बाख्रा फार्म सञ्चालनपछि गाउँमा नै रोजगारी

बनेपा। बेथानचोक गाउँपालिका–४ पाटीखर्कस्थित हात्तीडोलका सरला कोइराला आफ्नो घरको बिहान–बेलुकाको घरधन्दा सकेर नजिकै रहेको बाख्रा फार्ममा काम गर्छन् । बिहान–बेलुका घरको काम पनि गर्न पाउने र दिनभरि बाख्रा फार्ममा काम गरेर आम्दानी गर्न पाइने भएपछि कोइरालाको परिवार निकै खुसी छन् ।

उनले फार्ममा दिनको आठ घण्टा काम गर्नुपर्छ । त्यसरी काम गरेबापत आफूलाई चित्तबुझ्दो पारिश्रमिक पाएको उनले बताए । “घर नजिकै बाख्रा फार्म सञ्चालन भएर म दैनिक रुपमा काम गर्न थालेको ६ महिना भयो,” उनले भने, “काम गरेअनुसार पारिश्रमिक पनि राम्रो नै पाइरहेको छु, काम पनि ठिकै छ ।”

उनको काम भनेको दैनिक रुपमा घाँस काट्ने, खुवाउने र चराउन लैजाने हो । गाउँमा आएर फार्म खोलेर राम्रो गरेको उनको भनाइ छ । “फार्म सञ्चालन गरेर हामीलाई त गाउँमा नै काम गर्न पाएका छौ,” उनले थपे, “गाउँमा बसिरहेकाहरुलाई रोजगारी मिलेको छ, यस्तै फार्महरु सञ्चालन भएपछि अरू थप विकासका कामहरु पनि सँगसँगै हुने भएकाले गाउँको विकासका लागि पनि धेरै राम्रो भएको छ ।”

उनीसँगै सो फार्ममा उनका श्रीमान् सरोज पनि काम गर्छन्। उनको काम फार्ममा भएका सबैखाले काममा ध्यान दिनु हो । काम गर्ने समय आठ घण्टा भएपनि स्थानीय बासिन्दा नै भएकाले बेलाखबत अन्य काम पनि गरिरहनुपर्ने र भैपरि आउने काममा रेखदेख र सहयोग गर्नु परेको कोइरालाको भनाइ छ ।

सोही फार्ममा सात महिनादेखि काम गर्ने बनेपा नगरपालिका–१२ भैँसेपाटीका उमेश विष्टले सोही फार्ममा काम गर्दै आउनुभएको छ । फार्म सुरु गरेदेखि नै काम गर्दै आएका उनले भने, “सुरु भर्खरै भएकाले उत्पादनभन्दा लगानी बढी देखिएको छ, यसलाई निरन्तर अगाडि बढाउने योजना छ, अरू संरचना बन्दैछन । ”

नजिकैको साथी भएकाले उनकै आग्रहमा त्यहाँ पुगेर काम गर्न थालेको विष्टको भनाइ छ । “त्यसअघि भैँसेपाटीमा नै पसल चलाइरहेकामा त्यसबाट राम्रो आम्दानी नभएर बसिरहेको अवस्थामा यता आएर काम गर्न थालेको हँु,” विष्टले भने, “पसल चलाउनुभन्दा फार्ममा काम गर्नु धेरै फाइदा भइरहेको छ ।”

रातिको समयमा सबै रेखदेख गर्ने काम उनले गर्छन्् । सो फार्ममा अहिले एक सयवटा बाख्रा पालिएको छ । अहिलेका लागि करिब २० वटा स्थानीय जातको बाख्रा, ३० वटा खसी र बाँकी बोयर जातको बाख्रा मात्रै रहेको फार्म रेखदेख गर्ने प्रमुख लक्ष्मण सापकोटाले बतए । विशेषगरी बोयर जातको बाख्रा उत्पादन गरी पालनका लागि बिक्री गर्ने उद्देश्यले सञ्चालन गरेको सो फार्ममा चार सय वटा बाख्रा पुयाएपछि मात्रै बिक्री सुरु गर्ने योजनामा रहेको उनले सुनाए ।

– रासस


फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार