चाडबाड घरमै मनाउनू’

बागलुङ । पन्ध दिनअघि यहाँ लागू गरिएको निषेधाज्ञा आजदेखि खुकुलो पारिएको छ। गए मध्यरातसम्म अत्यावश्यकबाहेक सबै सेवा बन्द थिए । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले अबदेखि हरेक बिहान ७ देखि साँझ ६ बजेसम्म सबै खाले पसल, व्यवसाय, बैंक तथा वित्तीय संस्था खोल्न पाइने निर्णय गरेको हो ।

स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्दै छोटो तथा लामो दूरीका यातायात सेवा पनि सञ्चालन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए । पार्टी प्यालेस, चलचित्र घर, तालिम केन्द्र, खेलकुदस्थल, जिमखाना, सैलुन, फुटपाथ, पसललगायत भीडभाड हुने व्यवसाय र क्रियाकलापमा अझै पनि रोक लगाइएको छ। तीजलगायत चाडबाड भीड नगरी आफ्नै घरमा मात्र मनाउन आग्रह गरिएको छ ।

विवाह तथा संस्कारजन्य कार्यक्रमलाई पनि घरमै सीमित गर्न भनिएको छ। पार्टी प्यालेसमै सञ्चालन गर्नुपर्ने अवस्थामा एक पक्षको बढीमा सातजना मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ। समूहगतरुपमा हुने भोज, रत्यौली, बाजागाजा, झाँकी र नाच पनि प्रदर्शन गर्न नपाइने भएको छ। सरकारी कार्यालय नियमित खुल्ने भएका छन् ।

जिल्ला प्रशासन, मालपोत र नापी कार्यालयले भने स्थानीय तहका सेवाग्राहीलाई ठाउँअनुसार आलोपालो गरी सेवा प्रवाह गर्ने भएका छन्। आवासीय होटल, रेष्टुराँ, चिया तथा खाजा पसल पनि स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न पाइने भएको छ। धार्मिकस्थलमा नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्न अनुरोध गरिएको छ। अत्यावश्यक काम नपरी घर बाहिर हिँडडुल नगर्न र जानै परे स्वास्थ्य सुरक्षा अपनाउन भनिएको छ ।

प्रजिअ कार्कीले स्वस्थ्यसम्बन्धी नियम र मापदण्ड पालना गराउन कडाइका साथ अनुगमन गरिने बताए। सङ्क्रमण रोक्न जिल्लामा गत वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी छ। कोरोना सङ्क्रमित बढ्दा निषेधाज्ञा कडा र घट्दा खुकुलो पार्ने गरिएकाले पछिल्ला दिन यहाँ सङ्क्रमितको सङ्ख्या घट्दो क्रममा छ ।

स्वास्थ्य कार्यालयअनुसार अहिले सक्रिय सङ्क्रमित ३४८ रहेकामा दुई साताअघि ७०० नाघेको थियो। जिल्लामा कूल सात हजार ४२९ मा कोरोना पुष्टि भएकामा हालसम्म ६५ जनाको मृत्यु भइसकेको छ।

–  रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार