कार्यदल बैठकपछि बर्तौलाले भने- सहमति गरेर सदनको गतिरोध अन्त्य गर्ने समझदारी बनेको छ

सिंहदरबारमा मंगलबार बिहान बसेको संसदीय छानबिन समितिको क्षेत्राधिकार टुंगो लगाउने कार्यदल बैठक सकिएको छ।

बैठकमा सहभागी नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सहमति गरेर सदनको गतिरोध अन्त्य गर्ने दलहरूबीच समझदारी बनेको बताए।

‘कुनै विषयमा आज हामी निष्कर्षमा पुगेनौं, सहमति गरेर विषयहरूलाई टुंग्याउने र सदनको गतिरोध अन्त्य गर्ने सहमति भएको छ,’ बर्तौलाले भने।

उनले सदनमा हुने प्रक्रियाले कार्यदललाई अवरोध नपुग्ने पनि दाबी गरेका थिए।

बैठकमा सत्ता र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आ-आफ्ना अडान राखेका थिए। कांग्रेसले सहकारीको बचत ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै संसदीय छानबिन समितिको क्षेत्राधिकार तोक्दा नै गृहमन्त्रीको नाम लेख्नुपर्ने अडान राखेको छ।

सत्ता पक्षले भने व्यक्तिको नाम नराख्न अडान लिइरहेको छ। बर्तौलाका अनुसार नेताहरूसँग छलफल गरेर फेरि बैठक बस्नेछ।

‘आज ११ बजेका लागि प्रतिनिधि सभा बैठक छ। त्यसपछि पनि कार्यदल बैठक बस्ने कुरा भएको छ। दुवै पक्ष आफूले राखेका प्रस्तावबाट मध्यमार्गी बाटो खोज्ने सहमति भयो। सत्ता पक्षका नेताहरूसँग पनि बैठक बस्छौं, कांग्रेस पनि बैठक गर्ला,’ उनले भने।

कांग्रेसले भने संसदीय छानबिन समितिको क्षेत्राधिकार टुंगो नलगाई सदन अगाडि बढ्न नसक्ने बताउँदै आएको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार