माओवादी नेता पुनको स्वास्थ्यमा सामान्य सुधार

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सामान्य सुधार आएको छ । पुन थाइल्यान्डको राजधानी बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत छन् । चिकित्सकका अनुसार पुनको शरीररमा देखिएको जन्डिसको समस्या नियन्त्रणमा आइरहेको छ । सामान्यतः स्वस्थ मानिसको रगतमा बिलिरुबिन नामक रसायनको मात्रा १.२ देखि ८ मिलिग्राम प्रति डेसिलिटरसम्म हुने गर्छ । तर, पुनको रगतमा बिलिरुबिनको मात्रा अन्यिन्त्रित भएर ३४ एमजी/डीएल पुगेपछि चिकित्सकले बैंकक रिफर गरेका थिए ।

‘अहिले उनको बिलिरुबिनको मात्रा घटेर २७ एमजी/डीएलमा आएको छ,’ उपचारमा संलग्न डा. नाथाभुत सिरिमोन्तापोनको भनाइ उद्धृत गर्दै पुनकी पत्नी एवं पूर्वसभामुख ओनसरी घर्तीले भनिन् । घर्तीका अनुसार चिकित्सकले नयाँ औषधि चलाएका छन् । उक्त औषधिले राम्रो काम गर्न थालेको उनले उल्लेख गरिन् ।

‘नयाँ औषधिले राम्रो काम गर्न थालेको छ,’ घर्तीले भनिन्, ‘नेपालबाट आउँदाभन्दा अहिले राम्रो भएको छ ।’ यद्यपि बान्ता नरोकिएको उनले जानकारी दिइन् । खानामा अरुचि हुने समस्याका कारण पुनलाई सलाइन दिइएको छ ।

जन्डिसको मात्रा अत्यधिक बढेको र उच्च ज्वरोसँगै निरन्तर बान्ता हुन थालेपछि पुनलाई गत आइतबार ललितपुरको सुमेरु अस्पताल लगिएको थियो । तर, नेपालमा उपचार कठिन भएको भन्दै चिकित्सकले बैंकक जान सुझाएका थिए । पुन जन्मजात रूपमा जन्डिससम्बन्धी समस्याबाट पीडित छन् ।चार वर्षअघि पनि उनलाई नेपालका विभिन्न अस्पताल तथा भारतको मेदान्त अस्पतालमा उपचार सम्भव नभएपछि एयर एम्बुलेन्समार्फत बैंकक लगिएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार