उपसभापति निधि र चौथाइवालेबीच भेटवार्ता

काठमाडौँ । प्रमुख सत्ता रुढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेका भारतको सत्तारुढ दल भारतीय जनता पार्टी  भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

बुधबार भएको भेटवार्तामा उहाँहरुबीच नेपाल–भारत सम्बन्धका विविध विषय तथा कांग्रेस र भाजपाबीचको सम्बन्धलगायत विषयमा कुराकानी भएको उपसभापति निधिका प्रेस सल्लाहाकार रामजी दाहालले जानकारी दिए । भाजपा विदेश विभाग प्रमुख चौथाइवाले कांग्रेसको निमन्त्रणामा नेपाल भ्रमणमा आएको हो ।

भेटमा उपसभापति निधिले भारत सरकारले नेपाल सरकारलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने सम्बन्धमा भएको सहमतिअनुसार अझै खोप नआएको भन्दै तत्काल उपलब्ध गराउन उनमार्फत भारत सरकारको ध्यानाकर्षण गराएको थियो । साथै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर भ्रमणका क्रममा घोषणा भएको विकास अनुदान अहिलेसम्म कार्यान्वयन नभएकामा समेत ध्यानाकर्षण गराएको थियो ।

जनकपुर–कुर्ता रेल्वे सेवा सञ्चालन गराउन दुवै देशका सरकार मिलेर आवश्यक प्रक्रिया अघि बढाए भन्दै उपसभापति निधिले दुवै देशका प्रधानमन्त्रीबाट संयुक्तरुपमा उद्घाटन गराउनुपर्नेमा जोड दिएको थियो । विदेश विभाग प्रमुख चौथाइवालेले उपसभापति निधिले उठाएका विषयलाई आफूले सकारात्मकरुपमा लिएको बताएको थियो ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार