‘न्यायालयलाई स्रोत साधनयुक्त बनाउनुपर्छ

गण्डकी । प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लोकतन्त्रमा न्यायालयलाई स्रोत–साधन सम्पन्न बनाउन जोड दिएका छन्। उनले भने, “ न्यायापालिका स्रोतसाधन सम्पन्न भएमा मात्र नागरिकले सुशासन र न्यायको अनुभूति गर्न पाउने छन् । ”

जिल्ला अदालत कास्कीले बुधबार गरेको स्वागत कार्यक्रममा उनले अदालतको भौतिक संरचनाका साथै जनशक्ति चुस्तदुरुस्त भए न्यायिक प्रक्रिया छिटोछरितो हुने विश्वास व्यक्त गरे। उनले शासन व्यवस्थाको प्रत्याभूति गराउने न्यायालयका सुदृढीकरणमा राज्यले चासो दिनुपर्नेमा जोड दिए ।

अदालतको भौतिक सुधार र जग्गा व्यवस्थापनका लागि सक्दो पहल गर्ने मुख्यमन्त्री नेपालीले जानकारी दिए। जिल्लाका प्रमुख न्यायाधीश श्रीकृष्ण भट्टराईले अदालतको वस्तुस्थितिका बारेमा मुख्यमन्त्री नेपालीलाई जानकारी गराउँदै जिल्ला अदालतमा मुद्दाको चाप बढेका अवस्था रहेको बताए ।

उनले नयाँ भवन बनाउन जग्गाको खोजी भइरहेको बताए। जग्गा खरिदका लागि वरिष्ठ अधिवक्ता कृष्ण थापाको संयोजकत्वमा समिति पनि गठन भइसकेको छ। अहिले सर्वाेच्च अदालतले भवन निर्माणका लागि रु दुई करोड विनियोजन गरेको र जग्गा प्राप्ति भएमा थप बजेट निकासा गराउन सकिने उनको भनाइ छ ।

सो अवसरमा प्रदेशमा प्रमुख सचिव डा दामोदर रेग्मी, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कुमाल, मुख्य न्यायाधिवक्ता रोहितराज बाँस्तोला, जिल्ला न्यायाधीशहरु, श्रेस्तेदार, तहसिलदारसहित अदालतका कर्मचारी सहभागी रहेको मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालले जानकारी दिए ।

‘ कांग्रेस थप सशक्त’ गण्डकी प्रदेशका मुख्यमन्त्री नेपालीले नेपाली कांग्रेसमा प्रवेश गरेका पोखराका अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईसहित युवालाई शुभकामना दिएका छन्। आज आफ्नै निवासमा आयोजित कार्यक्रममा उनले बिपीको सिद्धान्तलाई आत्मसात गर्दै लोकतान्त्रिक समाजवादलाई संस्थागत गर्नुपर्नेमा जोड दिए ।

मुलुकलाई समृद्धिका बाटोमा डोर्याउने दायित्व कांग्रेसको रहेको जनाउँदै उनले यसका लागि युवाहरु अग्रसर हुनुपर्नेे भनाइ छ। पार्टीको महाधिवेशन, स्थानीय तहको निर्वाचन र यसपछि हुने प्रदेशसभा र प्रतिनिधिसभाका निर्वाचनलाई आफ्नो पक्षतिर आउनेगरी काम गर्न मुख्यमन्त्री नेपालीले आग्रह गरे ।

कार्यक्रममा प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री बिन्दुकुमार थापाले पोखराका पूर्वमेयर भट्टराईको कांग्रेस प्रवेशले पार्टी अझ बलियो हुने बताए। कार्यक्रममा अग्रज पर्यटन व्यवसायी भट्टराईले सुशासनका लागि व्यवसायीलाई राजनीतिमा आकर्षित गर्नुपर्ने जनाउँदै राजनीतिक नेतृत्वबाट सुशासनको सुरुआत हुनुपर्नेमा जोड दिए ।

–  रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार