नदी कटानको उच्च जोखिममा दुधेखोला बस्ती

म्याग्दी । बेनी नगरपालिका–३ दुधेखोला बाढी, पहिरो र नदी कटानको उच्च जोखिममा परेको छ । दुधेखोलामा भदौ ६ गते राति आएको बाढीले बगाएको एक घर र उच्च जोखिममा रहेका अरु २२ घरपरिवारको उचित व्यवस्थापन हुन नसकिरहेको छैन । सोमबार साँझदेखि आज बिहानसम्म पनि निरन्तर वर्षा भइरहेकाले यो बस्ती, नदी कटानको चपेटा पर्ने त्रास बढेको छ ।दुधेखोला आसपासका घरपरिवार बाढी र कटानको डरले आफ्नो घर छाडेर आफन्तकामा आश्रय लिएका छन् ।

पुछारमा उर्लँदो म्याग्दी नदी, शिरानमा विशाल भिर, गाउँको पश्चिम र पूर्वतर्फ भिरालो जङ्गलबाट झरेका खहरे छहराका कारण दुधेखोलाको बस्ती जोखिममा छ । करिब ४५ घरपरिवारको बसोबास रहेको यो बस्तीलाई उचितरूपमा व्यवस्थापन नगर्ने हो भने ठूलै खतरा निम्तनसक्ने सरोकारवालाको राय रहेको छ ।

आइतबार राति आएको बाढीले स्थानीयवासी दीपा पुनको घर बगाउँदा करिब रु १७ लाख बराबरको क्षति भएको छ । राति आएको बाढीले घरमा क्षति पु¥याउन थालेपछि तीन जना परिवार राति नै घर छाडेर आफन्तकोमा सरेकाले मानवीय क्षति भने भएको छैन । बाढीले घरमा रहेका लत्ताकपडा, खाद्यान्न र पशु चौपायासमेत बगाएको छ ।

स्थानीय नारायण पुनको एउटा दुहुनो भैँसी खोलामा मृतावस्थामा भेटिएको छ ।भकिम्लीको लहरेनी र चिनाखेतको सिमानामा पहिरो खसेर दुधेखोलामा मिसिएकाले खोलामा आएको बाढी बस्तीतर्फ सोझिएपछि क्षति भएको बेनी नगरपालिका–३ का वडासदस्य तथा स्थानीयवासी गेमप्रसाद घर्तीमगरले बताए । उजका अनुसार दीपा पुनको घर पूर्ण क्षति भएको छ भने स्थानीय नारायण पुन र तिलाराम थापाको घर बस्नै नसकिने गरी उच्च जोखिममा छन् । घर्तीका अनुसार तल्लो र उपल्लो गरी दुई भागमा बाडिँएको गाउँमा ४५ घरपरिवारको बसोबास छ । दुधेखोला र म्याग्दी नदीको कटानका कारण सम्पूर्ण घरपरिवार उच्च जोखिममा रहेका उनले बताए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार