चितवनको सात पालिका आइसोलेसन खाली

चितवन । चितवन जिल्लाका सात पालिकाले सञ्चालन गरेको आइसोलेसनमा कोरोना सङ्क्रमित आउन छाडेपछि खाली भएका छन् । यहाँका पालिकाले गत चैतदेखि सञ्चालनमा ल्याएको आइसोलेसनमा अहिले बिरामीको सङ्ख्या शून्य भएसँगै आइसोलेसन खाली भएका हुन् ।

कोरोना सङ्क्रमण दर बढ्दै जाँदा गत जेठ र असारमा ती आइसोलेसनमा दैनिक ५० भन्दाबढी बिरामीको उपचार गराइएको चितवन स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार जिल्लाका सात पालिकामा १२५ शैयाको आइसोलेसन स्थापना गरिएको थियो ।

भरतपुर महानगरपाकिलामा ३०, माडी नगरपालिकामा– १०, खैरहनी नगरपालिकामा–२०, राप्ती नगरपालिकामा–२०, कालिका नगरपालिकामा–१२ रत्ननगर नगरपालिकामा–आठ र इच्छाकामना गाउँपालिकामा २५ श्ययाको आइसोलेशन सञ्चालनमा ल्याइएको थियो ।

विगत केही समयदेखि राप्ती र खैरहनीको आइसोलेसनमा बिरामीको सङ्ख्या शून्य हुँदैआएकामा अहिले सबै आइसोलेसनमा बिरामीको सङ्ख्या शून्य भएको हो ।

जिल्ला कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रले गत फागुनमा सबै स्थानीय तहलाई आइसोलेसन स्थापनाका लागि अनुरोध गरेकामा सोहीअनुसार सञ्चालनमा आएको आइसोलेसन अहिले बिरामी शून्य भएपछि सञ्चालनमा आउन सकेका छैनन् ।

“सञ्चालनमा नआए पनि बिरामी बढ्दै गए त्यहाँ राख्न सकिने छ,” उनले भने, “आइसोलेसन बन्द गरिएको छैन । अहिले सञ्चालनमा मात्र नल्याइएको हो ।”

कतिपय आइसोलेसन अस्पतालमा नै सञ्चालन भइरहेकाले आवश्यकतानुसार सञ्चालन गर्न सकिने उनको भनाइ थियो । अहिले जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५६० रहेकामा ५२१ होम आइसोलेसनमा छन् भने ३९ अस्पतालमा उपचाररत छन् । जिल्लामा हालसम्म २५ हजार ८२५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ४१२ को मृत्यु भइसकेको छ भने २४ हजार ८५३ निको भएर घर फर्किसकेका छन् । यहाँका अस्पतालमा अहिले ५२ सङ्क्रमितको उपचार भइरहेको छ । यहाँका अस्पतामा ५९२ श्यया कोभिडका बिरामीको लागि छुट्याइएको थियो ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार