चौथो विश्व संस्कृत दिवस मनाउन समिति गठन

काठमाडौँ । चौथो विश्व संस्कृत दिवस मनाउन मूल समारोह गर्ने गरी निर्देशन समिति र कार्यकारी परिषद् गठन गरिएको छ ।

जरोकिलो प्रतिष्ठानका सङ्कल्पकर्ता डा निर्मलमणि अधिकारीको संयोजकत्वमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा यादवप्रकाश लामिछाने, त्रिभुवन विश्वविद्यालय संस्कृत केन्द्रीय विभागका प्रमुख प्राडा नारायणप्रसाद गौतम, सनातन धर्म महासङ्घका उपाध्यक्ष सहप्राडा माधवप्रसाद पाण्डेय र जयतु संस्कृतम् संस्थाका महासचिव नवराज कट्टेल रहेको निर्देशन समिति गठन गरिएको छ ।

यसैगरी, जरोकिलो प्रतिष्ठानका उपाध्यक्ष डा माधवशरण उपाध्यायको संयोजकत्वमा सबै संस्थाका प्रतिनिधि सदस्य रहेको कार्यकारी परिषद् गठन गरिएको जनाइएको छ। परिषद्को सदस्यसचिवमा गोविन्द घिमिरे र सदस्यहरुमा रोहिणी तिमल्सिना, सरस्वती चौलागाईं, गार्गी चौलागाइँलगायत ११ सदस्य रहेको संयोजक अधिकारीले जानकारी दिए ।

यस वर्ष नेपाल, अमेरिका र बेलायतका आठवटा संस्था मिलेर चौथो विश्व संस्कृत दिवस मनाउन लागिएको हो। समितिले श्रावण शुक्ल पूर्णिमाका दिन भदौ ६ गते विश्व संस्कृत दिवसका अवसरमा वाल्मीकि विद्यापीठमा कार्यपत्रसहितको अन्तरक्रिया कार्यक्रम आयोजना गर्दैछ। भौतिक रुपमा २५ जना जम्मा भई गरिने कार्यक्रममा इच्छुक जति जुम प्रविधिबाट जोडिन सक्ने समिति संयोजक अधिकारीले जानकारी दिए ।

कार्यक्रममा उपाध्यायले ‘संस्कृत भाषाको वर्तमान स्थिति’ र काठमाडौँ विश्वविद्यालयका सहप्राडा अजय रिसालले ‘मनोचिकित्सामा संस्कृत’ विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन्। दिवस मनाउन अमेरिकाका दुई संस्था सहृदयता इन्टरनेशनल र विश्व भूटानी हिन्दू सङ्गठन र बेलायतको नेपाली हिन्दू फोरम पनि सहभागी भएका छन् ।

चौथो विश्व संस्कृत दिवसको प्रमुख अतिथिका रुपमा सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयका कुलपति प्राडा राजाराम शुक्ललाई निमन्त्रणा गरिएको छ। प्रतिष्ठानको नेतृत्वमा विसं २०७५ देखि विश्व संस्कृत दिवस मनाउन थालिएको हो। दिवसलाई संयुक्त राष्ट्र सङ्घबाट घोषणा गराई अन्तर्राष्ट्रिय मान्यता दिलाउने अभियानमा पनि प्रतिष्ठान लागेको छ। राष्ट्र सङ्घमा यससम्बन्धी प्रस्ताव नेपालले राख्नुपर्ने माग राख्दै संस्कृत क्षेत्रमा कार्यरत विश्वविद्यालय, विभाग एवं संस्थाले अभियान चलाउँदै आएका छन् ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार