ठेक्का सम्झौता भएको २९ महिनामा पनि पुल निर्माण सुरु भएन

म्याग्दी । मालिका र धवलागिरि गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल बनाउन ठेक्का सम्झौता भएको २९ महिनासम्म पनि काम सुरु भएको छैन ।

मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारबाट धवलागिरि गाउँपालिकाको धारापानी–ताकम हुँदै मुना जोड्ने सडकअन्तर्गत फेदीस्थित दाङखोलामा मोटरेबल पुल बनाउन विसं २०७६ जेठ २२ गते ठेक्का सम्झौता गरिएको थियो । मालिका–५ र धवलागिरि–७ को सिमानामा पर्ने फेदीमा १८ मिटर लामो पुल बनाउन पूर्वाधार विकास कार्यालय म्याग्दी र इन्द्रेणी–फेवा जेभी पोखराबीच एक करोड ९३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

विसं २०७८ जेठ ८ गते सम्झौताको म्याद सकिए पनि पुल निर्माण सुरु नै नभएको धवलागिरिका उपाध्यक्ष रेशम छन्त्यालले बताए । ‘धवलागिरिको केन्द्रसहित पाँचवटा वडालाई जोड्ने सडकमा नियमित यातायात सञ्चालनका लागि पुल निर्माणका लागि पहल गरेका थियौँ’ । उनले भने, ‘सकिनुपर्ने समयसम्म पनि निर्माण सुरु हुन नसक्दा निराश भएका छौँ ।’

फेदीमा गाउँपालिकाले अस्थायी मोटेरबल पुल बनाएर यातायात सञ्चालनको व्यवस्था मिलाएको छ । विसं २०७७ र ७८ को बर्खामा दाङखोलामा आएको बाढीले पुल पुरिएको थियो । पहिरो र बाढी पन्छाएर पुल सञ्चालनमा ल्याइएको छ । फेदीको दाङखोलामा मोटरेबल पुल नहुँदा धवलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी, ताकमका बासिन्दालाई आवतजावत गर्न समस्या भएको छ । पच्चीस मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको बाँधको डुबान क्षेत्रमा पुल निर्माणस्थल पर्ने भएपछि सम्झौतालगत्तै काम गर्न गएका निर्माण व्यवसायी फर्किएका थिए ।

जलविद्युत् आयोजनाको बाँध स्थानानान्तरण भएपछि पुल निर्माण सुरु गर्ने तयारी गरेको अवस्थामा विसं २०७७ असारमा आएको बाढीले निर्माणस्थललाई क्षतविक्षत बनाएपछि पुनः सर्वेक्षण गरिएको थियो । पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले डिजाइन परिवर्तन गरेर पहिलेकै निर्माण व्यवसायीमार्फत पुल निर्माण गराउन लागिएको बताए ।

‘सम्झौता हुँदाको वर्ष दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको बाँधको डुबान क्षेत्र पर्ने भएकाले रोकिएको थियो’, उनले भने, ‘विसं २०७७ बर्खाको बाढीले क्षति पु¥याएपछि रिडिजाइन गरी भेरिएसन अर्डर तयार गरी दाङखोलामा पुल निर्माण सुरु गर्ने तयारी भएको छ ।’ यो योजनाको सम्झौताको म्याद आगामी चैतसम्म थपिएको छ ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार