कोलकाता नाइट राइडर्सले जित्यो आइपिएलको उपाधि

कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल)को उपाधि जितेको छ।

आइतबार सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाताले उपाधि जितेको हो।

फाइनल खेलमा हैदरावादले दिएको ११४ रनको लक्ष्य कोलकाताले २ विकेट गुमाएर १०.३ ओभरमै पूरा गर्‍यो।

उपाधि दिलाउने क्रममा कोलकाताका वेंकटेश ऐयरले अर्धशतक प्रहार गरे। उनी २६ बलमा ४ चौका र ३ छक्का प्रहार गरी ५२ रन बनाएर नट आउट रहे।

ओपनर रहमानउल्लाह गुर्बाजले ३२ बलमा ५ चौका र २ छक्का प्रहार गरी ३९ रनको योगदान गरे।

सुनिल नारायण ६ रन बनाएर आउट हुँदा कप्तान श्रेयस ऐयर ६ रन जोड्दै नट आउट रहे।

हैदरावादका कप्तान प्याट कमिन्स र शहबाज अहमदले १/१ विकेट लिए।

कोलकाताले तेस्रोपटक आइपिएलको उपाधि जितेको हो। यसअघि उसले २०१२ र २०१४ मा उपाधि जितेको थियो।

 

हैदरावाद ११३ रनमै अल आउट

एम ए चिदम्बरम स्टेडियममा  टस जितेर पहिले ब्याटिङ गरेको हैदरावाद १८.३ ओभरमा ११३ रन बनाएर अल आउट भएको थियो।

हैदरावादलाई सामान्य स्कोरमा अल आउट गर्ने क्रममा आन्द्रे रसेलले ३ विकेट लिए।

मिचेल स्टार्क र हर्षित राणाले २/२ विकेट लिँदा वैभव अरोरा, सुनिल नारायण र वरूण चक्रवर्थीले १/१ विकेट लिए।

कोलकाताको कसिलो बलिङमा ओपनर अभिषेक शर्मा २ रन तथा अर्का ओपनर ट्राविस हेड शून्यमा आउट भए।

शर्मालाई मिचेल स्टार्कले बोल्ड गरेका थिए।

राहुल त्रिपाठी ९, शहबाज सरिफ ८, अब्दुल शामद ४, जयदेव उनाडकट ४ रन बनाएर आउट भए।

हैदरावादका लागि सबैभन्दा धेरै रन कप्तान प्याट कमिन्सले १९ बलमा २ चौका र १ छक्का प्रहार गरी २४ रन बनाए।

ऐडेन मक्रमले २३ बलमा १ चौका र १ छक्का प्रहार गरी २० रन जोडे।

हेनरिच क्लासेन १७ बलमा १ चौका प्रहार गरी १६ रन बनाएर आउट हुँदा नितिश कुमार रेड्डीले १३ रन जोडे।

जारी आइपिएलमा उत्कृष्ट लयमा रहेको हैदरावाद फाइनलमा भने कमजोर देखिएको छ। हैदारावादले यही सिजनमा आइपिएल इतिहासकै सर्वाधिक २८७ रन बनाएर कीर्तिमान बनाएको थियो।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार