पुल निर्माण अलपत्र

सर्लाही ।  लालबन्दी र ईश्वरपुर जोड्ने फुलजोर खोलाको पुल निर्माण अलपत्र परेको छ। डेढ महिनाअघि बाढीले क्षति पुर्याएको सो पुलको निर्माण कार्य अहिले अलपत्र परेको हो ।

लालबन्दी नगरपालिका–३ जब्दी र ईश्वरपुर नगरपालिका–८ रामपुरलाई जोड्ने फुलजोर खोलाको निर्माणाधीन पुल ढलान भएको दुई सातामै सामान्य पानी पर्दा क्षति भएको डेढ महिना पुगिसक्दा पनि निर्माणको काम अघि बढ्न सकेको छैन ।

ठेकेदारले बेलैमा काम नगरेका कारण बाढीले पुलमा क्षति गरेको र पुनःनिर्माणमा ठेकेदार कम्पनी मौन देखिएको ईश्वरपुर नगरपालिका–८ का वडाध्यक्ष श्यामबहादुर थापाले बताए। असार १५ मा परेको सामान्य पानीका कारण २०० मिटर लामो पुलमध्ये करिब ४० मिटरमा क्षति पुगेको छ ।

सम्झौताअनुसार गत असार मसान्तमै पुल निर्माण सकेर हस्तान्तरण गर्नुपर्ने भए पनि ठेकेदार कम्पनीले निर्माण सुस्त गरेका कारण पुलको निर्माण समयमै सम्पन्न हुन नसकेको लालबन्दी नगरपालिका–३ का वडाध्यक्ष रामनारायण चौधरीले बताए ।

पुल निर्माणको काम पूरा नहुँदा लालबन्दी र ईश्वरपुर नगरपालिकासहित अन्य छिमेकी स्थानीय तहबाट हाटबजार गर्न र किनमेल गर्न लालबन्दी आउनेलाई समस्या परेको छ। ठेकेदार कम्पनीले लापरवाही ढङ्गले काम गरेको र समयमै कामदारको भुक्तानी नगरेका कारण पुल निर्माणमा ढिलाइ भएको ईश्वरपुर नगरपालिकाका नगरप्रमुख मनोजकुमार देवकोटाले बताए ।

पुल निर्माणका लागि पप्पु शिवशङ्कर जेभीले रु १२ करोडमा ठेक्का लिएको हो। सङ्घीय सरकारको सहयोगमा आव २०७५-७६ बाटै पुल निर्माण सुरु भएको हो। बर्खायाममा काम नहुने नभएकाले अब कात्तिक लागेपछि मात्रै पुलको बाँकी काम सुरु हुने निर्माण कम्पनीका प्रतिनिधि मनोजकुमार साहले बताए ।

पुलको ढलान वर्षा सुरु भएपछि भएको र स्प्रिङ तान्ने समयमा परेको सामान्य पानीले गर्दा खोलाको बालुवा धसिँदा पुलको सेटिङमा क्षति पुगी पुलको करिब ४० मिटर क्षेत्र भासिएको थियो। सो क्षेत्रमा अहिले सेटिङ खोल्ने काम भइरहेको छ ।

–  रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार