नेपालकै पहिलो तातोपानीबाट उपचार गर्ने अस्पताल बन्दै

म्याग्दी । प्रसिद्ध तातोपानी कुण्डलाई व्यवस्थापन र प्रयोग गरी सिङ्गा तातोपानीमा नेपालकै पहिलो ‘पानीबाट उपचार गर्ने अस्पताल’ निर्माण गरिने भएको छ । प्राकृतिक चिकित्सालयका नामले चर्चित बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डको पानी प्रयोग गरेर प्राकृतिक चिकित्सालय सञ्चालनको तयारी थालिएको छ ।

तातोपानी कुण्डको व्यवस्थापन, प्रचारप्रसार र विकासका लागि सक्रिय रहेको तातोपानी कुण्ड व्यवस्थापन समितिले प्राकृतिक रूपमा नै आउने ५० डिग्री सेल्सियस तापक्रमको तातोपानीलाई प्रयोग गरेर जल चिकित्सा, अकुपञ्चर, योगाथेरापी, फिजियो थेरापी, मसाज थेरापी र डाइथेरापी सेवासहितको प्राकृतिक चिकित्सालय बनाउन लागेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिए ।

उनका अनुसार प्राकृतिक अस्पताल निर्माणका लागि गत आर्थिक वर्ष सङ्घीय सरकारबाट प्राप्त रु ५० लाख र कुण्डको आन्तरिक आम्दानी रु ५० लाख गरी रु एक करोड लगानीमा अस्पतालमा आवश्यक पर्ने पूर्वाधार निर्माण गरिएको छ । साथै गत आर्थिक वर्षमै गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको बजेटबाट प्राकृतिक चिकित्सालयका लागि आवश्यक पर्ने थेरापीका उपकरण खरिद गरिएकोे छ । त्यसैगरी कुण्डको आन्तरिक आम्दानीबाट तलब र सेवा सुविधा दिने गरी एक प्राकृतिक चिकित्सक भर्ना गरिएको छ ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार