मानुषी लघुवित्तको आइपिओ बाँडफाँट

काठमाडौँ ।  मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्ट क्यापिटलले आज बिहान शेयर बाँडफाँट गरेको हो । कम्पनीले साउन २७ गतेदेखि ३१ गतेसम्म आइपिओ सर्वसाधारणमा जारी गरेको थियो ।

संस्थाको आइपिओमा २३ लाख ६१ हजार ८२७ जनाले आवेदन दिएका थिए । उक्त आवेदनमध्येमा सात हजार ४३ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । बाँकी रहेका २३ लाख ५४ हजार ७८४ जना योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँट गरिएको हो । गोलाप्रथाबाट ३६ हजार ८५९ आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् भने तीन जनाले ११ कित्ता शेयर पाएका बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्टले जनाएको छ ।

आवेदन दिएकामध्ये २३ लाख २४ हजार बढी आवेदकको हात खाली भएको छ । कम्पनीले रु १०० अङ्कित दरका रु तीन करोड ९३ लाख ७५ हजार बराबरको तीन करोड ९३ लाख ७५ हजार कित्ता आइपिओ निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशतले हुन आउने ५४६९ कित्ता कर्मचारी र जारी पूँजीको पाँच प्रतिशतले हुन आउने १९ हजार ६८८ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो ।

आइपिओ जारी भएपछि कम्पनीको चुक्तापूँजी रु १० करोड ९३ लाख ७५ हजार पुग्नेछ । आइपिओको नतिजा मेरा शेयर, सिडिएसले आइपिओ नतिजाका लागि तयार पारेको वेबसाइट र बिक्री प्रबन्धक नेपाल एसबिआइ मर्चेन्ट क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार