कञ्चनपुरमा एक लाखलाई दुवै डोज

कञ्चनपुर  । कञ्चनपुरमा एक लाख बढीले कोरोना विरुद्धको पुर्ण खोप पाएका छन् । जिल्लामा माघदेखि सुरु भएको खोप अभियान अन्तरगत विभिन्न चरणमा गरेर १ लाख २२७ जनाले पहिलो र दोस्रो मात्रा खोप लगाएका हुन् ।स्वास्थ्य कार्यालयका अनुसार माघदेखि जेठसम्म ३० हजार २ सय २४ जनाले कोभिशिल्डको पहिलो मात्रा लगाएका थिए । उनीहरूमध्येकै ६ हजार ७ सय ४० जनाले मात्रै दोस्रो मात्रा पाएका थिए । कोभिशिल्डको पहिलो मात्रा लगाएका २४ हजार बढीले ६ महिनापछि एस्ट्राजेनेकाको खोप लगाएका हुन् ।

यसैगरि, असारदेखि हालसम्म विभिन्न चरणमा गरि ७८ हजार १ सय ६४ ले पहिलो मात्रा र ४२ हजार ८ सय ८७ ले दोस्रो मात्रा खोप पाए । एक मात्रा खोप लगाउनुपर्ने जानसेन खोप २७ हजार ४ सयले लगाएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्ड चेन अधिकृत जनक कुॅवरले बताए ।

हालसम्म जिल्लाभरिमा पहिलो मात्रा खोप लगाउनेको संख्या १ लाख १४ हजार ६ सय ६८ छ । जसमध्ये १ लाख २ सय २७ ले दोस्रो मात्रा पनि पाएका छन् । अस्ट्राजेनेका खोप लगाएका ६ हजार २ सय ८० लाई दसैंपछि दोस्रो मात्रा दिइने कोल्ड चेन अधिकृत कुॅवरले बताए । भेरोसेलको पहिलो मात्रा लगाएका झण्डै ४० हजारलाई पनि दशैं तिहारपछि नै दोस्रो मात्रा लगाइने उनले बताए ।

स्वास्थ्य कार्यालयले अहिले कञ्चनपुरको गड्डाचौकी नाकामासमेत भारतबाट घर फर्किनेहरूलाई कोरोना विरुद्धको खोप लगाइरहेको छ । सुरुमा अस्ट्राजेनेकाको खोप लगाइएको थियो भने अहिले भेरोसेलको खोप लगाउने काम भइरहेको छ । नाकामै अस्ट्राजेनेकाको खोप लगाएकाहरूलाई नै दोस्रो मात्राको खोप दिन बाॅकी रहेको छ । ‘विश्वविद्यालयका विद्यार्थी र नाकामा घर फर्किनेहरूका लागि दोस्रो मात्रा सुनिश्चित गरेरै खोप दिइएको हो,’ कुॅवरले भने, ‘उनीहरूलाई दसै वा तिहारपछि दोस्रो मात्रा दिइनेछ ।

’ भेरोसेलको पहिलो मात्रा लगाएकाहरूलाई पनि दसैं तिहारपछि नै दोस्रो मात्रा दिइने उनले बताए । स्वास्थ्य कार्यालयले जिल्लामा ५ लाख २५ हजार जनसंख्यामध्ये १८ वर्ष माथिका ३ लाखजतिलाई कोरोना विरुद्धको खोप दिनुपर्ने अनुमान गरेको छ । तर न्यून मात्रामा आउने खोपका कारण लक्ष्यअनुसार खोप दिन सकिएको छेन ।

स्वास्थ्य कार्यालयले पछिल्लो चरणमा गत शुक्रबारदेखि जिल्लामा खोप दिन सुरु गरेको थियो । ४५ वर्ष भन्दामाथिका र यसअघिको विभिन्न उमेर समुहमा छुटेका व्यक्तिहरूलाई खोप दिने भनेपछि सिमित मात्रामा उपलब्ध भएका कारण सबैलाई दिन नसकिएको कुॅवरले बताए । पालिकाहरूले लक्षित उमेर समहु भन्दा अन्यलाई दिएका कारण समेत तोकिएका व्यक्तिहरूले खोप पाउन नसकेका हुन् । पछिल्लो चरणमा जिल्लामा भेरोसेलको ३२ हजार मात्रा खोप आएको थियो ।

सुदूरपश्चिममा अहिले पनि न्यून जनसंख्याले मात्रै खोप लगाउन पाएका छन् । सिमित मात्रामा उपलब्ध हुने खोपका कारण सबैलाई दिन नसकिएको हो । सुदूरपश्चिम प्रदेश सरकारले पनि खोप किन्ने तयारी थालेपनि संघीय सरकारले अनुमति नदिदा र समन्वय नगर्दा किन्न नसकिएको सामाजिक विकास मन्त्री लालबहादुर खडकाले बताए । ‘हामीले तत्काल १०/१२ लाख डोज खोप किन्ने सोच बनाएका छौं,’ मंगलबार महेन्द्रनगरमा आयोजित कार्यक्रममा मन्त्री खडकाले भने, ‘यसका लागि सरकारले अनुमतिसॅंगै खोप खरीदका लागि सम्झौता गरेको चीनसंॅग समन्वय गरिदिनु पर्छ भन्ने हाम्रो माग हो ।’

उनले यस विषयमा सरकारसंॅग आग्रह गरिएपनि कुनै सुनवाइ नभएको बताए । कञ्चनपुर भारतसंॅग सीमा जोडिएको जिल्ला हो । भारतमा रोजगारीका लागि गएकाहरू गड्डाचौकी नाकाभएर घर फर्किन्छन् । भारतमा संक्रमण बढेमा कञ्चनपुरसमेत उच्च जोखिममा रहेकाले यहाँका १८ वर्ष माथिका सबैलाई खोप दिन सके मात्रै कोरोना संक्रमण न्यूनिकरण गर्न सकिने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार