लकडाउनमै फस्टायो अनलाइन व्यवसाय

धौखेल, भक्तपुरकी २१ वर्षीय रोजी श्रेष्ठले गत वर्षको लकडाउनपछि अनलाइन व्यवसाय सुरु गरिन् । घरको काम गरेर बचेको समय अनलाइनमार्फत बालबालिकाका लागि उपयुक्त र सान्दर्भिक खालका सामाग्रीको विक्रीवितरण गर्छिन् । यसै सन्दर्भमा उनीसँग पवित्रा भट्टराईले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :

हाल के गर्दै हुनुहुन्छ ?
घरमै छु । कोभिडको समय भएकाले सुरक्षित हुन पनि घरमै बस्नुप-यो । अनलाइनबाट गर्दै आएको ‘विजनेश’ पनि चल्दैछ।

कसरी अनलाइन व्यवसायमा लाग्नुभयो ?
होलसेल पसलहरू चिनेकाले पहिलेदेखि नै म किशोरीहरुका लागि कपडा बेच्थेँ । यस्तो काममा रुचि पनि लाग्न थाल्यो । अनि, लकडाउनले अनलाइन व्यवसायको माग पनि बढ्यो । त्यसैले अहिले ‘बेबी प्रोडक्ट’ बेच्न सुरु गरेको छु।

अनलाइन माध्यमबाट गरिने व्यवसाय कत्तिको प्रभावकारी लाग्यो ?
मेरो हिसाबमा यो एकदमै राम्रो हो । आफूले बच्चाका लागि प्रयोग गरेका र राम्रो लागेका प्रोडक्ट अनलाइनमार्फत अर्डर लिने र बेच्ने काम सुरु गरेँ । आजकाल धेरैजसो बालबालिका मोबाइल फोनमै ‘इन्गेज’ हुन्छन् । सिक्ने कुराहरु पनि अनलाइनमै हुन्छन् । जस्तै ई–बुक पढ्ने, शब्दहरु सिक्ने । यो आवश्यक कुरा पनि हो । अहिले त स्कूल पनि अनलाइनमै छ । यसो सोचेँ, सजिलो लाग्यो र मैले पनि अनलाइन व्यवसाय गरेँ ।

यो व्यवसायलाई भविष्यमा कसरी निरन्तरता दिने योजना छ ?
तत्काल अनलाइनमार्फत विक्री वितरणको काम गर्छु । भविष्यमा चाहिँ ठूलै स्टोर बनाएर काम गर्ने योजना छ । निरन्तर व्यवसाय नै गर्छु ।

यो व्यवसायको प्रभावकारिता बढाउन के कस्ता योजनाहरु छन् ?
स्टोर र अनलाइन दुवै सञ्चालन गर्छु भन्ने सोचेको छु । ‘एडुकेश्नल टोएज’, ‘लर्निङ मटेरिएल’, बच्चालाई सिक्न र सिकाउन सघाउने सामाग्री, प्रिन्टेड बाल किताब र ‘ई–बुक’, ‘बे्रन डेभ्लप’ गर्ने खालका सामानहरुको व्यापापरमा विशेष ध्यान दिनेछु। ‘युनिक’ र नयाँ सिकाइ हुने सामानमा जोड दिनेछु।

कोभिड संक्रमणको बेलामा कस्तो रह्यो त व्यवसाय ?
मैले अनलाइन व्यवसाय कोभिड समयमा नै सुरु गरेको हुँ । सुरुमा आफैँ डेलिभरी गर्न जान्थेँ । यसमा कमाइ पनि राम्रो छ। पछि चाहिँ म अनलाइन अर्डर लिन्थेँ र मेरो काकाले डेलिभरीका लागि सघाउनुभयो । मिलेर काम गर्दैैछौँ । निरन्तर गर्ने पनि हो । ‘ई–बुक’ र ‘मस्कुइटो रिपेरेन्ट वाच’को प्रयोगकर्ता टन्नै बढ्यो जस्ले गर्दा व्यवसाय गर्न सजिलो भयो ।

यस्तै व्यवसाय गर्न चाहनेलाई के भन्न चाहनुहुन्छ ?
घरमा बसेर, बच्चा हेरेर, घरको काम मात्रै गरेर हुँदैन । केही उत्पादनमुलक र आयमुलक काम पनि गर्नुपर्छ । आफैँ सक्षम बन्नुपर्छ भन्न चाहन्छु र आफ्नो आवश्यकता पूरा गर्दै आत्मनिर्भर बन्न सके कसैको भर पर्नु पर्दैन ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार