संरक्षणको अभावमा म्याग्दीका खानी पुरिन थाले

म्याग्दी । तामा, स्लेट, खरि, चुनढुङ्गा र फलामखानी उपभोग र संरक्षणको अभावमा पुरिन थालेका छन् ।वर्षौंदेखि अलपत्र अवस्थामा रहेका म्याग्दीको जिल्लाको पश्चिमी तथा उत्तरी भेगका लेखाली क्षेत्र स्थित ती बहुमूल्य खानीहरु उत्खनन्को अनुमति नपाउँदा जङ्गलमै पुरिन थालेका ह्न् ।

सङ्घीय सरकारको मातहतमा रहेका खानी तथा भूगर्भ विभागले खानी सञ्चालनको अनुमति नदिँदा स्थानीय तहको बलियो आयस्रोत बन्न सक्ने दर्जनौं खानीहरु जङ्गलका भीर पहरामा त्यतिकै अलपत्र परेका छन् । सम्बन्धित स्थानीय तह र सरोकारवालाले खानी सञ्चालनका विषयमा पटकपटक नेपाल सरकार र सम्बन्धित निकायसँग उत्खनन्को अनुमति माग गर्दा पनि प्राप्त नभएपछि यी खानीहरु ‘भिल्लाका देशका मणी’ जस्तै प्रयोग र महत्वविहीन बनेका छन् ।

जिल्लाका पश्चिमी तथा उत्तरी क्षेत्रमा तामादेखि लिएर नुनसम्मका खानीहरु रहेको पुष्टि भएपनि सम्वन्धित निकायको मौनताले र उत्खनन् सम्बन्धी प्रष्ट नीतिगत व्यवस्थाको अभावमा खानीहरु अलपत्र परेका सरोकारवालाले बताएका छन् । म्याग्दीको मालिका गाउँपालिका–५ ओखरबोटस्थित नेपालकै उत्कृष्ट मानिएको तामाखानी पनि स्पष्ट नीतिको अभावका कारण उत्खनन् गर्न नसकिएको खानीका पूर्वठेकेदार तथा मालिका गाउँपालिका–५ ओखरबोटका वडाध्यक्ष दिलीप शेरचनले बताए । उनका अनुसार जिल्लामा रहेका तामा, स्लेट ९घर छाउने ढुङ्गा०, सिलाजित, खरी, चुनढुङ्गाका खानी वर्षाँैदेखि उत्खनन हुन नसक्दा अलपत्र अवस्थामा छन् भने संरक्षण हुन नसकेपछि पुरिँदै गएका छन् ।

खानीहरूको सम्भाव्यता अध्ययन गर्न सम्बन्धित निकायले चासो देखाएका छैनन् । स्थानीय बूढापाकाका अनुसार ओखरबोट, भकिम्ली, गौश्वारालगायतका ठाउँमा रहेका तामाखानी २०२८ सालसम्म सञ्चालनमा थिए । तत्कालीन सरकारले खानी उत्खनन् गरेबापत लिने कर ९भेजा० तिर्न नसकेपछि सो कार्य बन्द भएको थियो ।

“तत्कालीन सरकारको कर नीतिका कारण हाम्रा पूर्खाले उत्खनन् गर्न छाडेका हुन” मल्कावाङका ७१ वर्षीय दलबहादुर छन्त्यालले बताउनुभयो । साविकका गुर्जा, ताकम, कुइनेमङ्गले, ओखरबोट, मल्कवाङ, भकिम्लीलगायतका गाविसमा करिब २० वटा तामा खानी रहेका छन् । त्यतिखेर उत्खनन्का लागि छन्त्याल समुदायलाई जिम्मेवारी दिइएको थियो । विसं २०६८ को जनगणनाअनुसार नेपालमा छन्त्याल जातीको जनसङ्ख्या एघार हजार रहेको छ।

जङ्गलका बीचमा पहाडभित्र रहेका खानीमा बाहिरबाट ढुङ्गा, हिलो र भल गएर थुप्रिएर पुरिन लागेकामा छन्त्याल समुदाय चिन्तित भएका छन् । खानी खनेर जीविकोपार्जन गर्दै आएका म्याग्दीका विभिन्न ठाउँमा बसोवास गर्ने छन्त्याल समुदाय परम्परागत पेशाबाट विस्थापित भएका छन् । परम्परागत पेसाबाट विस्थापित भएका उनीहरू पछिल्लो समय वैदेशिक रोजगारी र अन्य पेसामा आवद्ध भएका छन् ।

म्याग्दी र बागलुङको बुर्तिवाङ क्षेत्र छन्त्याल समुदायको परम्परागत थातथलो हो । छन्त्याल समुदायले उत्खनन गरेका धातु दलित समुदायले प्रशोधन गरेपछि थकाली समुदायले देशका विभिन्न स्थानमा लगेर बिक्री गर्ने गर्दथे । त्यतिबेला छन्त्याल समुदायले माटो सुघेर पनि खानी पत्ता लगाउने गरेको बूढापाकाहरुको भनाइ छ । खानी रहेका ठाउँ अहिले पुरिँदै गएका छन् ।

खानी उत्खनन गर्न खनिएका पाँच सय मिटरसम्मका सुरुङहरु ओखरबोटमा अझै भेटिने स्थानीयवासी नविन पुनले बताउनुभयो । उहाँका अनुसार ती सुरुङमा अहिले पानी भरिएर ताल बनेको छ भने सुरुङ भित्र तामाका धाउहरु असरल्ल अवस्थामा रहेका छन् । प्रशोधनपछि काम नलाग्ने भएर फालिएका धातुका टुक्रा यत्रतत्र छरिएर रहेका अझै भेट्टिन्छन्।

तत्कालीन अवस्थामा छिना, मार्तल, गल, घन, कुटो, कोदालोको प्रयोग गरेर खानी उत्खनन् गर्ने चलन थियो । खानी उत्खनन् गर्ने अधिकार सङ्घीय सरकारले स्थानीय तहलाई दिनुपर्ने आवाज म्याग्दीमा तीव्ररुपमा उठ्ने गरेको छ । यसका लागि कतिपय जनप्रतिनिधिहरु सम्वन्धित मन्त्रालय र खानी तथा पुरातत्व विभागमा डेलिगेशन समेत गएका छन् ।
रुम र लुलाङमा रहेका स्लेट खानीबाट परम्परागत रूपमा उत्खनन् भने भइरहेको छ ।

–  रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार