमार लामिछाने

यात्रा भयौ अनन्तको बाटो हेर्दै बसेँ
थाहा छ फर्की आउन्नौ मोड ढुक्दै बसेँ
तिमी जसै उठिगयौ संसार मेरो उजाडियो
तैपनि कुन लालसाले प्रेमको फूल गोड्दै बसेँ

यी हरफहरु गरिमाले पढ्न लागेका उपन्यासका हुन् । किशोर उमेरमा प्रेमसँग सम्बन्धित पुस्तकहरु प्रशस्त अध्ययन गर्न मन लाग्छ भन्ने कुरालाई उजागर गर्न खोजेका छन् उपन्यासकारले । कसैले एकोहोरो मन पराइरहँदा यस्ता खालका पुस्तकहरु पढ्न औधी मन लाग्नु कुनै आश्चर्य कुरा होइन । मनमा खुल्दुली आउनु स्वभाविक कुरा हो । यस्ता खालका पुस्तकहरुले प्रेमको टुसालाई मलजल गर्ने काम गरेको हुन्छ । किशोरवयमा यस्तो विपरीत लिङ्गीप्रति आकर्षित हुनु स्वभाविक प्रक्रिया मानेका छन् कतिपय मनोवैज्ञानिकहरुले । उपन्यास पढिरहँदा गरिमाले कतिपय ठाउँमा त्यहाँका पात्रसँग आफ्नो तुलना गर्थिन् । यस्ता घटनाहरु हाम्रो समाजमा व्यापक रुपमा विकराल समस्याको रुपमा आएको कुरालाई पनि प्रस्तुत गर्दै सहज समाधानको पनि खोजी गरेका छन् उपन्यासकारले ।

के भयो गरिमा ?
हेर न मेरो पेन्टीमा रगत छ ।
ला, हो र ? मिन्स भयौ जस्तो छ तिमी त ।
यो अंश नयाँ अनुभवको हो । यसमा गरिमाको मनमा अर्कै किसिमको भाव सञ्चार हुन्छ । उसलाई लाज लाग्छ । ल ल अब तँ पनि तरुनी भइस् भनेर सम्पदाले जिस्काउँदा गरिमा लाजले भुतुक्कै हुन्छे ।

महिनावारी प्राकृतिक नियम हो । महिनावारी भनेको शारीरिक परिवर्तनमध्येको एक परिवर्तन हो । महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया हो र महिनावारी हुनु भनेको एउटी केटी हरेक महिना गर्भवती हुन तयार हुने सङ्केत हो । यो भएन भने महिलाहरु आमा बन्न सक्दैनन् भन्ने जस्ता सामाजिक कुराहरुलाई पनि उजागर गर्दै उपन्यासकारले यो समय विद्यालयीय उमेरमा हुने हुँदा यस्ता कुरामा सबै सचेत हुनुपर्छ भन्ने सङ्केत पनि गरेका छन् ।

“तँलाई ……., तेरो औकात के छ र यत्रो हिम्मत गरिस् ? उपाध्ये बाउनकी छोरीलाई ताकेर हिँडने ? बिगार्न खोज्ने ?” यो किरण परियारको अंश हो । यसले समाजमा तल्लो जात भनेर हेप्ने परिपाटी अझै पनि जीवित रहेको देखाउँछ । उपाध्ये भन्नेहरु आफैँ त्यही तल्लो जातले बनाएका मदिरामा रम्न व्यस्त हुन्छन् तर त्यही व्यक्तिलाई हेर्ने दृष्टिकोणमा कहिल्यै परिवर्तन ल्याउन सकेका छैनन् ।

“होइन आजकाल कसले लभ गर्दैन ? केटाकेटीको कुरामा यसरी बाउआमा दाजुभाइ घरबाटै आएर थर्काउन मिल्छ ? फेरि यसमा किरणको मात्रै कुरा हुन्छ ? त्यो शिलाको पनि उत्तिकै रोल छ नि । उसैले त हो सबैभन्दा पहिले परपोज गरेको ।” यसरी शिलाको कुरालाई लिएर सबैजनाले किरणमाथि साङ्घातिक आक्रमण गर्नु नाजायज कुरा हो भनेर पछि पुलिस प्रशासन लगाएर माफी मगाएका छन् उपन्यासकारले । गल्ती गरेर माफी माग्नु भन्दा गल्ती नै नगर्नु राम्रो हो नि । कुनै कुरा आवेगमा आएर गर्ने अनि पछि पछुताउने यस्तो परिपाटीको अन्त्य नभएसम्म सबैले सबैलाई हेर्ने नजर बराबर हुँदैन । समाजमा दलितलाई हेर्ने नजरमा कमी नआउनु जनचेतनाको कमी देखिन्छ ।

“मूर्ख केटी तैँले मलाई डुबाइस् । तेरो कारणले मेरो पचासाँै हजार रुपियाँ डुब्यो , म तेरो घरमा आएर तेरो बाउसित यो सबै पैसा असुली गर्नेछु । तैँले के सम्झेकी छस् हँ आफूलाई । तेरा पोज पोजका फोटाहरु मसित छन् । तेरो फेसबुकको पासवर्ड युजरनेम पनि । म तेरो फोटो एमिनेसन गरी नाङ्गो बनाएर सबै पोष्ट गरिदिन्छु । तँलाई म त्यसै कहाँ छाड्छु र ।” सामाजिक सञ्जाल चलाउँदा अरुलाई बढी विश्वास गर्दा सम्पदाले यो हर्कतको सामना गर्नुपरेको थियो । अरुलाई फेसबुकको पासवर्ड दिँदा अरुले फाइदा उठाउने कुरामा उपन्यासकारले सचेत हुन आग्रह गरेको देखिन्छ ।

समग्रमा उपन्यासकी मूल पात्र गरिमाको दैनिकी लाग्ने उपन्यासमा विभिन्न पात्रहरू थपिन्छन् । सम्पदाको धोकादेखि प्रणवको अङ्गालोसम्म पुग्न पाठकले रमाइला, नरमाइला किस्सेदार लाइनहरूलाई पार गर्नै पर्छ । उपन्यास पढ्दै गर्दा सँगै हिँड्न, दौडिन, गुड्न, उड्न सकिन्छ । किनकि यो उपन्यासका पात्रहरु कतिपय अवस्थामा आफैँ हुँ कि जस्तो पनि भान हुन्छ उपन्यास पढ्दा समयमा । गरिमा, सरोज, सुशान्त, कविता मिस, किरण, सम्पदा र शिलाको वास्तविक कथा हो उडान । उनीहरुले भोगेका कुराहरु यथार्थ लाग्छन् । आफ्नै लाग्छन् । हाम्रो समाजकै लाग्छ । वास्तविक लाग्ने पात्रको निर्माणमा लेखकको क्षमतालाई कदर गर्नैपर्छ ।

सरोजसँगको वियोगमा तड्पिएकी गरिमाले र सम्पदाले विक्रमसँगको सम्बन्धपछि आफूलाई सम्हाल्न सक्नु उपन्यासकारको न्यायिक पक्ष हो ।

सम्पदाले प्रेम प्रसङ्गको कुरा गरिहँदा गरिमालाई सरोजसँग प्रेम गरेर डुबुल्की मार्न खोज्नु विद्यालयीय उमेरका आम बालबालिकाको चाहनालाई केलाउँदै पछि उनीहरुले आफूलाई ब्ल्याक मेल गर्न समेत पछि पर्दैनन् भनेर सम्पदाको ब्वाइफ्रेन्डले गरेको कुराबाट पनि सचेतसमेत गराउन भ्याएका छन् उपन्यासकारले ।

सरोजलाई प्रेम प्रस्ताव गरिमाले राख्दा पनि यो हाम्रो पढ्ने उमेर हो । हाम्रो लक्ष्य धेरै ठूलो छ । यस्ता कुरामा हामी अल्झियौँ भने भोलिका दिनमा कसरी सफलता पाउन सक्छौँ भन्ने कुराबाट के स्पष्ट हुन्छ भने विपरीत लिङ्गीप्रति आकर्षित हुनु स्वभाविक हो र त्यसलाई सहजै पार लगााउन सक्नु एक असल विद्यार्थीको गुण हो भन्ने सन्दर्भ पनि उपन्यासकारले बडो शिल्पसाथ पस्केका छन् ।

यस उपन्यासमा अर्काले लगाएको लुगा आफूलाई पनि लगाउन मन लाग्नु, अरुले खाएकोजस्तै आफ्नो घरमा नभएपनि खान मन लाग्नु, अरुले अर्कासँग गरेको प्रेमको वार्तालाप आफूले पनि प्रेम गरेर जोडी ढुकुरझैँ एकान्तमा मिठामिठा सपनाको डोरी बुन्नुजस्ता कुराहरुलाई बढो कौतुहलपूर्वक प्रस्तुत गर्न सफल भएका छन् उपन्यासकार ।

आँधीहुरीलाई झैँ सम्हाल्न गाह्रो तर सम्हालिसकेपछि फूलजस्तै सुवासिलो लाग्ने उमेर हो विद्यालयीय उमेर । पहाडलाई अँगाल्न गाह्रो भएतापनि हनुमानकोजस्तो जोश जाँगरले जुरुक्कै पार्ने उमेर न हो विद्यालयीय उमेर । बादलझँै उडेका सपनालाई कपास सम्झिएर धागो बनाउने अनि बारबार बुन्ने र उधार्ने उमेर न हो विद्यालयीय उमेर । आफ्नै तन र मनलाई मन परेको मानिसले हेर्दासम्म पनि आनन्द लाग्ने उमेर हो विद्यालयीय उमेर । असम्भव जस्तै लाग्ने कल्पनाका डोरीलाई सम्भावनाको मरूभूमिमा स्वर्गीय सपना देख्दै बाट्न तम्सिने उमेर हो विद्यालयीय उमेर । जीवनमा सही यात्राको पहिचान गरी यात्रा तय गर्न सके शिखरलाई चुम्न सक्ने तथा गलत यात्राको सवारीमा परे शूलीको पनि वास हुन सक्ने उमेर हो विद्यालयीय उमेर । दुवै गन्तव्यमा सफल वा असफल अवतरण गराउने उमेर पनि हो यो आखिर ।

 

लेखक/समीक्षक सिएम रिमाल

सामान्य रूपमा विश्वभरि नै १३ देखि १९ वर्षको आयु वर्गलाई किशोरावस्थाको उमेर भनेर परिभाषित गरिन्छ । यो वाल्यावस्थाबाट युवावस्थामा स्थानान्तरणको सङक्रमणकालको अवस्थासमेत हो । नेपालको कुल जनसङख्याको करिब एकचौथाई भाग किशोरले ओगटेका छन्, यस्तो गम्भीर उमेर समूहमा किशोरहरू कुलतमा लाग्न सक्छन् वा उमेरका कारण आउने विविध प्रभावका कारण बाटो बिराउन सक्छन् भन्ने चिन्ता साहित्यकार सापकोटाको पाइन्छ । त्यसै कारणले किशोरावस्था उमेर भएका सबैले बेलैमा सचेत हुने हो भने कुनै किसिमको दुर्घटना नआउने कुरामा उपन्यासकार विश्वस्त छन् ।

अधिकांश किशोरावस्थाका विद्यार्थीहरु आफ्नो शारीरिक बदलाव विशेष गरेर मानसिक र यौन स्वास्थ्यको विषयमा अनभिज्ञ रहन्छन् । किशोरावस्था शिक्षाको प्रमाणिक एवम् वैज्ञानिक जानकारीको अभावमा उनीहरू विभिन्न किसिमको भ्रम एवम् गलत धारणाको शिकार बन्न पुग्छन् भन्ने कुरा सम्पदाको कुरैबाट स्पस्ट पार्न खोजेका छन् उपन्यासकारले ।

उनीहरूमा स्वाभिमान, आत्मविश्वास, निर्णय लिन सक्ने क्षमता एवम् आफ्ना समस्यासँंग जुझ्ने जस्ता जीवन, कौशलसम्बन्धी सीपको कमीका कारणले अनेक प्रकारको शोषणको सहज रूपमा सिकार बन्ने गर्छन् भन्ने कुरालाई माथि उठाउन उपन्यासकारले कविता मिस र नवीन सरको भूमिका निकै महत्त्वपूर्ण भएको देखाएका छन् ।

विद्यालयीय उमेरमा शिला र किरणले विवाह गर्दा पछुताउनुको विकल्प नभएको तथा जातभातको निहुँमा विपन्न किरणको परिवारलाई हेप्ने गरेको यो निकृष्ट समाजलाई उपन्यासकारले नाङ्गेझार पारेका छन् ।

फिल्मी लाइनमा लगाइदिन्छु भन्दै विक्रमजस्ता फसाउने दुष्ट प्रतिनिधि पात्रहरुलाई पनि यो उपन्यासले दह्रो झापड हानेको छ ।

गरिमा, सरोज, सुशान्त, सम्पदा, कविता मिस यस उडानका प्रतिनिधि पात्र मात्र हुन् । प्रेमपछिको वियोगको स्वादबाट कमै वञ्चित छन् । कसैले धोका दिँदैमा जिन्दगी समाप्त हुँदैन्, केही राम्रो हुनका लागि भएको हुनसक्छ । बिछोडपछिको सुन्दर जीवनलाई गरिमा र सम्पदाले सङ्घर्षका दिनहरु गुजारे पनि मनको उडानलाई सचेत र होसियारीपूर्वक अवतरण गराउन सफल भएका छन् ।

अर्काले प्रेम गरेको देखेर प्रेम गर्न खोज्ने, पढाइलाई महत्व सम्झने, विद्यार्थीलाई असल मार्ग देखाउने दक्ष शिक्षकको खुराक हो यो उडान उपन्यास ।

नेपाली आधुनिक समाजका विद्यालयीय उमेरका युवाहरूको बाल तथा मनोरञ्जनात्मक मनस्थितिलाई चित्रण गर्न खोजिएको यो उडान उपन्यास सरल भाषामा, सरल तरिकाको प्रस्तुति रहेको उपन्यास हो । वास्तविक विषयवस्तुमा आधारित उपन्यास पठनीय छ । १८ वटा कथामा विभाजित २४५ पृष्ठ लामो उपन्यास पढ्दै गर्दा पाठकले रोकिने र बोर मान्ने क्षण पटक्कै आउदैन । उत्सुकता सँगै कथाले बिट मार्छ । उपन्यासको न्यायिक अन्त्य स्वभाविक छ ।

यस पुस्तकले टीनएज भनिने १३ देखि १९ वर्ष उमेर समूहले अनुभव गर्ने शारीरिक, सामाजिक र मानसिक परिवर्तनको कथा बोकेको छ । यस पुस्तक मार्फत दिन खोजेको मुख्य सन्देश भनेको १३–१९ वर्ष उमेर समूहका किशोर किशोरीहरु सामान्यतया गम्भीर हुँदैनन् तर यो नै जीवनको सबैभन्दा गम्भीर उमेर हो भनेर उपन्यासकार विजय सापकोटाले आफ्नो उडानमार्फत सफल अवतरण गराएका छन् ।

किशोर उपन्यास भइकन पनि बालबालिका, अभिभावक, शिक्षकलगायतले पढ्नैपर्ने किताब हो उडान ।

कृति : उडान
विधा : उपन्यास
प्रकाशक : शाब्दिक बुक्स
पृष्ठ : २४५
मूल्य : रु. ३५५

 

उडान गीत सुन्नुहाेस्:

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार