नयाँअंग्रेजी वर्षको अवसरमा ठमेल सडक महोत्सव हुने

काठमाडौं

ठमेल पर्यटन विकास परिषद्ले अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा न्यु इयर इभ तथा ठमेल सडक महोत्सव गर्ने भएको छ । परिषद्ले पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले सबै किसिमका व्यवसायीहरूलाई मध्यनजर गरेर ठमेलको पर्यटन प्रवद्र्धनका लागि सडक महोत्सव आयोजना गरेको जानकारी दिए । उनले महोत्सवले ठमेल जान, बस्न र घुम्नको लागि जानुपर्छ भन्ने पारिवारिक वातावरण सिर्जना गर्ने जनाए ।

अध्यक्ष शर्माले सडक महोत्सव नगरिकन आम सर्वसाधारणलाई ठमेल लैजान नसकिने जानकारी दिए । उनले सडक महोत्सवमा आधुनिक सांगीतिक कार्यक्रमदेखि सांस्कृतिक सांगीतिक कार्यक्रमहरू प्रस्तुत गरिने जनाए । उनले अंग्रेजी नयाँ वर्षको कार्यक्रममा १ लाख दर्शक भित्र्याउने अपेक्षा रहेका जनाए ।

१ लाख दर्शकहरूको व्यवस्थापनका लागि पनि आवश्यक तयारी गरिसकेको आयोजकले जनाएको छ । सडक महोत्सवको लागि हरेक रेष्टुराँहरूले आफ्ना प्याकेजहरू सामाजिक सञ्जालबाट जानकारी गराइसकेको पनि अध्यक्ष शर्माले जनाए । उनले सडक महोत्सवमा आउने आगन्तुकलाई सस्तोमा मिठो खानेकुरा ख्वाउने प्रतिबद्धता जनाए ।

शर्माले सडकमा नै सोचेजस्तो पारिवारिक वातावरणमा खान, बस्न, घुम्न पाउने जनाए । नयाँ वर्षको कार्यक्रम विगतका भन्दा फरक र ठूलो हुने जानकारी दिए । उनले ठमेललाई पर्यटकीय नगरीको रूपमा सरकारले घोषणा गर्नुपर्ने जनाए । उनले ठमेललाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीय नगरी बनाउन राज्यले पूर्वाधार विकासमा पनि जोड दिनुपर्नेमा जोड दिए ।

न्यु इयर इभ तथा ठमेल सडक महोत्सव २०७९ साल पुस १६ गते शनिवार ठमेल केशरमहल सञ्चयकोष अगाडि साँझ ५ः३० बजेबाट शुरु भई मध्यरातिसम्म सञ्चालन हुनेछ । कार्यक्रमको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने आयोजकले जनाएको छ ।

महोत्सवमा नेपाली मौलिक कला, संस्कृति, सांगीतिक कार्यक्रम, ठमेलका व्यवसायीहरूले उत्पादन गरेका विभिन्न सामग्रीहरूको प्रदर्शन हुनेछ । परिषद्ले न्यु इयर इभ तथा ठमेल सडक महोत्सवका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार