फेरिएको गृह मन्त्रालय : समस्या लिएर आउँछन् नागरिक, तत्कालै हुन्छ सम्बोधन

काठमाडौँ । सामान्य नागरिकका लागि पहुँच बाहिर बन्ने गरेको सिंहदरबारभित्रको गृह मन्त्रालयमा आजभोलि दैनिक झण्डै ५० भन्दा बढी व्यक्ति आफ्ना समस्या लिएर पुग्ने गरेका छन् । रवि लामिछाने गृहमन्त्रीका रुपमा सिंहदरबार प्रवेश गरेदेखि मन्त्रालयको ढोकैमा ‘हेल्प डेस्क’को व्यवस्था गरेका छन्, जहाँ उनका सचिवालयका सदस्यहरू, कानुन व्यवसायीहरू पीरमर्का लिएर आएका सर्वसाधारणको समस्या समाधान गर्न खटिने गरेका छन् ।

सवारी दुर्घटनामा परेकी र दुर्घटना गराउने चालकबाट उपचार खर्च नपाएकी एक पीडित महिला बुधबार वैशाखी टेक्दै गृह मन्त्रालय पुगेकी थिइन् । मन्त्री लामिछाने मन्त्रालयबाट बाहिरिने क्रममा ती महिलाले ढोकैमा भेटेर रुँदै आफ्ना समस्या सुनाइन् । प्रहरीले पनि आफ्नो कुरा नसुनेको र दुर्घटनामा संलग्न गाडी काठमाडौँ–सिन्धुली–झापा सडकमा गुडिरहे पनि प्रहरीले नसमातेको गुनासो उनले लामिछानेसँग गरिन् ।
मन्त्री लामिछानेले उनको समस्या सुन्दै ‘हेल्प डेस्क’मा रहेका सचिवालय सदस्यहरूले समस्या समाधानका लागि काम गर्ने बताए । लामिछानेलाई गेटमा अन्य केही व्यक्तिले मिटरव्याजीबाट दुःख पाएको गुनासो सुनाए । उनीहरूलाई ‘हेल्प डेस्क’मा केहीबेर बस्न आग्रह गर्दै समाधानका लागि पहल हुने बताएर लामिछाने निस्किए ।
गृहमन्त्री लामिछानेका सचिवालय सदस्य आशिष थापाले उनीहरूको समस्या टिपे । उनले झण्डै १ वर्ष अगाडितिर सवारी दुर्घटना भएको स्थल सिन्धुली प्रहरी कार्यालयमा फोन गरेर घटना विवरण बुझे । दुर्घटना गराउने बस अहिले चलिरहेको भए त्यसलाई समाएर अनुसन्धान गर्न उनले प्रहरीलाई आग्रह गरे । थापाले फोन गरेको १५ मिनेटमा उक्त माइक्रो बस र सवारी चालक समातिएको जानकारी मन्त्रालयमा पुग्यो ।

ती महिलाजस्तै अन्य व्यक्ति पनि गृह मन्त्रालयमा विभिन्न खालका समस्या लिएर पुगेका थिए । ‘हेल्प डेस्क’ले उनीहरूका गुनासो सुन्दै कहाँबाट समस्या उत्पन्न भएको हो, सम्बन्धित निकायमा फोन गर्दै त्यसको सत्यतथ्य बुझ्दै समाधानका लागि पहल गरिरहेका थिए । गृहमन्त्रीका सचिवालय सदस्य आशिष थापाले दैनिक विभिन्न समस्या लिएर सर्वसाधारण आउने गरेको बताए ।

प्रहरीले मुद्दा दर्ता नगरिदिएको, उल्टै पक्राउ पुर्जी जारी भएको अपराधीसँग मिलेर हिँडेको, सर्वसाधारणको गुनासो सुन्ने नगरेको, वैदेशिक रोजगारीमा ठगीजस्ता गृह मन्त्रालय अन्तर्गतका कार्यालयसँग सम्बन्धित गुनासो लिएर सर्वसाधारणहरू मन्त्रालयमा पुग्ने गरेका छन् ।

दैनिक ५० जनाभन्दा बढी समस्या लिएर आउने गरेको थापाले बताए । प्राप्त उजुरी तथा गुनासो उपर मन्त्रालय मातहतका सम्बन्धित कार्यालयबाट समाधान खोज्ने गरेको उनको भनाइ छ ।

सचिवालय सदस्य थापाले भने, ‘हाम्रो मन्त्रालय अन्तर्गत विभिन्न विभाग, शाखा, कार्यालय छन्, हामी सम्बन्धित शाखा, कार्यालयहरूमा त्यस्ता समस्या पठाउँछौँ । ती निकायहरू मा पुग्न सर्वसाधारणलाई सहज एक्सेस पनि हुँदैन । उहाँहरू ती कार्यालयमा घुमिरहनु पर्दैन । हामी उहाँहरूको कन्सर्नलाई सिधै ती कार्यालयमा पु¥याइदिन्छौँ ।’

आफूहरूले त्यस्ता सेवाग्राहीलाई आवश्यक परामर्श पनि दिने गरेको उनले सुनाए । ‘हुने काम पनि रोकिएको, घुमाइरहेको हुने गर्दो रहेछ, यहाँबाट एक कल फोन गरिदिने बित्तिकै हुन सक्ने काम तत्काल भइरहेको छ,’ उनले भने ।

यसरी नागरिकका गुनासो सुनेर समाधानको पहल गर्न थापालाई एक जना अर्का कर्मचारीले सहयोग गर्छन् । साथै कानुनी विषयमा अप्ठ्यारो नहोस् भनेर एक जना कानुन व्यवसायीले पनि थापालाई सहयोग गर्ने गरेका छन् ।

 

थापाले भने, ‘कुनै पनि विषयमा कानुनी विषय बुझ्न हामी सक्षम नहुने भएका कारण हामीलाई कानुनी सल्लाह पनि आवश्यक पर्छ । एक जना कानुन व्यवसायीले हामीलाई सहयोग गर्नुहुन्छ । हामीकहाँ समस्या लिएर आउनुहुने सर्वसाधारणलाई पनि हामीले तपाईंको समस्या यसरी समाधान हुन्छ, तपाईंले यो तरिका अपनाउनुपर्छ भनेर सहजीकरण गर्छौैँ ।’

लामिछानेले गृहमन्त्रीका रूपमा शपथ लिएको तेस्रो दिन गत फागुन २५ गतेदेखि ‘हेल्प डेस्क’को सुरुवात गरिएको थापाले बताए । यसअघि गृह मन्त्रालयमा गृहमन्त्री भेट्न वा अन्य केही समस्या लिएर पुग्दा मन्त्रालयको वरिपरिसमेत जान नदिने अवस्थाको अन्त्य गर्न सबैभन्दा पहिला सर्वसाधारणको गुनासो सुन्नुपर्छ भनेर हेल्प डेस्क राखिएको थापाको भनाइ छ ।

उनले भने, ‘हामी यहाँ आउँदा पनि मन्त्रालयमा नागरिकका लागि हेल्प डेस्क थिएन । मन्त्रीको कार्यव्यवस्था, मिटिङ, मन्त्रालयको काम लगायतका कारण मन्त्रीले सबैको समस्या सुन्न समय नपुग्ने हुन्छ । हेल्प डेस्कमार्फत समस्या समाधानका लागि हामीले छुट्टै जनसम्पर्क विभाग बनाएर सर्वसाधारणको समस्या लिएर कहाँ जाँदा छिटो समाधान हुन्छ, कसरी समाधान हुन्छ भनेर त्यसमा लागिपरेका छौँ ।’

दैनिक ५० भन्दा बढी समस्या आउँदा ४० जना हाराहारीको समस्या सामाधान हुनेगरी पठाउने गरेको थापाले बताए । प्रतिशतको हिसाबले ९० प्रतिशत समस्या समाधान हुने गरेको र कतिपय समस्या गम्भीर खालको हुने गरेका कारण समाधानका लागि समय लाग्ने, मन्त्रीपरिषदको निर्णय चाहिने किसिमको हुने गरेको उनको भनाइ छ ।

गृह मन्त्रालयमा जान चाहने सर्वसाधारणलाई मन्त्रालयमा फोन गरेपछि प्रवेश पास पठाइदिने र अनलाइन प्रणालीबाट पनि पासका लागि अनुरोध गर्न सक्ने प्रणालीको व्यवस्था गरिएको थापाले बताए ।

उनले भने, ‘समस्या लिएर सिंहदरबारसम्म आइपुग्नुभएका सर्वसाधारणलाई हाम्रो मन्त्रालयको ल्याण्ड लाइन, मोबाइल नम्बर खुला राखेर उहाँहरूलाई सहजै पासको व्यवस्था गरेका छौँ । साना–साना समस्या लिएर आउनुभएको हुन्छ, उहाँहरू न्यायको  प्रत्याभूति गरेर जानुहुन्छ । यहाँ गुनासो लिएरमात्र हैन, गुनासो सम्बोधन भएकोमा धन्यवाद दिन पनि धेरै जना आइरहनुभएको हुन्छ ।’

मन्त्री, कर्मचारी र पार्टीका कार्यकर्ताहरूको बढी मात्रामा चहलपहल हुने गरेको गृह मन्त्रालयमा आजभोलि सर्वसाधारण नागरिकहरूको पनि चहलपहल बढिरहेको देख्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार