काभ्रे : डाँडापारिका बिरामीलाई हेलिकप्टरकै भर !

काभ्रे । महाभारत पर्वत शृङ्खला डाँडापारिमा रहेको महाभारत गाउँपालिका–५ बुढाखानीकी २१ वर्षीया गर्भवती अनुषा तामाङलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्ति शुक्रवार उपचारार्थ हेलिकप्टरबाट काठमाण्डौ लगियो ।

स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि उनलाई तत्काल हेलिकप्टरको व्यवस्था गरी प्रसूतिगृह थापाथली लगिएको हो। वडाध्यक्ष रविन मोक्तानले वर्षाले कच्ची सडकको विभिन्न ठाउँमा क्षति पुर्याएपछि एम्बुलेन्समार्फत सदरमुकाम धुलिखेलको अस्पतालमा ल्याउन सम्भव नभएको बताए।

निःशुल्क हवाई उद्धार निर्देशिका–२०७७ अनुसार अनुषालाई सेवा दिइएको होु, गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भने । उनले अहिलेसम्म छ हवाई सेवा प्राप्त गरेको जानकारी दिनुभयो । उनले भने लामो कच्ची सडकमा वर्षायाममा बिरामीलाई लैजान कठिन हुने भएकाले डाँडापारिका जनताले हेलिकप्टरकै भर पर्नुपर्ने हुन्छ ।

यसअघि गएको साउन अन्तिम हप्ता डाँडापारिमा रहेको खानीखोला गाउँपालिका–४ डाँडागाउँकी ७० वर्षीया सुन्तामाया जिम्बालाई उपचारका लागि हेलिकप्टरमार्फत धुलिखेल अस्पताल ल्याइएको थियो । टाउको दुख्ने र हात झम्झमाउने रोगबाट पीडित उहाँलाई पनि गाउँको कच्ची सडकबाट एम्बुलेन्समा ल्याउन सम्भव नहुँदा हेलिकप्टर चार्टर्ड गर्नुपर्ने बाध्यता बनेको थियो । उनका आफन्तले ७० हजार रुपैयाँ भाडा तिरेर हेलिकप्टरबाट धुलिखेल ल्याउनु परेको थियो ।

गएको वर्षको साउनमै त्यही वडाको जगथलीको एक गर्भवतीको हेलिकप्टरमार्फत नै उद्धार गरिएको थियो । केही दिनदेखि व्यथाले च्यापेपछि उहाँलाई अस्पताल लैजानुको विकल्प नभएपछि हेलिकप्टर मगाइएको गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलाल बताए । गम्भीर प्रकृतिको बिरामी पर्दा वर्षायामका बेला हेलिकप्टरको विकल्प छैनु, उनले भने​।

गएको साल नै तीन दिनदेखि झाडापखालाले ग्रस्त खानीखोला गाउँपालिका–६ को १७ वर्षीया रञ्जिता थोकरलाई उपचारार्थ अस्पताल लैजान हेलिकप्टर गाउँ पुर्याइयो । तर हेलिकप्टर रित्तै फर्कनुपर्यो । विडम्बना, हेलिकप्टर गाउँ पुग्दैगर्दा उहाँको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममै ज्यान गइसकेको थियो । उनको थप उपचारका लागि काठमाण्डौ लैजान परिवार र जनप्रतिनिधिले निर्णय गरे तर, उहाँ बच्न सकेनन् ।

वर्षायाममा ग्रामीण भेगमा भएका सडक भत्किने र पहिराले अवरुद्ध पर्दा जिल्लाको दक्षिणी क्षेत्र महाभारत डाँडापारिका बासिन्दाले बिरामी पर्दा हेलिकप्टरको भर पर्नुपर्ने हुन्छ । हेलिकप्टरको भाडा तिर्न नसक्नेले उपचारबाट वञ्चित हुनुपर्ने बाध्यता पनि देखिएको छ । डाँडापारिको टाढाको विकट क्षेत्रमा महँगो भए पनि सडक अवरुद्ध हुँदा हेलिकप्टर एक मात्रै विकल्प बन्न पुगेको छ ।

मनसुन सुरु भएसँगै बाढीपहिराले डाँडापारिका कच्ची सडक अवरुद्ध हुँदा गाउँपालिकामार्फत हेलिकप्टर ‘चार्टर्ड’ गर्नुपर्ने खुलालले बताए। ुपहिले पनि समयमै उपचार नपाउँदा केही गर्भवती तथा सुत्केरी र बिरामीको गाउँमै ज्यान जान्थ्यो, अहिले पालिकाको सहयोगमा स्वास्थ्य जोखिम भएकालाई केही सहज भएको छु, उनले भए।

काभ्रेका डाँडापारि क्षेत्रका दुई गाउँपालिका खानीखोला र महाभारतमा हवाई उद्धार गर्नुपर्ने बाध्यता रहँदै आएको छ । महाभारतका अध्यक्ष जिम्बाले वर्षायाममा डाँडापारि क्षेत्रमा बिरामीको उद्धारमा निकै कठिनाइ हुने गरेको दुःखेसो गरे।

हेलिकप्टरबाट बिरामी र गर्भवतीको उपचारार्थ उद्धार गरिए पनि जिल्ला सदरमुकामका अस्पताल लैजान हवाई अवतरण गर्न अर्को व्यवस्थापन गर्नुपर्ने हुँदा काठमाण्डौ लैजानुपर्ने अर्को बाध्यता रहेको छ ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार