कविता : पृथकताको प्रभाव

उर्मिला कोइराला

जीवनको यो नदी
र बगाइको प्रवाह
छाल पनि र गति पनि ।

पुस्तापुस्ता देखेको छु
हजुरबा देखेको छु
बा देखेको छु
बाको पुस्ता देखेको छु
भोगेको छु मेरै पुस्ता
र कल्पेको छु सपनाको नदी
तर कहीँ कतै पुल छैन ।

सपनाको नदी र विपनाको पुलबीच
तर्न कठिन छ जीवनको यो खोला ।

हरेक बिहान
उही र उस्तै आशाका किरणहरू
हरेक साँझ
उही र उस्तै अभाव र पीडाहरू
हरदिनको समस्या पहाड बनेर उभिन्छ आँखामा ।

आँसुले नभिज्ने त्यो पहाडमा त
एक झुल्को घामसम्म लाग्दैन
समय भन्छ –
म कुन उज्यालोको अनुभूति सँगालू र मुस्कुराऊँ ?

अन्तरविरोध छ आफैँसँग
विरोधाभाष छ आफैँभित्र
विरोधाभाषमै चलेको छ जीवनको रथ
अस्थिर रथको यात्राले
कसरी दिन्छ स्थायीयात्रा
देशले खोजेको शान्ति र स्थायित्वको जग मै हुँ ।

म अस्थिर हुनुको परिणति देशको मुहारमा देखिन्छ
म अमिलो देश देख्न चाहन्न !

समय भीडहरूमा एक्लै छ
र भीड पनि भीड आफैँमा एक्लो छ
एक्लो यात्राले कसरी गर्न सक्छ समूहको नेतृत्व ?

समयको यो खण्ड
समयकै परीक्षामा छ
म हारूँ देश नहारोस्
देश नहार्ने सूत्र हो
पृथकताको सम्मान
र पृथकतामा एकता
तर त्यस्तो देखिरहेको छैन मैले ।

बोली धेरै सुनेँ, सुन्नु सुनेँ
अब म बोल्नेहरूको बोलीको प्रभाव
कर्मको आँगनमा पर्खिरहेको छु ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार