नेपालमै पहिलोपटक स्नातक तहमा खेलकुदको अध्यापन

कास्की ।खेलकुद पर्यटनको शहरका रूपमा स्थापित हुँदै गएको पोखरामा खेलकुद विषयको समेत अब अध्यापन हुने भएको छ । गण्डकी प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयमा यस वर्षदेखि नेपालमै पहिलोपटक स्नातक तहमा चार वर्षे कार्यक्रम ‘ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट’(बिएसएम) को अध्यापन शुरु गर्न लागिएको हो । विश्वविद्यालयले खेलकुद विषय अध्यापनका लागि अहिले भर्ना आह्वान गरिसकेको छ । यही साउन मसान्तसम्म विद्यार्थी भर्ना आवेदनको कार्यक्रम प्रकाशित गरिएको विश्वविद्यालयले जनाएको छ ।प्रदेश सरकारले प्रदेशमा प्राविधिक दक्ष जनशक्ति उत्पादनको लक्ष्यसहित दुई वर्षअघि विश्वविद्यालयको स्थापना गरेपछि यस वर्षदेखि विश्वविद्यालयले आफ्ना शैक्षिक कार्यक्रम अघि बढाएको हो । बिएसएमसहित यस वर्षदेखि ब्याचलर इन इन्फरमेशन टेक्नोलोजी(बिआइटी) को पनि अध्यापन सुरु हुनेछ ।

देशमै पहिलोपटक स्नातक तहमा बिएसएमको चार वर्षे शैक्षिक कार्यक्रममा विद्यार्थीलाई खेलकुदका सैद्धान्तिक विषयसँगै प्रयोगात्मक अध्ययन अध्यापन गराइने विश्वविद्यालयका उपकुलपति प्राडा नवराज देवकोटाले बताए। उनका अनुसार अधिकांश पाठ्यक्रम अन्तर्राष्ट्रिय मापदण्डमा आधारित भएर बनाइएको छ । पाठ्यक्रमममा १० देखि १२ वटा खेलका विषयमा सैद्धान्तिक अध्ययापनसमेत हुने बताइन्छ ।

“नेपालमा अहिलेसम्म स्पोर्ट्समा युवालाई आकर्षण गर्ने कार्यक्रम देशका कुनै पनि विश्वविद्यालयमा नरहेकाले नयाँ सन्देश दिने गरी हामीले सुरुआत गरेका हौँ”, उपकुलपति देवकोटाले भने, “अध्यापनको मुख्य उद्देश्य युवालाई खेलकुद व्यवस्थापक, म्यानेजर, प्रशिक्षक, रेफ्रिसहित खेलकुद कार्यक्रम सञ्चालनमा सक्षम बनाउनु सँगसँगै खेलाडी बन्नसमेत सघाउने छ ।”

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार