परराष्ट्रमन्त्रीज्यू, चिनियाँ नाका छिट्टै खुलाइदिनुपर्‍यो

गोरखा ।  विगत दुई वर्षदेखि बन्द रहेको चिनियाँ नाका खुलाइदिन छेकम्पारका बासिन्दाले नेपाल सरकारसँग माग गरेका छन् । चुमनुब्री गाउँपालिका ७ का वडाअध्यक्ष पासाङफुञ्जो लामाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई ज्ञापनपत्र पेश गरी छेकम्पार र सामागाउँका दुवै नाका खुलाइदिन माग गरेका हुन् ।

लामो समयदेखि सीमा नाका बन्द भएको र सदरमुकामबाट चुम्चेत र छेकम्पार जाने बाटो ङुयुखोलामा पहिरो गइ बाटो अवरुद्ध हुँदा खाद्यान्न संकट हुनसक्ने अवस्था भएकाले चिनियाँ नाका खुला गरी खाद्यान्न आपूर्ति गर्ने व्यवस्था मिलाइदिन ज्ञापनपत्रमा भनिएको छ ।

ङुयूखोलाको पहिरो र सर्दीभीरको पहिरो अझै नियन्त्रण गर्न सक्ने अवस्था नरहेकाले सीमा नाका नखुले वडा नं. ६ र ७ मा खाद्यान्न संकट हुनसक्ने ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री खड्काले चिनियाँ अधिकारीसित छलफल गरी तीन दिनभित्र स्थानीयबासीलाई खबर गर्ने जनाएका छन् । कोरोनाको कारण देखाउँदै चिनियाँ सरकारले छेकम्पारस्थित ङुइला नाका र सामागाउँस्थित रुइला नाका विगत दुई वर्षदेखि एकातर्फी रुपमा बन्द छ ।

बाटो अवरुद्ध हुँदा सदरमुकामबाट पनि खाद्यान्न ढुवानी गर्न नपाएको र चिनियाँ नाका बन्द हुँदा चिनियाँ बजारबाट पनि सामान ल्याउन नपाउँदा स्थानीयबासी चर्को समस्यामा छन् । यसअघि केहीदिन पहिले सोही प्रतिनिधिमण्डलले गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई पनि नाका खुलाइदिन माग गर्दै ज्ञापनपत्र पेश गरेका थिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार