एकीकृत समाजवादीको निष्कर्ष: राज्यका सबै अंग र तहमा बढ्यो भ्रष्टाचार

सत्तारूढ नेकपा (एकीकृत समाजवादी) ले राज्यको राज्यका सबै अंग र तहमा भ्रष्टाचार र ढिलासुस्ती बढेको निष्कर्ष निकालेको छ।

महाधिवेशनको सन्दर्भमा आइतबार पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीले वर्तमान राजनीतिमा बढेको अस्थिरता र अविश्वास, उत्पादनमा ह्रास, लगानी र पुँजीगत खर्चमा कमी, रोजगारीमा कटौती र बेरोजगारीमा बृद्धिजस्ता प्रवृत्तिले पुनरुत्थानवादी शक्तिहरूलाई हौसला दिएको बताएको हो।

‘उनीहरू सामाजिक तथा साम्प्रदायिक सद्भाव र एकतालाई खल्बल्याउने प्रयत्न गर्दैछन्। राज्यका सबै अङ्ग र तहमा भ्रष्टाचार र ढिलासुस्ती बढ्दै गएको छ। मुलुकको यस्तो अवस्थामा प्रभावकारी हस्तक्षेप गर्दै मुख्यतः रोजगारी र सुशासनलाई राजनीतिको प्रमुख मुद्दा बनाउनु पर्ने भएको छ। हाम्रो पार्टी एकीकृत समाजवादीको यो महाधिवेशन त्यस क्षेत्रमा सकारात्मक हस्तक्षेप गर्ने संकल्पका साथ आयोजना हुँदैछ,’ एकीकृत समाजवादीले भनेको छ।

एकीकृत समाजवादीको दसौं महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदैछ। महाधिवेशनमा करिब दुई हजार प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहने पार्टीले बताएको छ।

‘राष्ट्रिय प्रज्ञा–प्रतिष्ठानमा आयोजना हुने उक्त महाधिवेशनलाई नेपालका सबै कम्युनिष्ट तथा प्रगतिशील लोकतान्त्रिक जनवर्गको महाधिवेशनका रुपमा सम्पन्न गर्ने हाम्रो दृढसङ्कल्प सबैलाई जानकारी गराउन पाउँदा हामी हर्षित छौं,’ एकीकृत समाजवादीले भनेको छ।

संविधानको रक्षाका लागि हामीले गरेको विद्रोहको जगमा पार्टी स्थापना भएको एकीकृत समाजवादीले बताएको छ।

‘हामीले गरेको विद्रोह मुलुकको राजनीतिक इतिहासमा एउटा विशिष्ट योगदान थियो। उक्त विद्रोहपछिका विगत ३३ महिनामा हामीले एकपछि अर्को चुनौतीको सामना गर्दै र महत्वपूर्ण शिक्षा आर्जन गर्दै आएको छौं। सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणका लागि हामीले लिएको पहलकदमीलाई महाधिवेशनद्वारा संस्थागत गर्ने ऐतिहासिक कार्यभार सम्पन्न गर्ने बिन्दुमा आइपुगेका छौं। मुलुकको समृद्धि र समाजवादी रूपान्तरणको रूपरेखामा आधारित राजनीतिक प्रतिवेदन, नेपाली विशेषतामा आधारित समाजवादी कार्यक्रम, त्यसलाई बहन गर्न सक्ने क्रान्तिकारी तथा लोकतान्त्रिक पार्टी निर्माणका ठोस प्रस्ताव र विधानसहित महाधिवेशनको आयोजना हुनु नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा ऐतिहासिक महत्त्वको परिघटना हो,’ एकीकृत समाजवादीले बताएको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार